७ वैशाख २०८१ शुक्रबार
खेल

बने डिपिआर, बनेनन् पूर्वाधार

स्पोर्ट्स हब बनाउने लक्ष्य

पोखरामा खेलकुदको पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भए पनि कार्यान्वयनमा आउन सकेका छैनन्। पोखरा महानगरपालिकाले पनि डिपिआर बनाएको खेलकुद पूर्वाधारको काम अघि बढाउन सकेको छैन। डिपिआर बनेर आउँदा देखिने उत्साह कर्यान्वयनमा हुने ढिलाइले भने खेलकर्मीलाई निराश बनाएको छ।  

पोखरा रंगशालास्थित क्रिकेट मैदानको डिपिआर बनेको दुई वर्ष भयो। दुई वर्षको अवधिमा सरकारले डिपिआरअन्तर्गत कुनै पनि विकासको काम भने गरेको छैन। रंगशाला क्रिकेट मैदानका लागि १ अर्ब ८५ करोडको डिपिआर तयार भएको छ। डिपिआर निर्माण भएसँगै राष्ट्रिय खेलकुद परिषद्ले गत वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। विनियोजित रकम कोभिड–१९ को रफ्तारसँगै स्थगित हुन पुग्यो। तीन पटक म्याद थपेर टेन्डर आह्वान गरिए पनि अन्ततः बैंक ग्यारेन्टी र तत्कालीन समयमा परिषद्को सदस्यविहीनताले टेन्डर आह्वान बीचैमा रोकिएको थियो।  

‘तीन करोड रुपैयाँले क्रिकेट मैदानको मुहार फेर्ने सपना थियो। तर सपना साकार हुनै सकेन।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने,‘डिपिआर बनेपछि क्रिकेटका लागि यति धेरै बजेट छुट्टिएको थियो। टेन्डर आह्वान भई काम हुने अपेक्षामा थियौं तर भएन।’ १ अर्ब ८५ करोडको डिपिआरमा मैदानको स्तरोन्नतिसँगै छानासहितको पवेलियन, लाइट, ड्रेनेज, ल्यान्डस्केप, टिकट काउन्टरलगायतका पूर्वाधार निर्माण गरिने उल्लेख छ।  

पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ। त्यसका लागि स्विमिङ पुल र सुटिङ रेन्ज निर्माण अनिवार्य छ। डिपिआर तयार भए पनि टेन्डर आह्वानमार्फत कार्यान्वयनमा लैजान भने ढिलाइ हुँदै गएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशालाभित्रै स्विमिङ पुल र सुटिङ रेन्ज बनाउन समेत डिपिआर बनाइसकेको छ। बनाइएको डिपिआरअनुसार स्विमिङ पुलका लागि २० करोड रुपैयाँको लागत उल्लेख छ। सुटिङ रेन्जका लागि १३ करोड रुपैयाँ अनुमान गरिएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार  २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको स्विमिङ पुल बन्नेछ। ‘हिटिङ स्विमिङ पुल बनाउने डिपिआर बनेको छ,’ उनको भनाइ थियो। डिपिआर गत आर्थिक वर्षमा बनाइएको हो। पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हँुदै छ। त्यसका लागि स्विमिङ पुल र सुटिङ रेन्ज निर्माण अनिवार्य छ। डिपिआर तयार भए पनि टेन्डर आह्वानमार्फत कार्यान्वयनमा लैजान भने ढिलाइ हँुदै गएको छ।  

सुटिङ रेन्जका लागि इक्युपमेन्टसहितको हल बन्नेछ। डिपिआरमा उल्लेख भएअनुसार सुटिङ रेन्ज इलेक्ट्रोमेकानिकल इक्युपमेन्टसहितको बन्नेछ। त्यसका लागि पोखरा रंगशालाभित्र र्आचरी मैदानभन्दा पश्चिततर्फ जग्गा छुट्ट्याइसकिएको छ। गण्डकी प्रदेश सरकारले पनि पोखरालाई स्पोर्ट्स हब बनाउने उद्देश्यसहित १ अर्ब ६४ करोडको प्रदेश अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने योजना बनाउँदै डिपिआर बनाइसकेको छ। डिपिआरलाई कार्यान्वयन गर्ने योजनासहित प्रदेश सरकारले यो आर्थिक वर्षमा २ करोड रुपैयाँ क्रिकेट मैदानको लागि छुट्ट्याइसकेको छ।  

पोखरा महानगरपालिकाले पनि सहरी क्षेत्रको सबैभन्दा उचाइमा फुटबल मैदान बनाउन पोखरा–२० मौजामा निर्माण गर्ने योजनासहित १६ करोड रुपैयाँ लागत अनुमानसहितको डिपिआर बनाइसकेको छ।। महानगरपालिका वडा नं २० मौजास्थित १७ सय मिटर उचाइमा फुटबल मैदानसहित खेलकुदका अन्य पूर्वाधार तयार पार्न डिपिआर तयार गरिएको हो। महानगरपालिकाले यो आर्थिक वर्षमा मौजाको अल्टिच्युड फुटबल मैदानका लागि १ करोड रुपैयाँ छुट्ट्याएको छ। ५६ रोपनीमा फुटबल मैदानहसहित, बास्केटबल र भलिबल कोर्ट बनाइने पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले बताए। उनका अनुसार डिपिआर बने पनि कार्यान्वयनमा लैजान टेन्डर आह्वान हुन सकेको छैन। 

प्रकाशित: २९ आश्विन २०७७ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App