coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लुम्बिनी र एपिएफको सानदार सुरुआत

लुम्बिनी प्रदेश र विभागीय टोली सशस्त्र प्रहरी बलले दाङमा शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।  

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा प्रदेश–२ लाई ९ विकेटले हराउँदै लुम्बिनी प्रदेशले सानदार सुरुआत गरेको हो। ७८ रनको झीनो लक्ष्य लुम्बिनीले एक विकेट गुमाउँदै १६.१ ओभरमा पूरा गरेको थियो। लुम्बिनी प्रदेशका लागि गीता गोसाईंले सर्वाधिक २६ रनको अविजित योगदान दिइन्। ४२ बल खेलेकी गीताले दुई चौका प्रहार गरिन्। लुम्बिनीले एक मात्र विकेटका रूपमा सरस्वती घर्तीमगरलाई २२ रनमा गुमाएको थियो। उनी कविता गौतमको बलमा क्लिन बोल्ड भएकी थिइन्। त्यसपछि ब्याटिङ गर्न आएको लुम्बिनीकी कप्तान नेरी थापाले अविजित १५ रन बनाउँदै आफ्नो टोलीलाई जित दिलाइन्।  

त्यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको प्रदेश–२ ले निर्धारित २० ओभर नै खेल्दा सात विकेट मात्र गुमाए पनि ७७ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका बलरको कसिलो बलिङसामु प्रदेश–२ ले खुलेर ब्याटिङ गर्न नै सकेन। अनुराधा चौधरी र सना प्रधानको समान २१/२१ रन नै प्रदेश–२ को सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। विमला मगरले १० रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंकमै रन जोड्न सकेनन्। लुम्बिनीकी सुस्मिता भुसालले कसिलो बलिङ गर्दै चार ओभरमा १० रन खर्चेर तीन विकेट लिइन्। स्वस्तिका बजगाईं, गीता गोसाईं र नेरीको नाममा १/१ विकेट रह्यो।  

शनिबारकै दोस्रो खेलमा सशस्त्रले कर्णाली प्रदेशलाई २ सय ४ रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले चार विकेटको क्षतिमा २० ओभर खेल्दै २ सय ३५ रनको विशाल योगफल तयार पार्‍यो, जुन योगफल पछ्याएको कर्णाली १४.१ ओभरमा ३१ रनमै अलआउट हुन पुग्यो। कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमै रन जोड्न सकेनन्। एपिएफकी करुणा भण्डारीले सर्वाधिक पाँच विकेट लिँदै कर्णालीको इनिङ ध्वस्त पारेकी थिइन्। ३.१ ओभर बलिङ गरेकी करुणाले दुई मेडन राख्दा दुई रन मात्र खर्चिइन्। एपिएफका राजमती ऐरीले दुई विकेट लिँदा सोनु खड्का र रेखा रावलले समान १/१ विकेट लिए।  

त्यसअघि ब्याटिङ गरेको एपिएफका लागि कप्तान सीता रानामगरले ६८ रनको अर्धशतकीय योगदान दिइन्। उनले ५९ बलमा ८ चौका हिर्काइन्। एपिएफकी सरिता मगर ४४ रनमा नटआउट रहँदा ज्योति पाण्डेले ३२ र इन्दु बर्माले २२ रन बनाए। कर्णालीको बलिङमा दीक्षा पुरीले दुई विकेट तथा निशा पराजुली र अन्जु गुरुङले १/१ विकेट लिए पनि महँगा साबित भए। आइबार एपिएफले प्रदेश–२ र लुम्बिनीले कर्णाली प्रदेशसँग खेल्नेछन्। शनिबारदेखि सुरु भएको प्रतियोगितामा सातै प्रदेश र एक मात्र विभागीय टोली सशस्त्र प्रहरी गरी आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिता १९ पुससम्म चल्नेछ।

प्रकाशित: १२ पुस २०७७ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App