coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नौ ताल जोड्ने साईकल ट्र्याक बनाउन अध्ययन

पोखरा महानगरपालिकाले कास्कीका ९ वटै ताललाई जोड्ने गरी साईकल ट्र्याक निर्माणको प्रारम्भिक अध्ययन शुरु गरेको छ। पोखरा महानगरपालिका शहरी योजना आयोग तथा साईकल सिटीको सहयोगमा साईकल ट्र्याक निर्माणको लागि प्रारम्भिक अध्ययन शुरु गरेको हो। अध्ययनलाई युके एड र सुदृढ नामक संस्थाले समेत सहयोगी भूमिका खेलेका छन्।

साईकल सिटी पोखराले प्रारम्भिक अध्ययन गर्दै म्याप बनाउने, भ्यु प्वाईन्ट राख्ने, रेखाकंन गर्ने लगायतका कामहरु गरेको छ। ‘बाराहीघाटबाट शुरु भएको ट्र्याक महानगरकै १६ वटा वडालाई छुन्छ।’ साईकल सिटी पोखराका आजिवन सदस्य चिन्तामणि बास्तोलाले सुनाए–‘बाराहीघाटमै आएर ट्र्याक र रुट टुंग्याइने गरी रेखांकन गरिदै छ।’ साईकल ट्र्याक निर्माण गरेपछि साईकलको यात्रा ताल टु ताल हुने छ। साईकल ट्र्याक निर्माण संघीय, प्रदेश तथा पोखरा महानगरपालिकाले चासो दिएको छ।

शहरी क्षेत्रमै भएको सडकलाई मार्किङ गरेर साईकल ट्र्याकको लागि लेन बनाईने छ। सिटीले साईकल ट्रयाक बनाउन भईरहेको सडकलाई उपयोग गरिने छ। भईरहेको सडकलाई ट्रयाकको लागि रेखांकन गरिने छ। ग्रामीण क्षेत्रमा भने स्तरोन्नति गरिने समेत महानगरपालिका शहरी योजना आयोगले जनाएको छ। शुक्रबारसम्म ४० किलोमिटरको दूरी रेखांकन गर्दै सूचना बोर्डहरु राखिने साईकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले सुनाए। ‘शनिबार बाँकी रुट अध्ययन गरेर टुंग्याउने छौं।’ उनको भनाई थियो। अध्ययनमा सिटीका आजिवन सदस्य बास्तोला, तथा सल्लाहकार निरज थापा समेत संलग्न छन्।  

‘९ वटा ताल जोड्ने ९८ किलोमिटरको साईकल ट्रयाक बन्ने प्रारम्भिक अध्ययनले देखाएको छ’ पोखरा महानगरपालिका शहरी योजना आयोगका प्रमुख रामचन्द्र लामिछानेले भने–‘ट्रयाक भएको ठाँउमा रेखांकन गर्ने र नभएको ठाँउमा नयाँ ट्रयाक बनाइने छ।’ बजार क्षेत्रको सडकलाई रेखांकन गर्दै साईकल लेन बनाइने उनको भनाई थियो। साईकल ट्रयाक निर्माणको लागि अध्ययन गर्न महानगरपालिकाले यसै आर्थिक वर्षको लागि १५ लाख रुपैयाँ छुट्टाएको छ।

साईकल ट्रयाकले रुपा गाउँपालिकालाई समेत छुन्छ। बाराहीघाटबाट शुरु हुने ट्रयाकले महानगरकै काहुडाडाँ हुँदै कन्दनी डाडाँ, जलधारे, सुन्दरीडाडाँ लगायतका उचाईमा पुगिन्छ। फेवाताल–कमलताल(कमलपोखरी),गुँदे, खास्टे, न्युरेनी, मैदी, दिपाङ, बेगनास र रुपा ताललाई छुने छ। त्यसपछि ट्रयाक पोखरा महानगरपालिका–३३ भरतपोखरी हुँदै कृस्ति, निर्मलपोखरी, पुम्दीकोट हुँदै ड्यामसाईडबाट बाराहीघाटमै आएर टुंगिने छ।

नौ वटा ताल जोड्ने साईकल ट्रयाकसँगै पोखरा आसपासका ठाउँहरुमा समेत साईकल ट्रयाक बनाउनुपर्ने खाँचो छ। पोखरा सराङकोट–कास्कीकोट, नागडाडा हुँदै पन्चासेसम्म साईकल ट्रयाक छ। पोखराकै खहरेचोकदेखि पामे हुँदै घाटी छिना–पन्चासेसम्म पनि साईकल ट्रयाक बनाउन सकिने साईक्लिङ संघले जनाएको छ। ‘कहाँ कहाँ साईकल ट्रयाक बनाउन सकिन्छ त्यो महानगरपालिकाले अध्ययन गर्नुपर्छ’ साईक्लिङ संघका निवर्तमान अध्यक्ष दिलिपराज श्रेष्ठले भने–‘महानगरपालिकाले आफैंले योजना बनाई म्यापिङ गरी बनाउने तर्फ ध्यान दिनुपर्छ।’  

उनका अनुसार साईकल ट्रयाक सबै तालमा बनाउन जरुरी छ। ‘पोखराकै नौ वटै तालको वरिपरी साईकल ट्रयाक बनाउनुपर्छ’ उनले भने–‘एकातिर तालको संरक्षण हुने छ अर्कोतिर पर्यटन प्रवद्र्धनमा नयाँ आयाम बन्ने छ।’ भईरहेको ट्रयाकलाई व्यवस्थित र नभएको ठाँउमा नयाँ ट्रयाक बनाउनुपर्नेमा उनको जोड थियो। साईक्लिङ साहसिक खेल हो। गण्डकी प्रदेश नै साहसिक खेलको उर्वरभूमी भएको उल्लेख गर्दै साईक्लिङ संघका निवर्तमान अध्यक्ष श्रेष्ठले थपे–‘महानगर, गण्डकी प्रदेशले नै अपनत्व लिनुपर्छ। साईक्लिङ प्रतियोगिता आयोजना गरेर प्रभावकारी बनाउन जरुरी देखिन्छ।’

प्रकाशित: ३० आश्विन २०७७ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App