भारतको महाराष्ट्रमा हुने २५ औं विश्वकप पावरलिफ्टिङ–२०२० मा नेपालका ५ खेलाडीले सहभागिता जनाउने भएका छन्।नेपाल पावरलिफ्टङ एशोसियसनले शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै आगामी डिसेम्बर ४ तारिखदेखि ७ तारिखसम्म हुने सो प्रतियोगितामा ४ पुरुष र १ महिलासहित ५ जनाले सहभागिता जनाउने जानकारी दिएको हो ।
प्रतियोगितामा सहभागि हुने मध्ये ४ खेलाडी पोखराका हुन् भने १ जना महिला सुर्खेतकी हुन्।पोखराका हसन गुरुङले ८० केजी तौल समूहमा, पोखराकै राजेश सुवालले ९० केजी तौल समूहमा, पोखराकै सुजन आलेले ७५ केजी तौल समूहमा र पोखराकै आशिष आलेले १०० केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने नेपाल पावरलिफ्टङ एशोसियसनका अध्यक्ष सुन्दर भुषालले जानकारी दिए।उनका अनुसार सुर्खेतकी श्रुती कार्कीले भने ५५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछिन् ।
प्रतियोगितामा भाग लिन नेपाली खेलाडी डिसेम्बर ३ तारिखमा भारत प्रस्थान गर्नेछन् ।प्रतियोगितामा सहभागि हुनका लागि नेपाली खेलाडीलाई मात्र करीब साढे ३ लाख खर्च लाग्ने नेपाल पावरलिफ्टङ एशोसियसनले जनाएको छ।खर्च व्यवस्थापनको प्रयास भइरहेको तर अझै टुंगो लागिनसकेको अध्यक्ष भुषालले बताए।राज्यले खर्च व्यवस्थापन गरिदिनुपर्ने भएपनि त्यसो नहुँदा सहयोगको लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई आग्रह गरिएको उनले बताए ।
कोरोनाका कारण खेलकुद गतिविधि शून्य अवस्थामा पुगेको बेला हुन लागेको प्रतियोगिताले खेलाडीमा उर्जा भन्ने विश्वास लिइएको एसियन पावरलिफ्टङ फेड्रेसनका उपाध्यक्ष जीवन गिरीले बताए।उनले प्रतियोगितामा भाग लिन पाउनु नै ठूलो कुरो भएको बताए ।
प्रादेशिक रुपमा छनौट गर्न नसकिएपनि पहिलेकै छनौटलाई आधार मानेर खेलाडी सहभागिताको टुंगो लगाइएको नेपाल पावरलिफ्टङ एशोसियसनका अध्यक्ष सुन्दर भुषालले जानकारी दिए ।पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले नेपाली खेलाडीले सके स्वर्ण र नभएपनि कुनै न कुनै पदक जित्ने विश्वास व्यक्त गरे।उनले कोरोनालाई जित्न खेल खेल्नुपर्ने भन्दै यसका लागि सबैले खेल गतिविधितर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रकाशित: ६ मंसिर २०७७ ०६:१९ शनिबार