भुजेल र अनिशा गुरुङ पहिलो क्रस दुवाथलन सिरिजमा पहिलो भएका छन्। नेपाल ट्रायथोलन संघको आयोजना तथा जम्प नेपालको सहकार्यमा शनिबार सम्पन्न क्रस दुवाथलन सिरिजमा सुरेश पुरुषतर्फ र अनिशा महिलातर्फ पहिलो भएका हुन्।
टोखामा सम्पन्न सिरिजमा सुरेशले ३५.४० मिनेट र अनिशाले ४३.५४ मिनेटका साथ पहिलो स्थान प्राप्त गरेका हुन्। क्रस दुवाथलनमा टोखाको गणेश स्थानदेखि चण्डेश्वरीसम्म २.५ किलोमिटर दौड, १० किलोमिटर साइक्लिङ र १.५ किलोमिटर दौडको प्रतिस्पर्धा भएका थिए। पुरुषतर्फ पहिलो सुरेशले जिम्बु थकालीको तर्फबाट दुई हजार रूपैयाँ बराबरको भौचर र प्याङ्क बाइकको तर्फबाट दुई हजार बराबरकै फ्री सर्भिसिङ प्राप्त गरे। अनिशाले काठमाडौं गेस्ट हाउसबाट दुई हजार बराबरको भौचर र प्याङ्क बाइकबाट दुई हजार बराबरको फ्री सर्भिसिङ प्राप्त गरे ।
स्थानीय स्तरबाटै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले गरिएको प्रतिस्पर्धामा प्रेमसिंह मोया ३७.८ मिनेट समयका साथ दोस्रो र आइतसिंह तामाङ ३७.१३ मिनेटका साथ तेस्रो भएका थिए। महिलातर्फ सुधा राई ४८.४३ मिनेटका साथ दोस्रो र युश्का महर्जन ५२.३४ मिनेटका साथ तेस्रो भएका थिए। विजेतालाई टोखा नगरपालिका वडा–२ का अध्यक्ष दीपकराज जोशीले पुरस्कृत गरेका थिए।
सो अवसरमा जोशीले ऐतिहासिक सहर टोखालाई महत्व दिएर प्रतियोगिता आयोजना गरेकोमा ट्रायथलन संघलाई धन्यवाद दिँदै आगामी दिनमा संघसँगै सहयात्रा गर्न तयार रहेको बताए ।
स्थानीय स्तरमा खेलप्रति जागरण गर्दै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले सिरिज आयोजना गरिएको संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए। चार महिनासम्म २/२ हप्तामा आयोजना हुने सिरिजको दोस्रो संस्करण आगामी माघ १० गते कीर्तिपुरमा सञ्चालन हुने संघले जनाएको छ।
प्रकाशित: २६ पुस २०७७ ०३:२३ आइतबार