भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनले यस वर्ष पनि निरन्तरता पाउने भएको छ। मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै १५औं संस्करणको आयोजनाका लागि तयारी सुरु भएको जनाएको हो। यस वर्ष फागुन १ गते शनिबार प्रतियोगिता आयोजना गरिने आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए।
प्रतियोगिताको मुख्य विधा पुरुष र महिलाको म्याराथन फागुन १ गते भए पनि अन्य विधा भने फरकफरक मितिमा सञ्चालन हुने अध्यक्ष गुरुङले जानकारी दिए। पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ म्याराथन आयोजना गरिँदै आएको छ।
यस वर्ष ४२.१९५ किलोमिटर म्याराथन र महिलाको २१ किलोमिटर हाफ म्याराथन हुनेछ। खुला १० किलोमिटर महिला तथा पुरुष, ५ किलोमिटर छात्र तथा छात्रा, महिला तथा पुरुष ह्विल चियर र दृष्टिविहीनका लागि एक सय मिटरको दौड प्रतियोगिता हुने भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ।
प्रतियोगितामा पहिलोपटक महिला हाफ म्याराथन थपिएको हो। यस अघिका संस्करणमा हुँदै आएको रन फर फन भने यसपटक नहुने भएको छ। सहभागितालाई उर्जा थप्नका लागि आयोजना गरिँदै आएको रन फर फन यस पटक कोभिड–१९को जोखिमका कारण स्थगित गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।
म्याराथन च्याम्पियनले नगद दुई लाख, दोस्रोले एक लाख, तेस्रो हुनेले ७५ हजार र चौथो हुनेले नगद २५ हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। महिला हाफ म्याराथन विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार र चौथोले १५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।
प्रकाशित: २८ पुस २०७७ ०३:२९ मंगलबार