२५ फाल्गुन २०७७ मंगलबार
खेल

सुनीलको शतकमा पुलिसको दोस्रो जित

सुनील धमलाको करियरकै पहिलो शतक र पवन सर्राफको तीव्र अर्धशतकीय इनिङप्रेरित नेपाल पुलिस क्लबले बिहीबार जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।  

सुनीलको शतक र पवनको विस्फोटक ब्याटिङ मद्दतबाट पुलिसले लुम्बिनी प्रदेशमाथि ७४ रनको सहज जित निकाल्दै प्रतियोगितामा तेस्रो खेलबाट दोस्रो सफलता निकालेको हो। ३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ३६ रनमा समेटिएपछि पुलिसले जित निकाल्यो। सौरभ खनालले ७४ रनको अर्धशतकीय इनिङ खेले पनि लुम्बिनीको हार टार्न पर्याप्त भएन।  

लुम्बिनीका कप्तान कृष्ण कार्की ४० रनमा नटआउट रहँदा देव खनाल अर्धशतकबाट एक रनले चुके। सन्दीप रजाली ४० रन र राजवीर सिंह २४ रन बनाएर पवेलियन फर्किए। पुलिसको बलिङमा रासिद खान र पवन सर्राफले २/२ विकेट तथा दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र सागर ढकालको नाममा १/१ विकेट रह्यो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ३ सय १० रनको विशाल योगफल बनाएको थियो।

ओपनर सुनीलले १ सय ४ रन जोड्दै पुलिसको इनिङलाई बलियो साथ दिए। सुनीलले १ सय ४५ बलमा सात चौका र एक छक्का प्रहार गरे। अनुशासित ब्याटिङ गरेका सुनील ४३.३ ओभरमा अनिल खरेलको बलमा स्टम्पिङ भएका थिए। दीपेन्द्रसिंह ऐरीले ८५ रनको योगदान गर्दा पवन सर्राफले १३ बलमा नटआउट ५० रनको आक्रामक इनिङ खेले। उनले ६ छक्का र एक चौका प्रहार गरे।  

पवनले घरेलु क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाउँदा पुलिस विशाल योगफलतर्फ अग्रसर भएको थियो। आरिफ शेख २९ रनमा नटआउट रहँदा अमित श्रेष्ठ २८ रनमा पवेलियन फर्किएका थिए। लुम्बिनीको बलिङमा कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले १/१ विकेट लिए। जितसँगै पुलिस तीन खेलबाट चार अंक जोड्दै समूह ‘बी’ को दोस्रो स्थानमा छ। पराजित लुम्बिनी भने दुई खेलबाट दुई अंकसहित तेस्रो स्थानमा छ। अर्को खेलमा आसिफ शेखको आक्रामक ब्याटिङप्रेरित एपिएफले गण्डकी प्रदेशमाथि ६ विकेटको जित निकाल्यो।

मूलपानी मैदानमा १ सय ७ रनको झिनो लक्ष्य एपिएफले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो। आसिफले ७८ रनको अर्धशतकीय योगदान गर्दै एपिएफलाई जितनजिक पुर्‍याएका थिए। उनले ५६ बलमा छ छक्का र पाँच चौका हिर्काए। २–२ विकेटको अवस्थाबाट आसिफले सम्हालिएको ब्याटिङ गरेका थिए।  

गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले समान २/२ विकेट हात पारे। चार खेलमा एक मात्र जित निकालेको गण्डकीको सेमिफाइनल सम्भावना समाप्त भएको छ। यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले ४६ ओभरमा अलआउट हुँदा १ सय ६ रन मात्र जोड्न सक्यो। गण्डकीका ओपनर समीर कँडेलले ३६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान क्रिजमा लामो समय टिक्नै सकेनन्। गण्डकीलाई सस्तैमा समेट्न एपिएफका कमल ऐरीले सर्वाधिक चार विकेट निकाल्दा अभिनाश बोहोरा र कप्तान शरद भेषवाकरको नाममा समान २/२ विकेट रह्यो। समूह ‘ए’ को एपिएफले दुई खेलबाट ४ अंक जोडेको छ। यस समूहमा तीनै खेलमा अपराजित आर्मी ६ अंकसहित शीर्ष स्थानमा छ।

प्रकाशित: ९ माघ २०७७ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App