७ वैशाख २०८१ शुक्रबार
खेल

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनीका ब्याट्सम्यानमा धैर्य अभाव

ब्याट्सम्यानहरूले धैर्यका साथ ब्याटिङ गर्न नसक्दा लुम्बिनी प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूहचरणबाटै बाहिरिने सँघारमा पुगेको छ। बाग्मती प्रदेशविरुद्ध जितनजिक पुगे पनि ब्याट्सम्यानले धैर्यपूर्वक ब्याटिङ गर्न नसक्दा लुम्बिनीसँग अंक बाँडेसँगै समूहचरणबाटै बाहिरिने सँघारमा पुगेको हो। समूह ‘बी’ अन्तर्गत बाग्मती चार खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ भने लुम्बिनी समान खेलबाट ५ अंकका दोस्रो स्थानमा छ। एक खेल कम खेलेको नेपाल पुलिस क्लब चार अंकका साथ तेस्रो स्थानमा छ।

लुम्बिनीले सेमिफाइनलमा स्थान बनाउन सोमबार प्रदेश–२ विरुद्ध पुलिसको हार कामना गर्नुपर्नेछ। नतिजा पुलिसको पक्षमा गएमा लुम्बिनीको यात्रा समूहचरणमै सीमित हुनेछ। मूलपानी क्रिकेट मैदानमा बाग्मतीले प्रस्तुत गरेको २ सय २१ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदा २ सय २० रन मात्र जोड्न सफल भयो। लुम्बिनीलाई जितका लागि अन्तिम चार ओभरमा ९ रन आवश्यक हुँदा टोलीसँग तीन विकेट सुरक्षित थियो।

४७औं ओभरको दोस्रो बलमा चौका प्रहार गरेका लुम्बिनीका कृष्ण कार्की तेस्रो बलमा पवेलियन फर्किएपछि बाग्मतीले खेलमा फर्कने संकेत गरेको थियो। तर, कृष्णलाई ईशान पाण्डेले रामनरेश गिरिबाट क्याच गराए। सो ओभरको अन्तिम तीन बलमा लुम्बिनीले मात्र २ रन जोड्यो। विपिन आचार्य ४८औं ओभर लिएर आउँदा लुम्बिनीलाई जितका लागि १८ बलमा मात्र ३ रनको खाँचो थियो। ४८औं ओभरको पहिलो बलमा विपिनविरुद्ध अनिल खरेलले मात्र १ रन बनाए भने दोस्रो बलमा जितेन्द्र साहनीले कुनै रन जोड्न सकेनन्।

तेस्रो बलमा विपिनले जितेन्द्रलाई विकेटकिपर आकाश थापाबाट क्याच गराए। चौथो बलमा लुम्बिनीले १ रन जोड्दै बराबरी गर्‍यो। तर पाँचाैं बलमा दीपेन्द्र रावतलाई नन्दन यादवले विकेटकिपर आकाशबाट रनआउट गराएसँगै लुम्बिनी जितको सँघारमा पुगेर पनि निराश हुन पुग्यो। लुम्बिनीका प्रकाश केसी र कृष्ण कार्कीले समान ४१ रनको योगदान दिए। सौरभ खनालले ३४, ओपनर सन्दीप सुनारले २५ र देव खनालले २६ रन जोडे। बाग्मतीका विपिनले चार विकेट लिँदा गौतम केसीले दुई तथा तिलक भण्डारी, ईशान पाण्डे र रामनरेश गिरिले समान एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको बाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रनको योगफल खडा गरेको थियो। बाग्मतीका ओपनर आदिल खानले ५५ रन जोड्दा ईशान पाण्डेले ५१ रन जोडे। लुम्बिनीका दीपेन्द्र रावतले तीन तथा कृष्ण कार्की र सन्दीपले समान दुई विकेट लिए।  

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गत सुदूरपश्चिम प्रदेशले प्रतियोगिताको सुखद अन्त्य गर्दा प्रदेश–२ माथि तीन विकेटको जित निकाल्यो। १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो। पहिलो विकेटका लागि ओपनर गजेन्द्र बोहरा र कप्तान खड्क बोहराले ७८ रनको साझेदारी गर्दै सुदूरलाई उत्कृष्ट सुरुआत दिलाए। गजेन्द्रले ४७ बलमा ७ चौकाको मद्दतबाट ३९ रन जोडे।  

खड्कले दोस्रो विकेटका लागि पनि सन्जु दमाईसँग ७८ रनको साझेदारी गरे। खड्कले ७३ बलमा ६ चौकाको मद्दतबाट ४३ रन बनाए। सन्जुले ३५ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५७ रन बनाए। १९२–४ को अवस्थामा रहेको सुदूरपश्चिमले जितका लागि थप ४ रन जोड्ने क्रममा तीन विकेट गुमाएको थियो। प्रदेश–२ का कुमार थापाले तीन र हरिशंकर साहले दुई विकेट लिँदा रवि साहको नाममा एक विकेट रह्यो।

यसअघि ब्याटिङको निम्तो पाएको प्रदेश–२ ले ४२ ओभरमा अलआउट हुनुअघि १ सय ९५ रन मात्र बनाउन सक्यो। प्रदेश–२ का ओपनर हरिशंकर साहले सर्वाधिक ६० रन जोड्दा विवेक यादवले ४१ र मेहबुब आलमले २३ रन बनाए। सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले समान तीन विकेट लिँदा अरूण ऐरीले दुई तथा भोजराज भट्ट र हेमन्त धामीले समान एक विकेट लिए।

प्रकाशित: १२ माघ २०७७ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App