१५ चैत्र २०८० बिहीबार
खेल

राष्ट्रिय फुटवल टोलीको पोखरामा बन्द प्रशिक्षण

खेलाडीलाई एक्स्पोजर म्याचकै चिन्ता

पोखरा रंगशालामा अभ्यास गर्दै नेपाली राष्ट्रिय फुटबल टीम । तस्बिर : उमेश /नागरिक

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । कतार विश्वकप २०२२ र चीनमा हुने एशियन कप (२०२३)को छनौट खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरा रंगशालामा बन्द प्रशिक्षण शुरु गरेको हो ।  

बन्द प्रशिक्षणका लागि शुक्रबार पोखरा आएको टोलीले शनिबारदेखि प्रशिक्षण शुरु गरेको प्रशिक्षक बालगोपाल महर्जनले बताए । कतार विश्वकप र एशियन कपको छनोट खेल अन्तर्गत नेपालले अब तीनवटा खेल खेल्न बाँकी छ । अष्ट्रेलिया, जोर्डन र ताईपेईसँग खेल्न बाँकी रहेको नेपालले ती सबै खेल होमग्राउण्डमा खेल्नेछ ।

काठमाडौंको दशरथ रंगशाला र एन्फा मैदानमा बन्द प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय फुटबल टीम त्यहाँ महिला लिग शुरु भएपछि पोखरा आएको हो । पोखरामा दुईसातासम्म प्रशिक्षण चल्ने प्रशिक्षक महर्जनले जानकारी दिए ।

बन्द प्रशिक्षणमा रहने टोलीमा ३५ खेलाडी र ९ जना अफिसियल रहेका छन । विश्वकप छनोट खेलको तयारीका लागि आएको टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहेको एन्फा टिम तयारीका संयोजक मधुसुदन उपाध्यायले  बताए ।

मनमोहक हिमालको काख, मनोरम प्रकृति, ताल र गुफाको सौन्दर्यले भरिएको पोखराको मध्य भागमा रहेको पोखरा रंगशालामा बन्द प्रशिक्षण गर्न पाउँदा प्रशिक्षकसँगै खेलाडी दंग छन् । त्यसमापनि प्राकृतिक खेल मैदानमा अभ्यास गर्न पाउँदा खेलाडी प्रफुल्लित छन् । ‘फेवातालको किनारमा बसेर हिमालको काखमा प्रशिक्षण गर्न पाउनु हाम्रो भाग्यको कुरा हो,’ प्रशिक्षक महर्जनले भने, ‘यसले हामीलाई उत्साह थपेको छ ।’ उनले खेलाडी सन्तुष्ट हुँदा त्यसको प्रभाव परिणाममा देखिने बताए । ‘यत्तिको पूर्वाधार सम्पन्न मैदानमा अभ्यास गर्न पाएका छन्,’ उनले भने,‘यसले खेलाडीको मनोवल उच्च बनाउँछ, यसले सकारात्मक परिणाम दिलाउनेमा हामी ढुक्क छौं ।’

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन पनि पोखराजस्तो सुन्दर नगरमा रहेको रंगशालाको प्राकृतिक खेल मैदानमा अभ्यास गर्न पाउँदा खेलाडीहरु उत्साहित भएको बताउँछन् । ‘एउटैमा मात्र नभई फरक–फरक मैदानमा अभ्यास गर्न पाउनु खुशीको कुरा हो,’ उनले भने, ‘त्यसमापनि पोखराकोजस्तो पूर्वाधार सम्पन्न प्राकृतिक मैदानमा खेल्न पाउँदा हामी सन्तुष्ट छौं ।’ ‘सन्तुष्टी परिणाममा देखिनेछ ।’

बन्द प्रशिक्षण पोखरामा गर्न पाउँदा दंग भएका प्रशिक्षक तथा खेलाडी एक्सपोजर म्याचका लागि भने चिन्तित देखिएका छन् । ‘खेलमा परिणाम नै ल्याउने हो भने एक्सपोजर म्याच धेरै भन्दा धेरै गर्नुपर्छ,’ प्रशिक्षक महर्जनले भने, ‘यहि पोखरामा पनि कुनै ‘ए’ डिभिजन क्लवसँग खेल्न पाए हुन्थ्यो, त्यसो भएन भनेपनि विदेश गएर भएपनि प्रशिक्षण गर्छौ ।’ उनले एक्सपोजर म्याचका लागि खाडीको देशहरुसँग कुराकानी भइरहेको तर टुंगो नलगोको बताए ।

कप्तान महर्जन पनि एक्सपोजर म्याच चाँडै गर्नुपर्ने बताउँछन् । ‘प्रशिक्षणसँगै एक्सपोजर म्याच पनि महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘सकभर चाँडो एक्सपोजर म्याच गर्नुपर्छ, यसको चाँजोपाँजो मिलाउन हामी एन्फालाई आग्रह गर्छौं ।’ नयाँ युवा खेलाडी समेत भएकाले उनीहरुमा आत्मविश्वास जगाउन पनि एक्सपोजर म्याच महत्वपूर्ण हुने उनको भनाई छ ।

एन्फा उपाध्यक्ष कृष्ण थापा भने एक्सपोजर म्याचबारे छलफल भइरहेको बताउँछन् । ‘अहिले प्रशिक्षण नै प्रमुख हो,’ उनले भने, ‘एक्सपोजर म्याच प्रतियोगिता भन्दा १५ दिन अगाडि गर्ने गरिन्छ, त्यसको तयारीमा एन्फा लागिरहेको छ ।’ उनले पोखराजस्तो सुन्दर नगरीको पूर्वाधार सम्पन्न खेल मैदानमा अभ्यास गराएर खेलाडीलाई ‘साईकोलोजिकल ट्रिट’ गर्न खोजेको उनले बताए । ‘खेलाडीलाई खुशी पार्नु भनेको रिजल्टपनि राम्रो ल्याउनु हो, हामी त्यसमा आशावादी छौं,’ उनले भने ।

प्रकाशित: १० माघ २०७७ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App