८ वैशाख २०८१ शनिबार
खेल

नेपालगन्ज म्याराथनको तयारी पूरा

शनिबार हुन लागेको छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको आयोजकले बताएको छ। बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आयोजक क्रियटिभ ह्यान्ड्सले तयारी पूरा भएको घोषणा गरेको हो।  

नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा.धवलशम्शेर राणाले नेपालगन्ज म्याराथनको महत्व छुट्टै रहेको बताए। उनले म्याराथनलाई सफल बनाउन सहभागी हुने र सहयोग गर्ने सबैलाई कार्यक्रममार्फत् स्वागत गरेका छन्। बिहीबार आयोजकले प्रतियोगिताको लोगोसहितको टिसर्ट पनि सार्वजनिक गरेको छ।  

म्याराथन नेपालगन्जको वीपी चोक हुँदै कोहलपुर चौराह अगाडि पुगेर पुनः वीपी चोकमा आएर सम्पन्न हुनेछ। म्याराथनलाई सहज बनाउन दौड सुरु भएपछि सडकको एउटा रुट खाली गराइने छ र ठाउँ–ठाउँमा प्रहरी सुरक्षाकर्मी परिचालन गरिने आयोजकले जनाएको छ।

गत वर्ष तीन हजार ६ सयजनाको सहभागिता रहेको म्याराथनमा यसपटक पाँच हजार जनाको सहभागिता हुने आयोजकको अनुमान रहेको थियो। तर कोभिड–१९ का कारण उक्त संख्यामा कमी आउने क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीयस ठकुरीले बताए।  

म्याराथनमा गत वर्षका विजेता नवराज साउद, १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विरणसिंह बोगटी, सागकै स्वर्ण पदक विजेता गोपी कार्कीलगायत २० बढी धावकको उपस्थिति रहने आयोजकले जनाएको छ।  

कोरोनाका कारण यसपटक पुरुष खुल्लातर्फ, महिला हाफ म्याराथन र तीन किलोमिटरको कर्पोरेट रनमात्रै हुनेछ।  

म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जनाएको छ। तर विजेता नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडी नभएको खण्डमा रद्ध गर्न सकिने अध्यक्ष ठकुरीले जानकारी गराए।  

यसपटक विजेताका लागि गतवर्षको तुलनामा पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ। गत वर्षको तुलनामा यो वर्ष म्याराथन विजेताले २० हजार रुपैयाँ बढी पाउनेछन्।  

यो वर्ष म्याराथन विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै चौथोले १० हजार, पाचौंले आठ हजार, छैंटोले सात हजार, सातौंले ६ हजार रुपैयाँ र आठौंले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

महिलातर्फ म्याराथन विजेताले ३० हजार रुपैयाँ पाउनेछन्। त्यसैगरी दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौंथोले सात हजार, पाँचौले ६ हजार र छैटौंले पाँच हजार रुपैयाँ पाउनेछन्।    

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन अयोजना हुँदै आइरहेको छ।

प्रकाशित: ४ मंसिर २०७७ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App