७ वैशाख २०८१ शुक्रबार
खेल

अहिले नै उत्साही हुन आवश्यक छैन : पोग्बा

मिडफिल्डर पाउल पोग्बाको निर्णायक गोलमा बर्नलीमाथि १–० को जित हात पार्दै म्यानचेस्टर युनाइटेड मंगलबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

बर्नलीविरुद्ध सफलतापछि फ्रान्सेली स्टार पोग्बाले युनाइटेडको जितमा निर्णायक गोल गर्न पाउँदा सधैं खुसी हुने बताएका थिए। केही महिना अघि मात्र ओल्ड ट्राफोर्डमा पोग्बाको भविष्यबारे अन्योलमा रहेको समाचार बाहिरिएको थियो। तर, पछिल्ला समय भने उनले टोलीमा निरन्तर पहिलो रोजाइको रूपमा स्थान बनाइरहेका छन् र टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका छन्। सन् २०१३ मा तत्कालीन प्रशिक्षक एलेक्स फर्गुसनले क्लब छोडेपछि युनाइटेडले प्रिमियर लिगको उपाधि जित्न सकेको छैन। यस सिजनमा भने युनाइटेडले आफूलाई प्रिमियर लिग दाबेदारको रूपमा प्रस्तुत गर्दै आएको छ।

ओले गनर सोल्सजायरको टोली १७ खेलबाट ३७ अंकका साथ लिग अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ, जुन समान खेल खेल्दै दोस्रो स्थानमा रहेको साबिकको विजेता लिभरपुलभन्दा तीन अंक बढी हो। प्रिमियर लिगका सर्वाधिक सफल टोलीका रूपमा रहेको युनाइटेड र लिभरपुल आइतबार एन्फिल्डमा आमनेसामने हुँदैछन्। ‘टोलीले स्पष्ट तीन अंक जोड्दा पनि खुसी छु,’पोग्बाले भने, ‘त्यो भन्दा खुसी टोलीको जितमा मलाई दिइएको जिम्मेवारी पूरा गर्दा हुन्छ। टोलीको जितमा मेरो योगदान हुँदा अझ खुसी लाग्छ। हामी शीर्ष स्थानमा उक्लिएका छौं। तर हामी अहिले नै उत्साही हुन आवश्यक छैन, किनभने हामीले धेरै लामो यात्रा तय गर्न बाँकी छ। साथै शीर्ष टोलीसँग खेल्न बाँकी नै छ।’ सिजनको सुरुआतमा ६ मध्ये दुई खेल मात्र जित्दै ६ अंक जोडेको युनाइटेडले पछिल्ला ११ खेलमा भने २९ अंक बटुलेको छ।

‘मैले सधैं भन्दै आएको छु, पोग्बा हाम्रो टोलीका लागि निकै महत्वपूर्ण खेलाडी हुन्,’सोल्सजायरले भने, ‘उनी अनुशासित खेलाडी र विश्वविजेता खेलाडी हुन्। अहिले हामीले पोग्बाको उत्कृष्ट लय देखिरहेका छौं। उनी प्रत्येक खेलमा उत्कृष्टभन्दा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। १९औं मिनेटमा मार्कुस रासफोर्डको पासलाई पोग्बाले जाली चुमाउँदै युनाइटेडलाई अग्रता दिलाएका थिए। बर्नलीले भने अक्टोबरपछि पहिलोपटक घरेलु मैदानमा खेल गुमाएको हो।

‘अहिले टोली उच्च लयमा छ,’सोल्सजायरले भने, ‘हामी लिभरपुलविरुद्ध पनि स्पष्ट जितका साथ शीर्षतामा अग्रता बढाउन चाहन्छाैं।’ यता उल्भरह्याम्पटनमाथि २–१ को जितका साथ एभर्टन पनि शीर्ष चारमा फर्किएको छ।

प्रकाशित: १ माघ २०७७ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App