४ वैशाख २०८१ मंगलबार
खेल

राष्ट्रिय महिला लिग: सविताको ह्याट्रिकमा चन्द्रपुरलाई सफलता

सविता रानामगर सेताे

सविता रानामगरले ह्याट्रिक पूरा गर्दा सोमबार राष्ट्रिय महिला लिगमा चौदण्डीगढी नगरपालिकाविरुद्ध चन्द्रपुर नगरपालिका रौतहटले ७–१ को फराकिलो जित निकालेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा चौदण्डीगढीले लिएको सुरुआती अग्रतालाई उल्टाउँदै चन्द्रपुरले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।  

चौदण्डीगढीका लागि २३औं मिनेटमा अन्जना थुलुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि रक्षात्मक देखिएको चौदण्डगढीविरुद्ध चन्द्रपुरले आक्रामक खेल खेल्यो। पहिलो हाफको इन्जुरी समयमा दिलकुमारी रानाले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याइन्। एक–एक गोलको बराबरीमा सकिएको पहिलो हाफपछि दोस्रो हाफमा चन्द्रपुरले आक्रामक रणनीति अपनाउँदै मैदान उत्रियो। ४७औं मिनेटमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाइन्।  

त्यसपछि लयमा देखिएको चन्द्रपुरका लागि सविताले लगातार तीन गोल गर्दै ह्याट्रिक गरिन्। उनले ५१औं, ६९औं र ७८औं मिनेटमा गोल गरेकी थिइन्। त्यसपछि एकतर्फी जस्तो देखिएको खेल सकिन पाँच मिनेट बाँकी रहँदा सुनिता भोलानले गोल गर्दा खेल ६–१ को अवस्थामा पुगेको थियो। इन्जुरी समयमा दिलकुमारी रानाले व्यक्तिगत दोस्रो गोल थप्दै चन्द्रपुरको फराकिलो जित निश्चित गरिन्। पहिलो खेल गुमाएका दुवै टोली सोमबार जितको खोजीमा मैदान उत्रिएका थिए। यसअघि भएको खेलमा चन्द्रपुरले एपिएफलाई ६–० को फराकिलो नतिजा सुम्पिएको थियो भने चौदण्डगढी पुलिससँग समान ६–० ले पराजित भएको थियो।

जितसँगै तीन अंक जोडेको चन्द्रपुर लिगको चौथो स्थानमा उक्लिएको छ। चौदण्डीगढीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन। ६ अंकका साथ एपिएफ शीर्ष स्थानमा छ भने समान चार अंक जोडेका त्रिभुवन आर्मी र नेपाल पुलिस क्बल दोस्रो र तेस्रो स्थानमा अटाएका छन्। प्रतियोगितामा मंगलबार विभागीय टोली नेपाल पुलिस र वालिङ नगरपालिकाीच दिनको पहिलो खेल हुँदा त्रिभुवन आर्मी क्लब र एपिएफबीच दोस्रो खेल हुनेछ।

प्रकाशित: १३ माघ २०७७ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App