८ वैशाख २०८१ शनिबार
खेल

स्वाभाविक प्रदर्शन गर्नेमा आशावादी

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले छोटो समयको तयारीका बावजुद पनि खेलाडीले क्रमिक रूपमा सुधारिएको प्रदर्शन गरेको भन्दै शुक्रबार बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा मैदान उत्रँदा सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन् ।  

नेपाली राष्ट्रिय फुटबल टोली गत साता बंगलादेश फुटबल संघको निमन्त्रणमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि त्यसतर्फ प्रस्थान गरेको थियो । महर्जनले नेपालमा पनि एक साताको मात्र प्रशिक्षण गरे पनि खेलाडीहरूले स्वाभाविक प्रदर्शन गर्नेमा आशावादी रहेको बताएका हुन् ।  

‘हामी करिब ९ महिनापछि मैदान फर्कंदै छाैं,’ महर्जनले भने, ‘कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण हामी लामो समयदेखि मैदानबाहिर रहेका थियौं । बंगलादेश फुटबल संघ र बंगलादेश सरकारलाई यो अवसरका लागि धन्यवाद दिन चाहन्छु । यसलाई हामीले अवसरको रूपमा लिएका छांै । हामीले नेपालमा प्रशिक्षण गर्दा ४ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो भने बंगलादेश आएपछि पनि एक खेलाडीमा कोरोना पुष्टि भएको छ । यसले हामीलाई चुनौती थपेको छ ।’

‘टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलन मिलेको छ,’ महर्जनले थपे, ‘टोलीले छोटो समयको अभ्यास गरेको छ । नयाँ खेलाडीहरूले उनीहरूलाई दिइएको अवसर प्रमाणित गर्नेछन् । यो हाम्रा लागि विश्वकप छनोट चरणको अभ्यास अवसरसमेत हो । त्यसैले हामी नतिजाभन्दा पनि टोलीले कस्तो प्रदर्शन गर्छ र टोलीमा कुन पक्ष सुधार गर्नुपर्छ भन्नेमा केन्द्रित छाैं ।’

कतार विश्वकप छनोट २०२२ अन्तर्गत एसियाली छनोटको समूह ‘बी’ मा रहेको नेपालले चाइनिज ताइपेई , अस्ट्रेलिया र जोर्डन गरी तीन होम म्याच खेल्न बाँकी छ । यसअघि मार्चमा विश्वकप छनोटको खेल तालिका तय भए पनि कोरोना भाइरस महामारीका कारण सो खेल स्थगित भएको थियो । पुनः अक्टोबरका लागि छनोट खेलको तालिका सार्वजनिक भए पनि अन्तिम समयमा मात्र सो खेल पनि स्थगित भएको थियो । एएफसीले बुधबार विश्वकप छनोटको नयाँ तालिका सार्वजनिक गरिसकेको छ । जसअन्तर्गत छनोट चरणका बाँकी रहेका खेलहरू २०२१ जुन १५ सम्म सकिने जनाएको छ ।

नेपालले शुक्रबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ भने मंसिर ३ मा दोस्रो खेल खेल्नेछ ।

त्यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले लामो समयपछि मैदान फर्कन पाउँदा निकै उत्साही भएको बतउँदै यो अवसरका लागि बंगलादेश फुटबल संघलाई विशेष धन्यवाद दिएका छन् ।

यता बंगलादेशका प्रशिक्षक जेमी डेले नेपाल राम्रो टोली रहेको र उनीहरूविरुद्ध खेल्नु सधैं कठिन रहने बताए । 

प्रकाशित: २८ कार्तिक २०७७ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App