७ वैशाख २०८१ शुक्रबार
खेल

चेल्सी एभर्टनसँग निराश

एभर्टनसँग १–० ले निराश हुँदै शीर्ष स्थानमा उक्लिने अवसर गुमाएपछि चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले आफ्नो टोलीलाई अहिले नै इङ्लिस प्रिमियर लिग उपाधिको दाबेदार भन्नु हतार हुने बताएका छन्।

सरुवा बजारमा २ सय ९१ मिलियन डलर खर्चेको चेल्सीको १७ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ। यद्यपि लाम्पार्डले आफ्नो टोली सन्तुलित भएकाले निराश भइहाल्नुपर्नेे अवस्था भने आइनसकेको बताएका छन्।

२२औं मिनेटमा गिल्फी सेगुर्डसनले पेनाल्टीको सदुपयोग गर्दा एभर्टनले स्पष्ट ३ अंक पक्का गरेको थियो।

‘केही मानिसहरूले हामीलाई लिग उपाधिको दाबेदार भन्दै आएका छन्। हाम्रो टोली राम्रो छ भन्ने गरेका छन्। यो पागलपन हो,’ लाम्पार्डले भने, ‘कुनै टोली सन्तुलित छ छैन भन्ने आधार उनीहरूले विगत ३–४ सिजन गरेको प्रदर्शन हो। त्यस्तो टोलीका स्ट्राइकरहरूले पनि सिजनमा २०–४० गोल गरेको हुनुपर्छ। हामीसँग केही उत्कृष्ट खेलाडी छन् तर हाम्रो टोलीमा युवा खेलाडीको बाहुल्य छ। हामीले एकरूपको प्रदर्शन गर्न सकिरहेका छैनांै। हामीले वेस्ट ब्रोम र साउथह्याम्पटनविरुद्ध गरेको प्रदर्शनकै आधारमा हामीलाई प्रमुख दाबेदार मानियो, त्यो गलत थियो। हामीले अझै मिहिनेत गर्न आवश्यक छ। यो हाम्रा लागि राम्रो परीक्षण भयो,जहाँ हामी सफल भएनौं, तर भविष्यमा यसले हामीलाई राम्रो पाठ सिकाएको छ।’

१२ खेलको समाप्तिमा २२ अंक जोडेको चेल्सी चौथो स्थानमा छ। एक खेल कम खेलेका टोटेनह्याम र लिभरपुल समान २४ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। साउथह्याम्पटन २३ अंकका साथ तेस्रो र लेस्टर सिटी २१ अंकका साथ पाँचौं स्थानमा छन्।  

‘मैदानमा मात्र २ हजार दर्शकको उपस्थिति थियो, तर पनि हामी खुसी छांै। एभर्टनबाट उनीहरूले राम्रो खेल हेर्न पाए, हामीले राम्रो खेल्यौं,’ एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने।

यता म्यानचेस्टर डर्बीमा भने म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले। त्यस्तै न्युक्याल युनाइटेडले वेस्ट ब्रोमलाई २–१ ले हरायो। न्युक्यासलका लागि मिग्वेल अल्मिरोन र ड्विलाइट गेलले समान १ गोल गरेका थिए। वेस्ट ब्रोमका डार्नेल फुर्लङले १ गोल गरे।

प्रकाशित: २९ मंसिर २०७७ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App