८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

चेल्सीसँगको बराबरीले टोटेनह्याम शीर्षमा

टोटेनह्याम हट्सपर इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिँदा उपाधि प्रतिद्वन्द्वीसमेत रहेको चेल्सीसँग आइतबार गोलरहित बराबरीको नतिजा निकालेको छ।

जोजे माउरिन्होको टोली टोटेनह्यामले चेल्सीलाई उसैको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा रोकेपछि लिभरपुललाई गोलअन्तरको आधारमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। अर्को खेलमा एडिसन काभानीको यादगार प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले पनि आइतबार दुई गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै साउथह्याम्पटनलाई ३–२ ले पराजित गरेको थियो। मेक्सिकन स्ट्राइकर राउल जिमिनेजलाई टाउकामा चोट लागेपछि  अस्पतालमा पु-याइएको खेलमा वुल्भ्सले आर्सनललाई २–१ ले स्तब्ध बनाउन सफल भयो। टाउकामा चोट लागेपछि वुल्भ्सका जिमिनेजले १५ मिनेटमै मैदान छाडे पनि आर्सनलले त्यसको फाइदा लिन सकेन।  

टोटेनह्याम लगातार ९ खेलमा अपराजित रहँदा माउरिन्होले आफ्नो पूर्वक्लबविरुद्ध  सतर्क रहने रणनीति अपनाउँदै निराश पारे। ‘यो त्यस्तो खेल थियो, जहाँ उनीहरू हामीलाई सम्मान गरेर खेल्थे भने हामीले पनि उनीहरूलाई उत्तिकै सम्मान गरेका थियौं। कोही पनि चुनौती लिन चाहँदैनथ्यो, त्यसैले रणनीति परिवर्तन भएन,’ माउरिन्होले भने, ‘शीर्ष स्थानमा पुग्नुले एक किसिमको खुसी दिएको छ। पछिल्ला सिजन पनि हामी खराब स्थितिबाट आएका थियौं, तर यसपटक केही सुधार भएकाले खुसी छौं।’ यता चेल्सी पनि सबै प्रतियोगितामा गरेर ११ खेलमा अपराजित छ।

जोजे माउरिन्होको टोली टोटेनह्यामले चेल्सीलाई उसैको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा रोकेपछि लिभरपुललाई गोलअन्तरको आधारमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।

प्रिमियर लिगको अंकतालिकामा तेस्रो स्थानमा रहेको चेल्सी टोटेनह्याम र लिभरपुलसँग दुई अंकले मात्र पछाडि छ। शनिबार नै लिभरपुल ब्राइटनसँग १–१ को बराबरीमा रोकिँदा टोटेनह्याम र चेल्सीलाई अंकदूरी छोट्याउने अवसर मिलेको थियो। ‘मैले केही राम्रो आशा राखेको थिएँ। बल पोसेसन पनि हाम्रो पक्षमा थियो र हामीले जितका लागि केही राम्रा अवसर पनि सिर्जना गरेका थियौं,’ चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले भने, ‘हामीले काउन्टर अट्याकमा राम्रो गरिरहेको टोलीविरुद्ध क्लिन सिट राख्न सफल भएका छौं। हामीले ह्यारी केन र सन ह्युङ मिनलाई पनि रोक्यौं।’

पहिलो हाफको सुरुआतमै जर्मन स्ट्राइकर टिमो वेर्नेरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए पनि रेफ्रीले अफसाइड निर्णय दिएका थिए। दोस्रो हाफमा पनि चेल्सीका मेसन माउन्टको अर्को सशक्त प्रहार टोटेनह्यामका गोलकिपर ह्युगो लोरिसले उत्कृष्ट बचाउ गरेका थिए। खेलको अन्तिम समयतिर फ्रेन्च स्ट्राइकर ओलिभर जिरौडले लोरिससँगको वान भर्सेस वानको अवस्थामा फितलो प्रहार गरेसँगै चेल्सीले अंक बाँड्नुपरेको थियो।

युनाइटेडको उत्कृष्ट पुनरागमन
आइतबार नै वेस्ट लन्डनमा युनाइटेडले घरेलु टोलीलाई साउथह्याम्पटनसँग दुई गोलले पछि परेको स्थितिबाट नाटकीय पुनरागमन गरेको थियो। पहिलो हाफमा साउथह्याम्पटनको टोलीले जान बेडनारेक र जेम्स वार्ड प्रोजको गोलबाट अग्रता लिँदै दबाब बनाउँदा ओले गनर सोल्सजायरको टोली युनाइटेडले हार बेहोर्ने अनुमान गरिएको थियो, तथापि पाहुना टोली युनाइटेड नाटकीय तवरबाट पुनरागमन गर्न सफल भयो। उरुग्वेका स्ट्राइकर काभानीले युनाइटेडका तीनै गोलमा अहम् भूमिका निभाउँदा साउथह्याम्पटन स्तब्ध बन्न पुग्यो।  

युनाइटेडको पहिलो गोलका लागि अवसर सिर्जना गरेका ३३ वर्षे काभानीले त्यसपछि थप दुई गोल गर्दै जित दिलाएका थिए। गत अक्टोबरमा युनाइटेडमा अनुबन्धित भएका काभानीले त्यसयता तीन गोल पूरा गरे। ‘उनको उपस्थितिले निकै फरक पारेको छ। उनी आफ्नो भूमिकामा जहिल्यै अगाडि नै रहन्छन्,’ काभानीबारे प्रशिक्षक सोल्सजायरले भने, ‘उनको समयको प्रभाव र खेलशैली निकै राम्रो थियो।’ यो जितसँगै सातौं स्थानमा उक्लिएको युनाइटेडले प्रिमियर लिगमा लगातार आठौं अवे खेलमा जित  निकाल्दै क्लब रेकर्ड बनाएको छ।  

इमिरेट्स स्टेडियममा भएको खेलमा जिमिनेज आर्सनलका डेविड लुइजसँग टाउको ठोकिँदा घाइते हुन पुगेका थिए। उनी घाइते भएलत्तगै लुइजले खेल रोके पनि जिमिनेज अस्पताल जानुपर्ने स्थितिमा पुगेका थिए। एक रिपोर्टअनुसार उनी हाल सामान्य अवस्थामा  छन्। तथापि, पेड्रो नेटोको गोलबाट वुल्भ्सले अग्रता लिए पनि गाब्रियल मागालहाइसले गोल फर्काउँदै आर्सनललाई बराबरीको स्थितिमा ल्याए। तर, खेलको ४२औं मिनेटमा डानियल पोडेन्सको गोलबाट वुल्भ्सले पुनःअग्रता बनाउँदा आर्सनलले थप गोल फर्काउन सकेन। 

प्रकाशित: १६ मंसिर २०७७ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App