१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टाउकाको चोटमै लुइजलाई खेलाउँदा आलोचना

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार उल्भरह्याम्पटनका स्ट्राइकर राउल जिमिनेजसँग टाउको ठोकिँदा घाइते भएका आर्सनलका रक्षक डेविड लुइज पूर्णरूपमै तयार नभए पनि उनलाई त्यसलगत्तै खेल्ने अनुमति दिने निर्णयको तीव्र आलोचना भएको छ ।  

आर्सनलको मेडिकल टोलीले लुइजको टाउकोमा पट्टी बाँधिदिएका थिए, तर मैदान फर्किए लगत्तै उनको टाउकोबाट रगत बग्न थालेको थियो । खेलपछि आर्सनलका प्रशिक्षक मिचेल अर्टेटाले लुइजले बल हेडिङ गर्न असहज महसुस गरेपछि उनलाई मध्यान्तर लगत्तै मैदानबाट बाहिर ल्याउँदै उनको स्थानमा अर्को खेलाडीलाई मैदान प्रवेश गराइएको बताए थिए । उल्भरह्याम्पटनले सोमबार जिमिनेजको टाउकोको सफल शल्यक्रिया गरेको पुष्टि गरेको थियो । मंगलाबर मात्र जिमिनेजले आफू ठिक रहेको र छिट्टै मैदान फर्कनेमा आशावादी रहेको बताइसकेका छन् । अर्टेटाले चिकित्सकको सबै परीक्षणपछि मात्र लुइजलाई मैदान फर्काएको र त्यसक्रममा आफूहरुले सम्पूर्ण स्वास्थ मापदण्ड प्रयोग गरेको बताएका छन् ।  

साथै अर्टेटाले लुइज मैदान फर्कदा पूर्ण रूपमा होसमै रहेको बताएका छन् । यद्यपि मस्तिष्कको चोटपछि उपचारमा सहयोग गरिरहेको हेडवेले विज्ञप्ती जारी गर्दै १० प्रतिशत मात्र खेलाडीले मैदानमा होस गुमाए पनि त्यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएको छ । ‘हामीले पटकपटक नतिजाकै लागि घाइते खेलाडीलाई नखेलाउन क्लब र लिग आयोजकहरूलाई चेतावनी दिइरहेका छौं । हामी चाहन्छौं, सबै पक्ष खेलाडीको हितमा पनि गम्भीर बनुन्,हेडवेका उपप्रमुख ल्युक ग्रिग्सले भने, ‘हामी धेरै जसो फुटबल खेलमा देख्न सक्छौं,टाउकोको चोटपछि पनि खेलाडीलाई प्राथमिक उपचारपछि नै मैदानमा फर्काइन्छ । उनीहरुले केही असहज महसुस गरे वा खेल्न नसक्ने बताएमा मात्र केही समयपछि मैदानबाट बाहिर निकालिन्छन् ।’

लुइजलाई खेलमा निरन्तरता दिन अनुमति दिइएको थियो, तर मध्यान्तरमा मात्र उनलाई मैदानबाहिर निकालियो । ‘त्यसैले टाउकोमा चोट लागेका खेलाडीलाई तत्काल मैदान फर्काइनु हुँदैन भन्दै आएका छौं । उनीहरू मैदान फर्कदा पूर्ण रूपमा होसमा नहुन पनि सक्छन् । टाउकोको चोटलाई हल्का रूपमा लिने गल्ती नगरेकै राम्रो,’ग्रिग्सले भने, ‘टाउकोको चोट र मांशपेशीको चोटमा धेरै अन्तर छ । टाउकोमा चोट लागेका खेलाडीलाई तत्काल मैदान फर्काउँदा त्यसले गम्भीर नतिजा ल्याउन सक्छ ।’

प्रकाशित: १७ मंसिर २०७७ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App