६ वैशाख २०८१ बिहीबार
खेल

म्याराडोनाको विरासत

एन्टोनिओ मोस्चिल्ला/सान्टिआगो जाबाला  

बिदा भएको सन् २०२० मा हामीले भोगेका वियोगमध्ये डिएगो म्याराडोनाको असामयिक निधन पनि हो। नोभेम्बर २५ मा विश्वविख्यात फुटबल खेलाडीको हृदयघातका कारण अर्जेन्टिनास्थित आफ्नो निवासमा निधन भयो।  

म्याराडोना आफ्नो समयमा एक महानतम फुटबल खेलाडी मात्र थिएनन्, उनी फुटबललाई खेल मैदानभन्दा बाहिर निकाल्न सफल भए। फुटबललाई राजनीतिक गतिविधिको उचाइमा उकासे। अनि उनले लाखौँ लाख गरिब र सीमान्तकृत समर्थक (फ्यान)हरूबीच आशा र मुक्तिको अनुभव गराए। उनले खेल खेल्ने शिल्पले मात्र सबै कुराको टुंगो नलगाउने पुष्टि गरे। त्यसका निम्ति साहस, विवेक र धैर्यताको पनि खाँचो पर्ने कुरा उनले देखाए।  

म्याराडोनालाई उनको विलक्षण खेल शिल्पका कारण मात्र संसारले स्मरण गर्ने छैन, बरु सत्ता र शक्तिलाई चुनौती दिने उनको विद्रोही स्वभावका कारण पनि सम्झना गरिनेछ। उनको जस्तो विद्रोही भावना आजभोलि धेरै खेलाडीका साथै वैज्ञानिक, लेखक र कलाकारमा पनि भेटाउन गाह्रो छ। मोहम्मद अलीजस्ता खेलाडीमा पनि पाइने यस्तो स्वभाव विश्वमञ्चमा आफूलाई रक्षा गर्न असमर्थ कमजोर जनसमुदायको रक्षाका निम्ति ज्यादै महत्वपूर्ण छ।  

अब्बल खेलका कारण मात्र म्याराडोना विभूति बनेनन्। बरु आफ्ना फ्यानहरूबीच उनले जोडेको बलियो भावनात्मक सम्बन्धका कारण त्यस्तो हुन सम्भव भएको हो। उनले आफू मालिक वा रंगशालाको न्यानो कुर्सीमा बस्ने शक्तिशाली कुलीनहरूका लागि होइन, सधैँ जनताका लागि खेल्ने गरेको बताउँथे। दुव्र्यसनीसँग लड्दै गर्दा पनि उनी इमानदार र जनतासँगै उभिइरहे। ‘मैले गल्ती गरेँ र त्यसको क्षति म भोग्दै छु। तर, फुटबलमा कुनै पनि दाग लाग्न दिइनँ,’ उनले भनेका थिए।  

म्याराडोना ब्युनर्स आयर्सको दक्षिणी छेउको एउटा सानो सहर भिल्ला फ्युरोटोमा जन्मेको र हुर्केकोमा गौरव गर्थे। अर्जेन्टिनाको सुदूर उत्तरपूर्वी कोरेन्टस प्रान्तबाट म्याराडोनाका मातापिता त्यो सहरमा बसाइ सरेका थिए। उनीहरूको घर इँटा चाङ पारिएको पर्खाल र जस्तापाताले छानो छाएको थियो। त्यो टहरोमा न धारा थियो न विद्युत्। ११ वर्षको उमेरमै म्याराडोनाभित्र प्रतिभा उजागर भएको थियो। ‘सानो प्याज’ नामको अर्जेन्टिनाको जुनियर क्लब खेल्दा उनीभित्रको प्रतिभा सबैले देखेका थिए। त्यसको केही समयपछि नै उनी अर्जेन्टिनाभर परिचित भइसकेका थिए।  

केही वर्ष ब्युनर्स आयर्सको चर्चित फुटबल क्लब ‘बोका जुनियर्स’मा खेलेपछि उनी सन् १९८२ मा युरोपको अब्बल क्लबहरूमा खेल्न गए। उनले सबभन्दा पहिले खेलेको फुटबल क्लब बार्सिलोना थियो। त्यो क्लब धनी थियो। तर, घाउ चोटपटक र दक्षिणी अमेरिकीहरूप्रतिको गहिरो जातिवादका कारण उनी त्यहाँ टिक्न सकेनन्।  

त्यही कारण सन् १९८४ मा उनी पश्चिम युरोपकै सबभन्दा गरिब सहरमध्येको एउटा सहर इटालीको नेपल्समा गएर आफ्नो प्रतिभा देखाउन पुगे। नेपल्सका जनतालाई उत्तरी इटालीका मानिसहरू ‘इटालीका अफ्रिकीहरू’ भन्थे। नेपल्सका फुटबल टिमका खेलाडी र जनतासँग मेलजोल हुन म्याराडोनालाई कति पनि समय लागेन। इटालीको धनी उत्तरी क्षेत्रले गरिब र कम विकसित दक्षिणलाई सधैँ होँच्याएर व्यवहार गथ्र्यो। त्यही कारण दुई क्षेत्रबीच सधैँ तनाव भइरहन्थ्यो। कतिबेला त्यो तनाव खेल मैदानमा पनि पोखिन्थ्यो।  

इटालीको फुटबल लिग खेलमा उत्तरको दबदबालाई म्याराडोनाले छिन्नभिन्न बनाइदिए। सन् १९८५ मा नेपल्सलाई पहिलोपटक ‘सिरी ए’ को पदक जिताउन उनले नेतृत्वदायी भूमिका खेले। ‘ला रिपब्लिका’ पत्रिकामा प्रकाशित एउटा लेखमा इटालीका लेखक रोबर्टो साभाइनोको लेखेका छन्, ‘म्यारानडोना मुक्तिका प्रतीक थिए। हो मुक्ति, किनभने इटालीको च्याम्पियनसिप दक्षिणले कहिले पनि जित्न सकेको थिएन। दक्षिणको कुनै पनि टिमले युइएफए कफ जित्न सकेको थिएन। दक्षिणको कुनै पनि टिममाथि संसारको ध्यान परेको थिएन।’

नेपल्समा पनि म्याराडोना असमान तलब र नीतिविरुद्ध क्लब मालिकहरूसँग संघर्ष गर्न कति पनि पछि परेनन्। उदाहरणका लागि सन् १९८४ मा उनले क्लबका अधिकारीहरूको इच्छाविपरीत एक गरिब बालकको स्वास्थ्योपचारका लागि नेपल्सको एउटा गरिब बस्तीको हिलाम्ये मैदानमा च्यारिटी खेलको आयोजना गरेका थिए।  

यी र स्थानीय जनतालाई सहयोग गर्ने यस्ता धेरै गतिविधिकै कारण नेपल्सका जनता म्याराडोनाको मनैदेखिका फ्यान बने। उनीहरू म्याराडोनाका यस्ता जब्बर समर्थक बने कि सन् १९९० को विश्व कपअन्तर्गत इटाली र अर्जेन्टिनाबीच भएको सेमिफाइनल खेलमा उनीहरूले अर्जेन्टिनेली टोलीको पक्ष लिएका थिए, किनभने म्याराडोना त्यो टोलीबाट खेलेका थिए। संयोगवश, त्यो खेल पनि नेपल्समा नै भएको थियो।  

म्याराडोनाको देश अर्जेन्टिनामा त उनीप्रति अगाध प्रेम थियो। त्यहाँका सबै जाति र सामाजिक वर्गका जनताले उनलाई हुरुक्कै भएर समर्थन गर्थे। अर्जेन्टिनाली जनता म्याराडोनालाई खेल मैदानमा एकजना खेलाडीको रूपमा मात्र हेर्ने गर्दैनथे। सन् १९८६ को विश्व कपमा दुई असामान्य गोल गरेर उनी अर्जेन्टिनाका नायक नै बने। त्यो सालको विश्वकप फुटबल प्रतियोगिता फुटबलको इतिहासमै सबभन्दा बढी राजनीतिक दोष लागेको प्रतियोगिता थियो।  

बेलायतले नियन्त्रणमा राखेको अर्जेन्टिनाको दक्षिण एटलान्टिक माल्भिनस (फकल्यान्ड) टापु पुनः प्राप्त गर्ने अर्जेन्टिनेली सेनाले गरेको असफल प्रयासको चार वर्षपछि विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र बेलायतको टक्कर परेको थियो। म्याराडोनालाई फकल्यान्ड टापुको लडाइँमा मारिएका सयौं अर्जेन्टिनालीहरूप्रति सम्मान व्यक्त गर्ने बेलायतसँगको त्यो खेल एउटा उपयुक्त मौका भएको कुरा थाहा थियो। अर्जेन्टिनाली जनता मात्र होइनन्, शताब्दियौँदेखि उपनिवेशवादी शक्तिहरूबाट मारिएका दक्षिणी गोलाद्र्धका लाखौँ लाख जनताप्रति सम्मान दर्शाउने पनि त्यो राम्रो मौका थियो। त्यो खेलमा म्याराडोनाले गरेको पहिलो गोल ‘भगवानको हात परेको गोल’ (ह्यान्ड अफ गड) भनी विख्यात भयो। दोस्रो गोल भने ‘शताब्दीको गोल’ (गोल अफ सेन्चुरी) बन्यो। बेलायतीहरूले कहिले पनि ती गोल भुल्न सक्दैनन्। उनीहरू अझै पनि ‘झुक्याउने’ पहिलो गोल र विलक्षणपूर्ण दोस्रो गोलको कारण अपमानको आगोले जल्छन्।  

अर्कोतिर तिनै गोलका कारण अर्जेन्टिनाका जनताले म्याराडोनाको चमत्कारमा खुसियाली मनाए। तिनताक बेलायतमा मार्गरेट थ्याचरको नवउदारवादी शक्ति सर्वोच्च उचाइमा थियो। म्याराडोनाका ती गोलले थ्याचर सरकारलाई लाजले निहुरिने बनाइदियो। गत अक्टोबरमा फ्रान्स फुटबल टोलीले ६०औँ जन्म दिनका लागि के उपहारको अपेक्षा गर्नुहुन्छ भनी सोध्दा म्याराडोनाले अर्थपूर्ण तरिकाले जवाफ दिएका थिए, ‘बेलायतविरुद्ध अर्को गोल गर्न चाहन्छु। तर, योपटक दाँया हातबाट त्यो गोल गर्ने इच्छा छ।’  

इटालीको नेपल्स र अर्जेन्टिनाका जनता तथा लाखौँ लाख फ्यानहरूका निम्ति म्याराडोना आफूमाथिका सबै खालका उत्पीडन र विभेदबाट मुक्तिका प्रतीक हुन्। सन् १९९७ मा उनले व्यावसायिक खेल जीवनबाट बिदा भए। त्यसपछि उनको प्रतिरोधको आयतन फराकिलो बनेर विश्वव्यापी बन्यो। म्याराडोनाले सार्वजनिक रूपमा व्यावसायिक खेलाडीहरूको संगठनलाई समर्थन गरे र फिफाभित्रको भ्रष्टाचारको खुला विरोध गरे। उनले प्यालेस्टाइनी जनताको आन्दोलनलाई समर्थन गरे। त्यस्तै अमेरिकी साम्राज्यवादको विरोधमा एकजुट भएका दक्षिण अमेरिकी वामपन्थी नेताहरू फिडेल क्यास्ट्रो, ह्युगो चाभेज र इभो मोरालेससँग हातमा हात मिलाए। सन् २००५ मा चौथो अमेरिकी शिखर सम्मेलनका क्रममा आयोजित विशाल प्रदर्शनमा उनी सहभागी बनेका थिए। त्यो प्रदर्शनमा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई युद्ध अपराधी लेखिएको टी–सर्ट लगाएका थिए।  

म्याराडोनाको विद्रोही र सत्ता–शक्तिलाई चुनौती दिने स्वभाव खेलकुद क्षेत्रलाई सामाजिक न्यायको मुद्दाबाट अलग राख्न सकिन्न भन्ने मान्यतामा आधारित थियो। विडम्बना आज खेलकुद क्षेत्रबाट राजनीतिलाई निचोर्ने कर्पोरेट क्षेत्रको दबाबका कारण व्यावसायिक खेलाडीलाई राजनीतिक अभिव्यक्ति दिएबापत र सीमान्तकृत एवं विभेदमा परेका समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेबापत सजाय भोग्न बाध्य पारिएको छ। हामी म्याराडोनालाई स्मरण र सम्मान गर्छौं। त्यसकारण हामी खेलकुदलाई व्यापारीकरण गर्ने र त्यहाँबाट सामाजिक न्यायको मुद्दालाई निकाल्ने अभ्यासको प्रतिरोध गर्दै उनको विरासतलाई अघि बढाउन प्रतिबद्ध छौँ।

(मोस्चिल्ला बार्सिलोनाका स्वतन्त्र खेलकुद पत्रकार हुन्। जाबाला बार्सिलोनाकै पोम्पी फब्रा विश्वविद्यालयमा दर्शनशास्त्रका प्राध्यापक हुन्।)  

स्रोतः अल–जजिरा  

प्रकाशित: १० माघ २०७७ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App