८ वैशाख २०८१ शनिबार
खेल

बायर्नको सुखद सुरुआत

पेरिस – एट्लेटिको मड्रिडमाथि ४–० को जितका साथ साबिक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग उपाधि रक्षा गर्ने लक्ष्यका सुखद सुरुआत गरेको छ। अन्य शीर्ष टोली लिभरपुल र म्यानचेस्टर सिटीले पनि च्याम्पियन्स लिगमा विजयी सुरुआत गर्दा स्पेनिस ला लिगा च्याम्पियन रियाल मड्रिड भने समूहचरणको पहिलो खेलमै स्तब्ध भएको छ।

१३ पटकको युरोपियन च्याम्पियन रियाल घरेलु मैदानमा साख्तर डोनेस्कसँग ३–२ ले निराश भएको हो। दुई महिनाअघि सम्पन्न च्याम्पियन्स लिग फाइनलमा पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध निर्णायक गोल गर्र्दै बायर्नलाई च्याम्पियन बनाएका किङ्सले कोमनले बुधबार समूह ‘ए’ अन्तर्गत एट्लेटिको मड्रिडमाथि टोलीको सहज जितमा दुई गोल गरेका थिए। बायर्नका तर्फबाट लियोन गोरेट्जका र कोरेन्टिन टोलिसोले समान एक गोल गरेका थिए।

‘गत संस्करणको फाइनलमा गरेको गोलले मनोबल थप बढे पनि अहिले त्यो एउटा इतिहास भइसकेको छ र जारी सिजनमा त्यस गोलको केही अर्थ छैन। हामीले ताजा सुरुआत गर्नुपर्छ र आजको गोल त्यही सुरुआत हो,’ कोमनले भने।च्याम्पियन्स लिगमा बायर्नको यो लगातार १२औं जित हो। बायर्नले समूहको दोस्रो खेल लोकोमोटिभ मस्कोसँग खेल्नेछ। समूह ‘ए’ मा बुधबार मस्को र आरबी साल्जबर्गले २–२ को बराबरी खेले। यता साख्तर डोनेक्सविरुद्ध पहिलो हाफमै ३–० ले पछि परेको रियालले दोस्रो हाफमा २ गोलका साथ खेलमा फर्कने प्रयास गरे पनि सफल भएन। समूह ‘बी’ मा टेटे र मानोर सोलोमनको समान एक र रियालका राफाइल भरानको आत्मघाती गोलमा साख्तर पहिलो हाफमै सहज जिततर्फ लम्किएको थियो। दोस्रो हाफमा लुका मोडरिच र भिन्सियस जुनियरको गोलमा रियालले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन।

रियालले च्याम्पियन्स लिगअन्तर्गत घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएका पछिल्ला ७ खेलमा एकमा मात्र जित हात पारेको छ। रियालको पछिल्लो ५ दिनमा यो लगातार दोस्रो हार हो। यसअघि आइतबार जिनेदिन जिदानको टोली स्पेनिस ला लिगामा पनि निराश भएको थियो। रियालले शनिबार यस सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाको सामना गर्र्दै छ। समूह ‘बी’ मा इन्टर मिलान र बोरुसिया डर्टमन्डले २–२ को बराबरी खेले।

‘आज हामी सबै पक्षमा कमजोर देखियौं, तर हामीले हिम्मत हारका भने छैनांै,’ जिदानले भने।यता समूह ‘डी’ मा इङ्लिस प्रिमियर लिग विजेता लिभरपुलले अयाक्सलाई १–० ले हरायो भने समूह ‘सी’ मा म्यानचेस्टर सिटीले एफसी पोर्टोलाई ३–१ ले हरायो।

प्रकाशित: ७ कार्तिक २०७७ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App