८ वैशाख २०८१ शनिबार
खेल

सहिद रंगशालामा फ्लड लाइट, मंसिरभित्र जडान हुने

फ्लड लाइट जडान गर्न ल्याइएका सामाग्री। तस्बिर: चुमन/नागरिक

विराटनगरको ऐतिहासिक रंगशालाको स्तरोन्नतिका क्रममा जडान गर्न थालिएको फ्लड लाइटले आगामी मंसिरभित्र पूर्णता पाउने भएको छ।  

०७६चैतभित्र तयार गर्ने गरी प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गत वर्षको असोज १ गते कार्की बन्धु अमर जेभीसँग ठेक्का सम्झौता गरेको थियो। रंगशालामा फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रूपैयाँमा ठेक्का दिएको मन्त्रालयले जनाएको छ।  

असोजमा सम्झौता भए पनि ठेकेदार पक्षले विभिन्न समस्या र प्राविधिक कारण देखाउँदै ०७७ वैशाखभित्र काम सम्पन्न गर्ने गरी मैदानमा फागुनदेखि काम थालेको थियो। तर, ठेगेदार कम्पनीले कोरोना महामारीसँगै भएको लकडाउनको कारण देखाउँदै बीचमा काम रोकेको थियो। सम्झौता भएको सात महिनाभित्र तयार गर्ने भनिए पनि कामले पूर्णता पाउन चौध महिना पर्खनु पर्ने भएको छ।  

फ्लड लाइटका लागि चाहिने सामग्री दशैंको समयमा विराटनगर आइपुगेको निर्माण कम्पनीले बताए पनि त्यसको आवश्यक प्राविधिक आइनपुगेको जनाएको छ।  

शुक्रबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रंगशालामा निर्माणाधिन फ्लड लाइट अवस्था र त्यसका लागि प्रयोग हुने सामग्रीको निरीक्षण गर्दै आगामी मंसिरभित्र लाइट तयार भइसक्ने बताए।  

‘फ्लड लाइट जडानका लागि आवश्यक सामग्री आइसकेकाले मंसिरभित्रमा काम सम्पन्न हुनेछ,’ मन्त्री घिमिरेले भने, ‘निर्माण कम्पनीलाई जसरी भए पनि समय सीमाभित्रै काम सम्पन्न गर्न भनेको छु। आवश्यक सामग्री जुटेको र समय सीमा पनि बढेकाले ढिला नगरी काम सम्पन्न हुनेछ। यो वर्ष परिस्थिति अनुकूल भए खेल हुने आशा गरेको छु।’ ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको हो। लकडाउनले गर्दा भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताए।  

निर्माण कम्पनीका प्रमुख गणेश कार्कीले दुईपटक प्राविधिकरूपमा कार्य सम्पन्न गर्न सकस परेको बताए। उनले हाल थप गरिएको मितिभन्दा अगाडि जडान कार्यले पूर्णता पाउने बताए। ‘भारतको गुजरातमा बनेको लाइट जडानका लागि आवश्यक सामग्री आइपुगे पनि दक्ष प्राविधिक आउन बाँकी रहेको छ,’ कार्कीले भने, ‘सम्भवत मंगलबारबाट लाइटको मास्ट जडान थाल्ने छौं। मैदानको चार कुनामा जडान हुने १ सय ८ फिट अग्लो मास्टमा १ सय ८ वटा बल्ब जडान हुनेछ।’  

एउटा मास्टमा १ हजार वाटका २७ वटा बल्ब लाग्नेछ। मास्ट र अन्य सामग्री आएपनि त्यसमा लाग्ने बल्ब भने भारतीय भन्सारमा रहेको कार्कीले बताए।  

‘कोरोना महामारीका कारण बीचमा काम रोक्नु प¥यो,’ कार्कीले भने, ‘कोरोनाको संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय सीमा सील गरेकाले गर्दा समयमा सामग्री ल्याउन सकेनौं।’

काठमाडौंदेखि बाहिर पहिलो पटक ०७४ चैतमा विराटनगरको सहिद रंगशालामा अस्थायी लाइट जडान गरी रातिको समय ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिता सम्पन्न भएको थियो। त्यस प्रतियोगिता सम्पन्नसँगै विराटनगरमा रात्रिकालीन खेलका लागि लाइट राख्न विभिन्न क्षेत्रले माग गरेको थियो।  

सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काका अनुसार लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक पुस २८ गतेसम्मको समय सीमा दिइएको छ।

प्रकाशित: १५ कार्तिक २०७७ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App