७ वैशाख २०८१ शुक्रबार
खेल

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: विशालको ह्याट्रिकमा गण्डकीलाई सफलता

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो सफलता निकाल्दा अर्को खेलमा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई स्तब्ध बनाउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। गण्डकीले मूलपानी क्रिकेट मैदानमा प्रदेश–१ माथि दुई विकेटको रोमाञ्चक जित निकाल्दा बाग्मतीले सुदूरपश्चिम प्रदेशमाथि १ सय ८० रनको फराकिलो जित आत्मसात् गरेको हो। प्रदेश–१ माथि संघर्षपूर्ण जित निकालेको गण्डकीको जारी प्रतियोगितामा यो पहिलो सफलता हो। गण्डकी यस अघि पहिलो खेलमा आर्मीसँग पराजित भएको थियो। विशाल पौडेलको ह्याट्रिक प्रेरणाबाट गण्डकीले प्रतियोगितामा पहिलो सफलता निकाल्न सफल भयो।  

विशालले ६.५ ओभर बलिङ गर्दै चार विकेट लिएर २५ रन खर्चिएका थिए। दुई खेलबाट समूह ‘ए’ को गण्डकीले दुई अंक नै जोडेको छ। १ सय ३ रनको सामान्य लक्ष्य गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो। गण्डकीका ओपनर अर्जुन कुमाल ३५ रन जोड्दा दीपक डुम्रेले पनि समान ३५ रनको योगदान दिए। अभिशेक थापाले अविजित १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। प्रदेश–१ का लागि शुभांकर उरा र मिनास थापाले समान २/२ विकेट हात पार्दा दीपेश कंडेल र हेमन्त राईले १/१ विकेट आफ्नो नाममा लेखाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २७.४ ओभरमा सबै विकेट गुमाउँदा १ सय २ रन मात्र जोडेको थियो। प्रदेश–१ का लागि कप्तान सिद्धान्त लोहनीले २४ रन बनाए। मिनास थापाले २२ रन जोड्दा शुभशंकर उराले १२ रन, दीपक पासवानले ११ रन र दीपेश कँडेलले १० रन बनाए। प्रदेश–१ लाई सस्तैमा समेट्न विशाल पौडेलले ह्याट्रिकसहित चार विकेट लिए। उनले २७ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए। यस्तै सुवास भण्डारीले चार र बिपिन खत्रीले दुई विकेट लिए। जितसँगै गण्डकी समूह ‘ए’को तेस्रो स्थानमा छ भने पराजित प्रदेश–१ लगातार दोस्रो हारपछि पुछारमा छ। अर्को खेलमा बाग्मतीले सुदूरपश्चिमलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। बाग्मतीले दिएको ३ सय रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदा १ सय १९ रन मात्र जोड्न सक्यो ।

सुदूरपश्चिमका नारायण जोशीले सर्वाधिक ४४ रनको अविजित योगदान दिए पनि जितका लागि पर्याप्त भएन। सुदूरपश्चिमका अर्जुन साउदले ३१ रन र किरण ठगुन्नाले २४ रन बनाउँदा ६ खेलाडी शून्यमै पवेलियन फर्किएका थिए। सुदूरपश्चिमलाई सस्तैमा समेट्न बाग्मतीका रामनरेश गिरिले चार विकेट लिए। नन्दन यादवले दुई विकेट लिँदा दीपेश श्रेष्ठ, बिपिन आचार्य र तिलक भण्डारीले १/१ विकेट आफ्नो नाममा लेखाए। यस अघि बाग्मतीले पूरै ५० ओभर खेल्दा ९ विकेट गुमाएर २ सय ९९ रनको विशाल योगफल बनाएको थियो। पृथु बास्कोटाले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ खेले। आदिल खानले ६३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२ रन जोडे। पारस खड्का २० र आकाश थापा १३ रन बनाएर पवेलियन फर्किएका थिए। ईशान पाण्डेले १७ रन जोड्दा रामनरेश गिरि १० रनमा अविजित रहे ।

सुदूरपश्चिमको बलिङमा नारायण जोशीले तीन विकेट लिँदा भोजराज भट्ट र सन्तोष भट्टले २/२ विकेट निकाले। लगातार जित निकालेको बाग्मती दुई खेलबाट ४ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ। बाग्मतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सात विकेटले हराएको थियो भने सुदूरपश्चिमले भने प्रतियोगितामा खराब सुरुआत गरेको छ।

प्रकाशित: ६ माघ २०७७ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App