८ वैशाख २०८१ शनिबार
खेल

सानो उमेर, ठूलो जिम्मेवारी

उमेर सानै छ, तर जिम्मेवारी भने ठूलो। भर्खरै २१ मा टेकेका प्रदीप खड्का यति बेला माल्दिभ्समा प्रशिक्षक छन्। उनी माल्दिभ्समा टेनिस प्रशिक्षण गराउँछन्। एकवर्षे सम्झौताअनुसार दशैँलगत्तै उनी माल्दिभ्स उडेका हुन्।  

माल्दिभ्समा प्रशिक्षणको अवसर भने नेपालका पूर्व नम्बर एक टेनिस खेलाडी कुमार अधिकारीले मिलाइदिएका हुन्। अधिकारी टेनिस प्रशिक्षकका रूपमा इन्डोनेसियामा आयोजित १८औं एसियन गेम्समा माल्दिभ्सको टोली लिएर गएका थिए। अधिकारी र खड्का दुवै पोखराका हुन्।  

पोखराको पस्र्याङस्थित टेनिस कोर्टबाट उनले करियर सुरु गरेका थिए। खड्काले टेनिसको ¥याकेट समातेको १३ वर्ष पुग्यो। ८ वर्षकै उमेरमा टेनिसमा भविष्य कोर्ने अठोट लिए।  बल टिप्ने काम सुरुआत गरे।  

सानै उमेर भए पनि टेनिस खेल्ने हुटहुटी थियो। अग्रजले दिएको टेनिस -याकेट समाउँदै बल सर्भिस हाने। ‘पस्र्याङस्थित कोर्टबाटै टेनिस प्रारम्भ भयो।’ खड्का विगत सम्झन्छन्, ‘दाइहरूले खेलेर पुरस्कार थापेको देख्दा आफूलाई पनि भित्रै मनदेखि खेल्न पाए हुन्थ्यो भन्ने थियो।’ टेनिस कोर्ट कास्की जिल्ला टेनिस संघका निर्वतमान अध्यक्ष विनोद कायस्थले निर्माण गरेका थिए। उनले आाफ्नै जग्गामा दुईवटा कोर्ट निर्माण गरेर टेनिसको गतिविधिलाई बिस्तार गरेका थिए। पछि पोखरा रंगशालाभित्र टेनिस कोर्ट निर्माणपछि पस्र्याङ कोर्ट पूर्ण रूपमा बन्द गरिएको थियो।  

‘विनोद कायस्थ सरले नै टेनिसको -याकेट दिएपछि खेल्न थालें,’ पुराना याद उनको मष्तिस्कमा ताजै छ। खड्कालाई टेनिस खेल्न प्रेरित गर्ने मुख्य काम भने हङकङ बस्दै आएका विकास गुरुङले गरे। उनीसँगै विकास थापा, विनोद गुरुङ, युवराज गुरुङले गरेको सहयोगलाई पनि उनले सम्झिन भ्याए। पहिलो पटक यु–१४ मा कांस्य पदक जित्दा उनलाई सबैथोक पाएजस्तो अनुभूति भएको  प्रदीप बताउँछन्। कांस्य पदक जित्दा उनलाई हौसला दिँदै निशान्त गुरुङले नयाँ ¥याकेट उपहार दिँदाको क्षण पनि ताजै छ।  

उनलाई टेनिस सिकाउने काम भने प्रशिक्षक निरज थापाले गरे। पोखरा रंगशालामा उनै थापाले नियमित रूपमा प्रशिक्षण गराउँदै खारिएका खड्का अहिले माल्दिभ्समा प्रशिक्षण गराउन उद्यत छन्। कडा मिहिनेत र प्रशिक्षणले मात्रै उचाइमा पुगिन्छ। खड्का नेपाली शीर्ष वरीयताका खेलाडीसमेत हुन्। नेपाली टेनिसकै इतिहासमा पहिलो पटक टिम इभेन्टमा कांस्य पदक जित्दा खड्काले नेपाली राष्ट्रिय जर्सी लगाएका थिए। काठमाडौंमा भएको खेलमा पाकिस्तानसँग पराजित हँुदै तेस्रो स्थानमा नेपाली टिम खुम्चिन पुग्यो।  

खड्काले कुमार अधिकारीको खेल पोखराको पस्र्याङ कोर्टमा खेलेको देखेका थिए। पस्र्याङ कोर्टमा आयोजित राष्ट्रिय टेनिस प्रतियोगितामा कुमारले जितेन्द्र परियारलाई फाइनलमा पराजित गर्दाको क्षणसँगै उनले पनि टेनिसमा उच्च छवि बनाउने दृढ सङ्कल्प गरे। जुन अहिले कायम राख्दै इतिहास समेत लेखाए। अधिकारीसँगै महेश्वर तिवारी, अनिल साई, प्रणव कायस्थ, अभिषेक बास्तोला अग्रज खेलाडीको समीपमा रहेर टेनिस खेल्ने र सिक्ने अवसर प्राप्त गरे।  

‘सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण पदक जितें’ उनी सम्झन्छन्, ‘त्यो घरेलु कोर्टमा जितेको पहिलो स्वर्ण थियो।’ उनले टिम इभेन्टमा जितेका थिए। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत र टिम इभेन्टमा कांस्य पदक जितेका थिए। दोस्रो र तेस्रो बुटवल ओपन टेनिस प्रतियोगितामा च्याम्पियन बनेका थिए। सिटिजन्स बैंक टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ भने उनी उपविजेतामा चित्त बुझाएका थिए।  

माल्दिभ्समा उनले दैनिक ५ घण्टा प्रशिक्षण गराउँछन्। ‘कोभिड–१९ ले असर गरेको छ। खेलाडीहरूसँगै खेलेर सिकाउँदै छु,’ उनी भन्छन्, ‘११ जना छन्। कोभिड–१९ कै कारण कम छन्।’ मासिक तलब ७ सय डलर छ। सबै खाले खेलाडीलाई प्रशिक्षण गराउँछन्। राष्ट्रियस्तरका खेलाडीलाई कुमार अधिकारीले प्रशिक्षण गराउँछन्। एकवर्षे सम्झौतासँगै खड्का माल्दिभ्सका खेलाडीलाई प्रशिक्षण गराउने मात्रै नभई अधिकारीसँग आफैं पनि प्रशिक्षण गर्न व्यस्त छन्।  

बलब्वाईबाट माथि उठ्दै शीर्ष वरीयतासम्म पुगेर प्रशिक्षणको जिम्मेवारी लिँदै बिदेसिएका उनी टेनिस नै सबैथोक हो भन्छन्। घरमा आमा, भाइ र हजुरआमा छन्। सम्झौताबाहेक प्राइभेट प्रशिक्षणसमेत गराउने उनको सोच छ। ‘दैनिक पाँच घण्टा सिकाउँछु,’ उनी भन्छन्, ‘प्राइभेट क्लासमा खेलाएको छुट्टै पैसा आउँछ।’ फुर्सद हुनेबित्तिकै टेनिस कोर्ट नै रुँगेर -याकेट समातेर बल हान्न हतारिन्थें। त्यसैको प्रतिफल आफूले पाएको उनी सुनाउँछन्।

एकवर्षे सम्झौतासँगै खड्का माल्दिभ्सका खेलाडीलाई प्रशिक्षण गराउने मात्रै नभई अधिकारीसँग आफैं पनि प्रशिक्षण गर्न व्यस्त छन्।

प्रकाशित: २४ कार्तिक २०७७ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App