८ वैशाख २०८१ शनिबार
खेल

फर्कियो घरेलु फुटबल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रिय महिला फुटबल लिग सुरु भएसँगै कोरोना भाइरस महामारीका कारण करिब एक वर्ष देखि बन्द रहेको नेपालको घरेलु फुटबल पनि फर्किएको छ।

गत माघमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि दशरथ रंगशालामा कुनै पनि खेल भएको छैन। कतार विश्वकप २०२२ अन्तर्गतको छनोट चरणका खेलहरू नेपालले चैतमा खेल्ने तालिका रहेको थियो। तर, विश्वव्यापी रूपमा फैलिएको महामारीका कारण सो खेल स्थगित हुन पुग्यो। गत कात्तिकमा नै उक्त खेल हुने तालिका रहे पनि कोरोनाका कारण सञ्चालन हुन सकेन। सोही खेल आगामी चैत सम्मका लागि तय भइसकेको छ।  

त्यस्तै महामारीकै कारण एन्फा कम्प्लेक्स सातदोबाटोमा सहिद स्मारक ‘बी’ डिभिजन लिगसमेत रोकिएको थियो। त्यसयता नेपालमा फुटबल गतिविधि शून्यमा नै रह्यो। तर, बुधबारबाट महिला राष्ट्रिय फुटबल लिग सुरु भएसँगै घरेलु फुटबल फर्किएको छ। उद्घाटन खेल गोलरहित बराबरीमा रोकिएसँगै लिगमा सुखद सुरुआत गर्ने त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबको लक्ष्यले पूर्णता पाउन सकेन।

खेलको सुरुआतबाटै पुलिसमाथि दबाब बनाएको आर्मीले पाएका अवसर सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भयो। आर्मीका प्रशिक्षक राजु तामाङले लामो समयको अन्तरालमा खेलाडीहरू मैदान फर्किएको र थोरै समयको अभ्यासका बाबजुत पनि टोलीले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। यता पुलिसका प्रशिक्षक सञ्जिव जोशीले टोलीमा अधिकांश नयाँ अनुहार भए पनि आर्मीविरुद्धको प्रदर्शन उत्कृष्ट रहेको बताए।  

पहिलोपटक डबल राउन्ड रोबिनका आधारमा जारी लिगमा तीन विभागीय टोली आर्मी, पुलिस, एपिएफका साथै रौतहटको चन्द्रपुर,स्याङ्जाको वालिङ, उदयपुरको चौदण्डीगढी र मोरङको विराटनगर महानगरपालिका गरी कुल सात टोलीले प्रतिस्पर्धा गर्दैछन्। लिगअन्तर्गत एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार हुने पहिलो खेलमा एपिएफ र चन्द्रपुर नगरपालिका आमनेसामने हुँदा दोस्रो खेलमा वालिङ र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछन्। लिग आगामी फागुन ७ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ८ माघ २०७७ ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App