coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिला फुटबल लिग: एपिएफको अग्रता यथावत्

आर्मीकी बिमला बिक र एपिएफकी अन्जली योन्जन (दायाँ) बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिर: नागरिक

तीन खेलमा स्पष्ट जित निकाल्दै विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा शीर्षता कायम राख्दा अर्को विभागीय टोली नेपाल पुलिस र मोफसलको वालिङ नगरपालिका स्याङ्जाले एक/एक गोलको बराबरी खेलेका छन्। 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई २–० ले पराजित गर्दा पुलिसले अंक बाँडेको हो। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा एपिएफविरुद्ध आर्मी हाबी भएको थियो। तर काउन्टर प्रयास गरिरहेको एपिएफले २५औं मिनेटमा अञ्जली योन्जनको गोलबाट अग्रता लिन सफल भयो। त्यसपछि भने आर्मी दबाबमा पर्‍यो। पहिलो हाफको इन्जुरी समयमा सरु लिम्बुले गोल थप्दै एपिएफलाई मजबुत बनाइन्।

पहिलो हाफमा भन्दा सुधारिएको खेल देखाए पनि आर्मीले एपिएफको बलियो रक्षापंक्तिलाई चिर्न सकेन। आर्मीका धेरै प्रयासलाई गोलकिपर एन्जिला तुम्बापोले उत्कृष्ट बचाउ गरिन्। लगातार तीन खेलमा जित निकालेको एपिएफका सहायक प्रशिक्षक जनक थारूले स्ट्राइकरलाई चल्न नदिए पनि अन्य खेलाडीले मौकालाई सदुपयोग गर्दै टोलीलाई जित दिलाएको बताए।  

यस्तै पराजित टोलीका प्रशिक्षक राजु तामाङले प्रतिद्वन्द्वीबाट लिएको अग्रतापछि टोलीले खेल्न नसकेकको स्वीकार गरे। निकै प्रतिस्पर्धात्मक बनेको खेलको १५औं मिनेटमा आर्मीले पहिलो अवसर बनाएको थियो। हेडर बल साइड बारमा लागेर फर्किंदा आर्मी अभागी भयोे। २१औं मिनेटमा एपिएफकी सावित्राले प्रहार गरेको बल आर्मीकी गोलकिपर अन्जना रानामगरले उत्कृष्ट बचाउ गरिन्। यस्तै ३७औं मिनेटमा आर्मीकी सपना लामाले गरेको क्रस बललाई एपिएफका गोलकिपर एन्जिला तुम्बापोले बचाइन्।  

महिला लिगअन्र्तगत पुलिस मंगलबारै मोफसलको टोली वालिङसँग १–१ को बराबरीमा रोकियो। वालिङले लिएको सुरूआती अग्रतालाई पुलिसले दोस्रो हाफमा बराबरी गर्दै अंक खोसेको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेको टोलीले दोस्रो हाफमा आक्रामक खेल खेल्दा वालिङका लागि विदेशी खेलाडी मिथो इल्डाइ रूथले ५३औं मिनेटमा गोल गरिन्। पछि परेको विभागीय टोलीका लागि रेखा पौडेलले ६५औं मिनेटमा गोल गर्दै खेल बराबरी गरिन्।

त्यसपछि दुवै टोलीले स्पष्ट जितका लागि प्रतिस्पर्धा गरे पनि पाएका राम्रा अवसर सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन्। तीन खेलबाट पुलिसको ५ अंक छ भने वालिङले २ अंक मात्र खातामा जोडेको छ। प्रतियोगितामा बुधबार चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर नगरपालिका मोरङबीच एक मात्र प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १४ माघ २०७७ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App