८ वैशाख २०८१ शनिबार
खेल

राष्ट्रिय महिला लिग: चौदण्डीगढीविरुद्ध एपिएफको २२ गोल

चौदण्डीगढी नगरपालिकाविरुद्ध बल अघि बढाँउदै एपिएफकी अन्जली याेन्जन । तस्बिर: नागरिक

राष्ट्रिय महिला लिगमा सोमबार शीर्ष टोली एपिएफले तालिकाको पुछारमा रहेको उदयपुरको चौदण्डीगढी नगरपालिकामाथि २२–० को फराकिलो जित हात पार्‍यो। खेलको चौथो मिनेटबाट हाबी भएको एपिएफको रबाफिलो जितमा स्ट्राइकर सावित्रा भण्डारीले १२ गोल पूरा गर्दा कप्तान अनु लामाले ५, अनिता बस्नेतले ३ र सरु लिम्बु र रेणुका नगरकोटीले समान १ गोल गरे।

सोमबारै भएको खेलमा आर्मीले शर्मिला थापाको ह्याट्रिकमा विराटनगर महानगरपालिकामाथि ७–० को नतिजा ल्यायो। जारी लिगमा यसअघिका लिगमा जस्तै विभागीय टोली हाबी देखिएका छन्। उपराष्ट्रपति कपबाट राष्ट्रिय लिगमा छनोट भएर आएका महानगरपालिका र नगरपालिकाका टोली विभागीय टोलीविरुद्ध निरीह देखिँदै आएका छन्।

सोमबार लिगमा आफ्नो पहिलो चरणको खेल समापन गरेको एपिएफले विभागीय टोली नेपाल पुलिसविरुद्ध ३–० को जित हात पारेको थियो भने आर्मीविरुद्ध २–० को नतिजा निकालेको थियो। यता मोफसलका टोलीमाथि हाबी देखिएको एपिएफले चौदण्डीगढीमाथि २२–०, विराटनगरमाथि ७–०, चन्द्रपुरमाथि ६–० र वालिङमाथि ३–० को सहज नतिजा ल्याएको थियो।  

त्यस्तै लिगमा ५ खेल खेलेको आर्मीले एपिएफसँग निराश भए पनि मोफसलका टोलीविरुद्ध भने हाबी नै हुँदै आएको छ। यस क्रममा एपिएफलाई २–० को नतिजा सुम्पिएको आर्मीले विराटनगरमाथि ७–०, चन्द्रपुरमाथि १०–०, वालिङमाथि ७–० को जित हात पारेको थियो। यता उद्घाटन खेलमा भने पुलिस र आर्मीसँग गोलरहित बराबरी खेलेको थियो।  

यता अर्को विभागीय टोलीले भने औसत प्रदर्शन गर्दै आएको छ। एपिएफलाई नतिजा सुम्पिएको पुलिसले आर्मीविरुद्ध बराबरी खेलेको थियो। वालिङसँग १–१ को बराबरी खेलेको पुलिसले चन्द्रपुरलाई ३–१ ले हराएको थियो। लिगमा ५ खेल खेलेको विराटनगरले २ जित र १ बराबरीको नतिजाबाट ७ अंक जोडेको छ भने वालिङले १ जित र २ बराबरीका साथ ५ अंक जोडेको छ। चन्द्रपुरले १ जित हात पारेको छ भने चौदण्डीगढीले अंक खाता खोल्न सकेको छैन।

‘हामीले आज फराकिलो अन्तरको जित हात पार्‍यौं। आजको फराकिलो जित हाम्रो रहर होइन बाध्यता हो। हामीले पहिलो चरणको समाप्तिमा दबदबाका साथ शीर्षतामा फराकिलो (८ अंक) को अग्रता लिएका छौं। लिगमा गोलको महत्व धेरै हुन्छ, त्यसैले आजको जितबाट म सन्तुष्ट छु,’ एपिएफकी प्रशिक्षक भगवती थापाले भनिन्, ‘तर आज फराकिलो जित हात पार्‍यौं भन्दैमा म यसले हाम्रो उत्कृष्टता प्रमाणित गर्‍यो भन्दिनँ। यसअघिका लिगमा जस्तै हामी यस पटक पनि मोफसलका टोलीमाथि नै हाबी बन्दै आएका छौं। हामीले विभागीय टोलीविरुद्ध औसत प्रदर्शन गरिरहेका छौं।

महिला फुटबलमा सदाझैं यस पटक पनि विभागीय टोली हाबी छन्। यसबाट नेपाली महिला फुटबलले फड्को मार्‍यो भन्न मिल्दैन।’ थापाले विभागीय टोलीले निरन्तर अभ्यासको अवसर पाउने र सेवासुविधा पनि प्राप्त गर्ने र मोफसलको टोलीको हकमा त्यस्तो सुविधा नहुने भएकाले विभागीय टोली र नगरपालिकाका टोलीबीच धेरै भिन्नता देखिएको बताइन्।

‘मोफसलका टोलीले निरन्तर अभ्यासको अवसरको त के कुरा उनीहरूले अभ्यासका लागि आवश्यक किटसमेत पाउन सकेका छैनन्,’ जारी लिगकी एक मात्र महिला प्रशिक्षक थापाले भनिन्, ‘एन्फा र सम्बन्धित क्लब तथा नगरपालिकाले पनि साँच्चै महिला फुटबलको विकास चाहने हो भने निरन्तर अभ्यासको व्यवस्था गरिदिनुपर्छ। साथै खेलाडीलाई फुटबल प्रशिक्षणसँगै पढाइ पनि सँगै अघि बढाउन सहयोग गर्नुपर्छ। राम्रो शिक्षा पाएमा खेलाडीले खेलजीवन अन्त्य गरी रेफ्री तथा प्रशिक्षण यात्रा सुरु गर्दा शैक्षिक योग्यताले बाधा नपुर्‍याओस्।’ यता लिगको ५ खेल समाप्तिमा अंक खाता खोल्न नसकेको चौदण्डीगढीका प्रशिक्षक दीपक थापाले पनि मोफसलका टोलीले यथेष्ट सेवासुविधा नपाएकाले यसअघिका लिगजस्तै यस पटक पनि विभागीय टोली हाबी भएको स्वीकार गरे।

‘जारी लिगमा विभागीय टोली महानगरपालिका र नगरपालिकाको टोलीमाथि हाबी हुदै आएका छन्,’ थापाले भने, ‘अन्य टोलीको नतिजाले त्यही दर्साउँछ, अझ हाम्रो नतिजाले त मोफसलका टोलीको स्तर उदाङ्गो पारिदिएको छ। मोफसलका खेलाडीले निरन्तर अभ्यासको अवसर नै पाउँदैनन्। साथै सेवासुविधा पनि खासै पाउँदैनन्। सम्बन्धित नगरपालिकाले प्रतियोगिता आउनु केही हप्ताअघिबाट मात्र प्रशिक्षण थाल्छन्। बिनाम्याच एक्सपोजर हामी लिग खेल्न आएका छाैं। टोलीले पूर्णतासमेत पाएको छैन। त्यसमाथि खेलाडीको चोटले हामी थलिएका छाैं।’  

‘खेलाडीले आरामको समय पाएका छैनन्, एक दिनको अन्तरमा निरन्तर खेल्नुपरेको छ,’ थापाले भने, ‘यसको असर खेलाडीमा प्रत्यक्ष देखिएको छ। हाम्रो टोलीका तीन जनै गोलकिपर चोटग्रस्त छन्। उनीहरू रिकभरीको फेजमा छन्। त्यसैले हामीले स्ट्राइकर (अन्जना थुलुङ) लाई गोलकिपरको रूपमा खेलाएका छाैं र अझै कति खेलसम्म उनै स्ट्राइकरले हाम्रो पोस्ट सम्हाल्छिन् भन्न सकिँदैन। जारी प्रतियोगितामा पनि विभागीय टोलीको तुलनामा मोफसलका टोलीका धेरै खेलाडी घाइते छन्। यसको मुख्य कारण भनेकै निरन्तर अभ्यासको कमी हो।’

प्रकाशित: २० माघ २०७७ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App