८ वैशाख २०८१ शनिबार
खेल

प्रधानमन्त्री कप: जोराको प्रेरणाबाट एपिएफ सेमिफाइनलमा

सन्दीप जोराको अर्धशतकप्रेरित एपिएफ शनिबार कर्णाली प्रदेशमाथि ७१ रनको सहज जितका साथ प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। तीन खेलको समाप्तिमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको एपिएफ ६ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ। 

समूह ‘ए’ बाट एपिएफसँगै आर्मीसमेत अन्तिम ४ मा प्रवेश गरेको हो। एपिएफ र आर्मीबीचको खेलले समूह ‘ए’ को विजेताको टुंगो लगाउनेछ। कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेश समान १ खेलमा समान २ अंकका साथ क्रमशः तेस्रो, चौथो र पाँचाैं स्थानमा छन्। तीनवटै टोली प्रतियोगिताको समूहचरणबाटै बाहिरिएका छन्।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा एपिएफले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याएको कर्णाली ४३.२ ओभरमा मात्र १ सय ४७ रनमा सीमित भएको थियो। कर्णालीका हेमन्त ओलीले सर्वाधिक ५८ रनको योगदान गर्दा हिमांशु शाहीले २०, कप्तान तथा ओपनर रवीन्द्र शाहीले १४, अभिषेक ठकुरी र राज शाहले समान १२ रनको योगदान गरे। एपिएफका वसन्त रेग्मी र किशोर महतोले समान ३ विकेट लिँदा भुवन कार्कीले २ र शरद् भेषावकरले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १८ रनको मध्यम योगफल खडा गरेको थियो। खाता नखोल्दै ओपनर रित गौतमलाई गुमाएको एपिएफले ३५ रन जोड्दा कप्तान शरद् भेषावकरलाई ८ रनमै गुमाएको थियो। ५१ रन जोड्दा अर्का ओपनर सुवास खकुरेल पनि २३ रनमा पवेलियन फर्किए। सुवासले ४० बलमा ४ चौका प्रहार गरे। त्यसपछि ब्याटिङका लागि आएका शंकर राना र सुमित महर्जनले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन्। शंकरले १५ र सुमितले १० रन जोडे। कर्णालीका रवीन्द्र र अनुज चौधरीले समान ३ तथा राज शाह र देवान पुनले समान २ विकेट लिए।

मूलपानी क्रिकेट मैदानमा भएको समूह ‘बी’ को खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराएको थियो। सुदूरपश्चिमले प्रस्तुत गरेको मात्र ६३ रनको लक्ष्य लुम्बिनीले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो। लुम्बिनीका सौरभ खनानले २३ बलमा ३ चौकाको मद्दतमा अविजित १८ रन जोड्दा विकेटकिपर प्रकाश केसीले २६ बलमा ३ चौकाको मद्दतमा अविजित १७ रन जोडे। सुदूरपश्चिमका शेर रानाले २ र विनोद लामाले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निमन्त्रणा पाएको सुदूरपश्चिमका ब्याट्सम्यान लुम्बिनीका बलरसामु निरीह हुँदा टोली २७ ओभरमा मात्र ६२ रनमा अलआउट भएको थियो। सुदूरपश्चिमका नारायण जोशीले १७ र कप्तान सन्तोष भट्टले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।  

लुम्बिनीका कृष्ण कार्कीले ४,अनिल खरेल र विक्रम भुषालले समान २ तथा सन्दीप सुनार र दीपेन्द्र रावतले समान १ विकेट लिएका थिए। लुम्बिनी २ खेलमा ४ अंकका साथ समूह ‘बी’ को दोस्रो स्थानमा छ। समान ३ खेलमा ६ अंक बटुलेको बाग्मती प्रदेश शीर्ष स्थानमा छ भने नेपाल पुलिस क्लब ४ अंकका साथ तेस्रो स्थानमा छ। प्रदेश २ र सुदूरपश्चिमले भने अंक खाता खोल्न सकेका छैनन्।

प्रकाशित: ११ माघ २०७७ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App