७ वैशाख २०८१ शुक्रबार
खेल

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: लुम्बिनी र कर्णालीलाई पहिलो सफलता

कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा पहिलो जित निकालेका छन्। कर्णालीले गण्डकी प्रदेशमाथि पाँच विकेटको जित निकाल्दा लुम्बिनीले प्रदेश–२ लाई ७७ रनले स्तब्ध बनाउँदै प्रतियोगितामा पहिलो सफलता निकालेका हुन। मूलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६.५ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्दै पहिलो सफलता निकालेको हो। कर्णालीको जितमा हिमान्सु शाहीले अविजित ६८ रनको अर्धशतकीय योगदान दिँदा बिपिन रावल अर्धसतकबाट एक रनले चुके। राज शाह ३२ रन र हेमन्त ओली २९ रनमा पवेलियन फर्किएका थिए। गण्डकीको बलिङमा बिपिन खत्रीले चार विकेट लिँदा सुवास भण्डारीले एक विकेट निकाले।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२.३ ओभरमा अलआउट हुँदा २ सय ४ रन बनाएको थियो। गण्डकीका राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय पारी खेल्दा ओपनर अर्जुन कुमाल ४६ रनमा पवेलियन फर्किएका थिए। गण्डकीका कप्तान बिपिन खत्रीले ३२ रन, विशाल पौडेलले १५ रन र दिनेश बुढामगरले १० रनको योगदान दिए। कर्णालीको बलिङमा दिनेश अधिकारीले तीन विकेट लिँदा अनुज चुनरा र दिवन पुनले समान २/२ विकेट तथा रविन्द्र शाहीको नाममा एक विकेट रह्यो।

दुई खेलबाट दुई अंक बटुल्दै कर्णाली समूह ‘ए’ को तेस्रो स्थानमा छ। कर्णाली पहिलो खेलमा आर्मीसँग ८० रनले पराजित भएको थियो। तीन खेल खेलेको गण्डकीको भने यो दोस्रो हार हो। तीन खेलबाट दुई अंक जोडेको गण्डकी समूहको चौथो स्थानमा छ। अर्को खेलमा २ सय ५८ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले ४२.२ ओभरमा समेटिँदा १ सय ८० रन मात्र जोड्न सक्यो। अन्तिम विकेटका लागि विवेक यादवले आक्रामक ब्याटिङ गर्दै अर्धसकीय पारी खेले पनि प्रदेश–२ को जितका लागि पर्याप्त भएन।

विवेकले ४९ बलमा ५१ रन जोड्दा ३/३ चौका र छक्का प्रहार गरे। यस अघि ओपनरद्वय सुधीर चौधरी र हरिशंकर शाहले राम्रो सुरुआत गरे पनि मध्य क्रमका ब्याट्सम्यान चल्न नसक्दा प्रदेश–२ ले नतिजा सुम्पियो। सुधीरले ४२ रन जोड्दा हरिशंकरले २२ रन र मेहबुब अलामले ३१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक स्कोर बटुल्न सकेनन्। प्रदेश–२ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अनिल खरेलले सर्वाधिक चार विकेट लिए। विक्रम भुसाल र दीपेन्द्र राउतले दुई/दुई तथा अमित तामाङ र कृष्ण कार्कीले १/१ विकेट आफ्नो नाममा लेखाए।  

यस अघि कीर्तिपुरस्थित त्रिवी मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो। लुम्बिनीका सन्दीप रजालीले ८३ रन र सौरभ खनालले ५६ रनको अर्धशतकीय योगदान दिएका थिए। विक्रम भुसालले ३६ रन, सन्दीप सुनार ११ रन र कप्तान कृष्ण कार्कीले १० रन जोड्दै लुम्बिनीको इनिङ उकासे। प्रदेश–२ को बलिङमा हरिशंकर साहले तीन विकेट लिँदा दिव्यान्सु मल्लिकले दुई विकेट तथा सैफउल्लाह अन्सारी, कुमार थापा र विशाल सुस्लिङले १/१ विकेट लिए। पहिलो खेलमै जित निकालेको लुम्बिनी समूह ‘बी’ को दोस्रो स्थानमा छ भने पराजित प्रदेश–२ अंकविहीन छ।

प्रकाशित: ७ माघ २०७७ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App