१६ चैत्र २०८० शुक्रबार
खेल

क्लोपद्वारा खेलाडीको प्रशंसा

योर्गान क्लोपले चोटका कारण नियमित आठ खेलाडीबिना उत्रिएको आफ्नो टोली लिभरपुलले आइतबार लेस्टर सिटीलाई ३–० ले हराएपछि आफ्ना खेलाडीको प्रशंसा गरेका छन्।

सर्वाधिक गोलकर्ता मोहम्मद सालाहसहित महत्वपूर्ण आठ खेलाडीबिना उत्रिएको लिभरपुलले बलियो टोली लेस्टरलाई स्तब्ध बनाउँदै अंकतालिकाको शीर्ष टोली टोटेनह्यामसँग अंक बराबरी गरेपछि प्रशिक्षक क्लोपले आफ्ना खेलाडीको प्र्रंशसा गरेका हुन्। सालाह कोरोना भाइरस पोजिटिभ थिए भने चोटका कारण भर्जिल भाइन डाइक,जो गोमेज, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, जोर्डन हेन्डरसन, थिएगो एलकान्टारा, जेर्डान साकिरी र एलेक्स चेम्बरलेनलाई गुमाए पनि लिभरपुलले बलियो टोलीविरुद्ध शतप्रतिशत अंक निकाल्न सफल भयो। त्यो जितसँगै लिभरपुलले घरेलु मैदान एन्फिल्डमा ६४ खेलमा अपराजित रहँदै नयाँ क्लब रेकर्ड बनाएको छ।

‘आजको खेलबाट निकै खुसी छु। किनकि शतप्रतिशत नै हामी यो जितको हकदार देखिएका थियौं,’ क्लोपले भने, ‘उनीहरूले उत्कृष्ट टोलीविरुद्ध पनि निकै सानदार प्रदर्शन गरे। उनीहरूले यति राम्रो खेल्छन् जस्तो लागेका थिएन।’ ३४ वर्षे राइट ब्याक जेम्स मिल्नरले अवसरलाई सदुपयोग गर्दा लिभरपुलले दुई गोल नै उनको क्रस बलमा प्राप्त गरेको थियो। मिल्नरले कर्नरबाटै गरेको क्रसमा दुई गोल सम्भव भएको थियो। उनको पहिलो क्रस बलमै लेस्टरका जोनी इभान्सले आत्मघाती गोल गर्न पुगेपछि लिभरपुलले अग्रता लिने अवसर पाएको थियो। त्यसपछि डिएगो जोटाले गोल गर्दै पहिलो हाफमा लिभरपुलको अग्रता दोब्बर पारेका थिए।

मोहम्मद सालाह, भर्जिल भाइन डाइक, जो गोमेज, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, जोर्डन हेन्डरसन, थिएगो एलकान्टारा, जेर्डान साकिरी र एलेक्स चेम्बरलेनलाई गुमाए पनि लिभरपुल बलियो टोलीविरुद्ध शतप्रतिशत अंक निकाल्न सफल भयो।

घरेलु लिगको सुरुआती चारै खेलमा गोल गर्ने जोटा लिभरपुलका पहिलो खेलाडीसमेत भए। उनले एन्डी रोबर्ट्सनको उत्कृष्ट क्रस बललाई हेडमार्पmत जाली चुमाएका थिए। दोस्रो हाफमा पनि लिभरपुलले अर्का मिडफिल्डर नेबी केइटालाई चोटका कारण गुमाउनुपरेको थियो। लेस्टरका गोलकिपर कास्पेर स्मेइकलले दोस्रो हाफमा लिभरपुलका आक्रमणलाई निस्तेज बनाएका थिए। स्मेइकले जोटा र साडियो मानेका आक्रमणलाई रोकेका थिए भने इभान्सबाट दोस्रो आत्मघाती गोल हुनबाट पनि रोके। रोबर्टो फिर्मिनोले २४ लिग खेलमा तेस्रो गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लिएको थियो।  

फिर्मिनोले मिल्नरकै कर्नर बलमा गोल गरे र समग्र टोलीको प्रदर्शनमा बलियो साथ दिए। ‘मानिसहरू उनीप्रति (फिर्मिनो) कयौं हास्यास्पद कुरा गर्छन्,’ सालाह मैदान फर्किएपछि जोटाका लागि फिर्मिनोलाई बाहिर राख्न भइरहेको मागप्रति क्लोपले भने,‘उनले आज आफ्नो प्रदर्शन गरे। उनले समयमा नै गोल गरेर देखाइदिए। आज उनले जसरी खेले त्यसप्रति हामी निकै खुसी छौं।’ आइतबार राति क्लोपको टोलीले सहजै उपाधि होडलाई बाहिर जान नदिने संकेत गरे पनि लिभरपुललाई फेरि खेलाडीको चोटले सताएको छ। केइटाले पनि मांसपेशीमा चोट बोकेका छन्।  

यसअघि लिभरपुलका सेन्टर ब्याक भान डाइक र गोमेजले सिजन नै गुमाउने भइसकेका छन्। लेस्टरका प्रशिक्षक बे्रन्डन रोजर्सले आफ्ना पूर्वक्लब लिभरपुलविरुद्ध तीनै खेलमा हार बेहोर्नुपरेको छ। यो हारसँगै लेस्टर चौथो स्थानमा झर्दा शीर्षको टोलीसँग दुई अंकले पछि छ। ‘पहिलो हाफमा हामीले राम्रो खेल्न सकेनौं,’ रोजर्सले भने, ‘सेट टिममै दुई गोल बेहोर्नु हाम्रा लागि दुःख लाग्दो भयो।’ यता लिभपुलले सन् १९७८  देखि ८१ सम्म ६३ खेलमा घरेलु मैदानमा अपराजित रेकर्डसमेत आइतबार विस्थापित गरेका छन्। क्लोपको टोली प्रिमियर लिगमा सन् २०१७ को अप्रिलदेखि घरेलु मैदान एन्फिल्डमा ६४ खेलसम्म अपराजित रहँदै आएको छ।  

प्रकाशित: ९ मंसिर २०७७ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App