८ वैशाख २०८१ शनिबार
खेल

‘खेलाडीबाट आशातीत प्रदर्शन भएन’

चेल्सीका प्रशिक्षक फ्र्यान्क लाम्पार्डले खेलाडीबाट प्रभावशाली प्रदर्शन हुन नसक्दा आफ्नो टोली लगातार खराब लयबाट गुज्रिरहेको बताएका छन्। इङ्लिस प्रिमियर लिगको पछिल्ला ६ खेलमा ४ हार बेहोरेसँगै चेल्सी अंकतालिकाको नवौं स्थानमा झरेको छ र त्यसले लाम्पार्डमाथि निकै दबावसमेत बढाएको छ।

लाम्पार्डले खेलाडीलाई पटकपटक निर्देशन दिँदा समेत उनीहरूले त्यसलाई गम्भीर रूपमा नलिँदा टोलीमा समस्या देखा परेको बताएका छन्। टोलीमा जितको लय फर्काउन लागि परेकाले पनि खेलाडीको आलोचनामा समय नखर्चने समेत उनले प्रस्ट पारे। ‘खेलाडीले सधैं एकै किसिमको प्रदर्शन गर्छ भन्ने छैन, तथापि उनीहरूको प्रदर्शनमा नै टोलीको नतिजा निर्भर हुन्छ,’लाम्पार्डले भने, ‘त्यसैले टोली सधैं जितको लयमा हुन्छ भन्ने हुँदैन।  

क्लबमा समस्या हुन्छ, जुन विगतमा पनि थियो। म विगतको समस्याबारे बोलेर समय खर्चन चाहन्नँ।’ तथापि, खेलाडीले स्वाभाविक प्रदर्शन गर्न नसक्दा त्यसको असर टोलीको नतिजामा परेको लाम्पार्डले बताएका छन्। ‘विगतका सिजनमा पनि हामी जितबाट टाढिएका हुन्थ्यौं, तर विस्तारै टोलीमा सुधार गर्‍यौं।  

कठिन समय पार गर्दै यस सिजनका लागि विशेष तयारी गरेका थियौं। पछिल्ला खेलहरूमा टोलीले स्वाभाविक प्रदर्शन गर्न सकेको छैन र त्यसको असर टोलीको नतिजा र अंकतालिकामा स्पष्ट देखिएको छ,’लाम्पार्डले भने, ‘खेलाडीमा जितको भोको हुनुपर्‍यो।

प्रशिक्षकले बनाएको रणनीतिअनुसार खेलाडीले मैदानमा प्रदर्शन गर्न सकिरहेको छैन।’ चेल्सीले एफए कपअन्तर्गत तेस्रो चरणमा आइतबार मोरकाम्बेको सामना गर्दै छ। चेल्सी प्रिमियर लिगको पछिल्लो खेलमा म्यानचेस्टर सिटीसँग ३–१ ले निराश भएको थियो। ‘हामी जितको लय समाउन चाहन्छौं,’लाम्पार्डले भने, ‘त्यसका लागि खेलाडीले स्वाभाविक प्रदर्शन गर्न आवश्यक छ। खेलाडीले आलोचनाबाट माथि उठ्न आवश्यक छ।’

प्रकाशित: २६ पुस २०७७ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App