८ वैशाख २०८१ शनिबार
खेल

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डः अरूणा लोकप्रिय, गौरिका र मन्देकाजी उत्कृष्ट

पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडी घोषित हुँदा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्णविजेता करातेका मन्देकाजी श्रेष्ठ वर्ष उत्कृष्ट पुरुष खेलाडी चयन भएका छन्।  

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा १३औं सागकी चार स्वर्ण विजेता पौडीकी गौरिका र मन्देकाजी वर्षका उत्कृष्ट खेलाडी बनेका हुन्।  

उत्कृष्ट महिला खेलाडी : गौरिका सिंह

नेपालमा गत वर्ष मंसिरमा सम्पन्न १३औं सागमा गौरिकाले चार स्वर्णपदक जित्दै एकै संस्करणमा चार स्वर्णपदक जित्ने कीर्तिमान बनाएकी थिइन्। उनले सागमा चार स्वर्णसहित दुई रजत र ३ कांस्य पदक जितिन् भने गत वर्ष नेपालगञ्जमा सम्पन्न आठाैं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पदक जितेकी थिइन्। वर्षको उत्कृष्ट महिला खेलाडी बन्ने क्रममा गौरिकाले एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयषा शाक्य, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारीलाई पछि पारिन्।

उत्कृष्ट पुरुष खेलाडी : मन्देकाजी श्रेष्ठ

पुरुषतर्फ मन्देकाजीले राष्ट्रिय फुटबल टोलीका गोलकिपर विकेश कुथु, एथलेटिक्सका गोपिचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै पुरुष वर्ष खेलाडीको अवार्ड जितेका हुन्। मन्देकाजीले सागमा टिम काता र एकल स्पर्धामा स्वर्ण पदक जितेका थिए।

त्यस्तै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि मन्देकाजीले एकल कातामा स्वर्ण पदक र टिम कातामा रजत पदक जितेका थिए। उनले बंगलादेशमा सम्पन्न कराते साफ च्याम्पियनसिपको एकल कातामा पनि कांस्य पदक जित्दा टिम कातामा स्वर्ण पदक प्राप्त गरेका थिए। नवौं थाइल्यान्ड ओपन च्याम्पियनसिपमा रजत पदक जितेका मन्देकाजी प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए।  

पिपुल्स च्वाइस अवार्ड : अरूणा शाही

त्यस्तै नेपाली महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले एनएसजेएफ पल्सर स्पोट्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस विधाको अवार्ड जितेकी छन्। जनताको मतका साथै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतका आधारमा अरूणा लोकप्रिय खेलाडी बनेकी हुन्। यस क्रममा अरूणाले पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारिन्।

अरूणाले ३७.५२५ प्रतिशत मत प्राप्त गर्दा करातेका मण्डेकाजीले २८.४५७ प्रतिशत मत ल्याए। बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत, पौडीकी गौरिकाले १३.३०१ प्रतिशत र सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन्। ई–सेवामार्फत अरूणाले एक लाख ९४ हजार ७ सय ४७ मत, मन्देकाजीले एक लाख ६ हजार ६ सय ७२ मत, सदिनाले ४२ हजार ७ सय ७४ मत ल्याउँदा गौरिकाले तीन हजार दुई सय ८२ र सावित्राले दुई हजार २ सय ६५ मत ल्याए।  

अरूणाको कप्तानीमा नेपालले गत वर्ष बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो। यो नै नेपाली महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको पहिलो स्वर्ण पदक थियो। त्यस्तै १३औं सागमा पनि महिला भलिबल टिमले रजत जित्दा अरूणाले टोलीको कप्तानी सम्हालेकी थिइन्। नेपाल महिला भलिबल टोलीले वर्षको उत्कृष्ट टोलीको अवार्डसमेत जित्यो।

वर्ष उत्कृष्ट प्रशिक्षक : नवीनकुमार श्रेष्ठ  

नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे। उनले उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड उचालेका हुन्। नवीनकै प्रशिक्षणमा नेपाली तेक्वान्दो टोलीले १३औं सागमा १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो।

वर्ष उत्कृष्ट युवा खेलाडी : सुवाङ तामाङ

सागमा गल्फततर्फ दोहोरो स्वर्णविजेता सुवास तामाङ उत्कृष्ट युवा खेलाडी बने। १८ वर्षे सुवासले सागमा व्यक्तिगत र टिम इभेन्टमा स्वर्ण पदक जित्न सफल भएका थिए। सुवासले तेक्वान्दोका भूपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकै सिना लिम्बु मादेनलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते। सुवासले आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जित्न सफल भएका थिए।  

स्पेसल अवार्डमा दुई महिला

सागमा दोहोरो स्वर्णविजेता तेक्वान्दोकी आयषा शाक्य र १३औं सागमा एथलेटिक्सतर्फ दश हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल सन्तोषी श्रेष्ठ संयुक्त रूपमा ‘स्पेसल अवार्ड’बाट सम्मानित भए।

लाइफटाइम एचिभमेन्ट अवार्ड : गीता र सिजरिन  

सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न पाँचौं साफमा टेबल टेनिसको टिम इभेन्ट्समा स्वर्ण पदक जित्न सफल टेबलटेनिसकी गीता क्षेत्री र सिजरिन शाह लाइफटाइम एचिभमेन्टबाट सम्मानित भए। कोलम्बोमा उनीहरूले जितेको स्वर्ण पदक नेपाली खेलकुदका लागि ऐतिहासिक थियो। सागको इतिहासमै नेपाली महिला खेलाडीले जितेको त्यो नै पहिलो स्वर्ण पदक थियो।

पारा एथलिट : दिगमसिंह चेम्जोङ

पारा खेलाडी दिगमसिंह चेम्जोङ ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पारा एथलिटबाट सम्मानित भए। एक दशकदेखि नेपालको पारा खेलकुद क्षेत्रमा योगदान गर्दै आएका चेम्जोङ उक्त अवार्डबाट सम्मानित भएका हुन्। उनी नेपालको ह्विल चियर क्रिकेट, बास्केटबल र टेबल टेनिसका खेलाडी हुन्। तीनै विधाबाट कयौं सफलता चुमेका उनी विदेशमा व्यावसायिक लिग खेल्ने पहिलो पारा खेलाडीसमेह हुन्।

एसियन जर्नालिस्ट अवार्ड : अहमद खवारी

मलेसियाका खेल पत्रकार अहमद खवारी इसालाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको छ। खवारी लामो समयबाट खेल पत्रकारितामा कलम चलाउँदै आएका छन्। वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे। त्यस्तै अन्य विधाका विजेताले जनही ५० हजार रूपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

प्रकाशित: २९ पुस २०७७ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App