७ वैशाख २०८१ शुक्रबार
खेल

सावित्राको ह्याट्रिक

स्ट्राइकर सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा साबिकको विजेता एपिएफले राष्ट्रिय महिला लिगमा रबाफिलो सुरुआत गर्दा विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाले भने अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार भएको पहिलो खेलमा एपिएफले रौतहटको चन्द्रपुर नगरपालिकामाथि ६–० को फराकिलो जितका साथ लिगमा सुखद सुरुआत गरेको हो। १४औं मिनेटमा सावित्राले एपिएफको लागि गोल खाता खोलेकी थिइन्। त्यसको आठ मिनेटपछि अञ्जली योञ्जनले एपिएफको अग्रता दोब्बर बनाइन्। पहिलो हाफमा दुई गोल गरेको एपिएफले दोस्रो हाफमा भने चार गोल थप्यो।  

६२औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपिएफ ३–० ले अगाडि रह्यो। त्यसको दुई मिनेटपछि कप्तान अनिता बस्नेतले एपिएफका लागि चौथो गोल गरिन्। ७२औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गर्दै एपिएफलाई फराकिलो जिततर्फ डोहोर्‍याइन्। जारी लिगमा यो नै पहिलो ह्याट्रिक हो। खेल सकिन एक मिनेट बाँकी रहँदा प्रीति राईले बललाई जाली चुमाउँदै एपिएफको ६–० को जित पक्का गरिन्। एपिएफकी प्रशिक्षक भगवती थापाले टोलीले सानदार सुरुआत गरे पनि सुधारको खाँचो रहेको बताइन्। ‘चन्द्रपुर राम्रो टोली हो। राम्रो टोलीविरुद्ध गरेको प्रदर्शनबाट सन्तुष्ट छु’भगवतीले भनिन्, ‘ तथापि, टोलीमा सुधार गर्नुपर्ने पक्ष पनि छ।’ 

चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले भने केही प्रमुख खेलाडी घाइते हुँदा सोचेअनुरूपको प्रदर्शन नभएको बताए। ‘पहिलो हाफमा हामीले राम्रो खेलेका थियौं,’ नुरराजले भने, ‘मध्यान्तरपछि केही खेलाडी घाइते हुँदै बाहिरिएपछि टोलीले स्वाभाविक लय गुमायो। एपिएफ बलियो टोली हो, उनीहरूविरुद्ध अंक खोस्ने रणनीति बनाए पनि सफल हुन सकेनौं।’ बिहीबार नै एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा वालिङ नगरपालिकाले सुरुआती अग्रता जोगाउन नसक्दा विराटनगरसँग अंक बाँड्यो।  

खेलको दोस्रो मिनेटमा सम्झना शर्माको गोलबाट वालिङले अग्रता लिएको थियो। तर, ६८औं मिनेटमा आशा कुमारीले विराटनगरलाई खेलमा फर्काइन्। शुक्रबार एन्फा कम्प्लेक्समा चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ९ माघ २०७७ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App