११ कार्तिक २०७७ मंगलबार
खेल

साग स्वर्णविजेता पार्वतीलाई सफलता

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णविजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छन्।

कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको महिला १८–३१ वर्ष उमेरसमूहमा नेपाल प्रहरीकी पार्वतीले सर्वाधिक ७.४० अंकका साथ स्वर्ण जितेकी हुन्। स्युचाटारकी सन्जिला तिम्सिना दोस्रो तथा भोटेपुलकी स्वस्तिका तामाङ र चन्द्रमाकी सुशीला राईले तेस्रो स्थानमा सीमित भए।  

पार्वतीसहित शीर्ष तीनै १३औं सागका स्वर्ण विजेता हुन्। सोही स्पर्धाको पुरुषमा मूलपानीका पुष्पप्रसाद गौतम पहिलो हुँदा ६.१० अंक जोडे। बागलुङका युकेश थापामगर ६.०३ अंकका साथ दोस्रो हुँदा सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङका विवेक राई र चितवनका मोहम्मद उमर खान तेस्रो बने।कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको १८ वर्ष पुरुषमा १३औं सागका कांस्यधारी अस्मिन राउतले पहिलो स्थान हात पारे। 

मकवानपुरका कृष्णबहादुर बमजन दोस्रो भए भने चितवनका अब्बास खान र मूलपानीका विवेक श्रेष्ठ तेस्रो भए। त्यसै स्पर्धाको महिलामा स्युचाटारकी मोनिका रम्तेलले शीर्ष स्थान कब्जा गर्दा चितवनकी जैनथ खातुन दोस्रो भइन्। सैनिक आवासीय महाविद्यालयका रोशनी श्रेष्ठ र रिता श्रेष्ठ तेस्रो भए। पुरुष ३१–४० वर्षमा बुटवलका सुरज श्रेष्ठ पहिलो हुँदा बुटवलकै मदन थापामगर दोस्रो भए। सिन्धुपाल्चोकको हीराहरि तेक्वान्दो डोजाङका रमेश गुरुङ र यान्सुक तेक्वान्दो डोजाङका दुर्गामान तामाङ तेस्रो बने।

प्रतियोगितामा आयोजक मूलपानी तेक्वान्दो डोजाङ समग्रमा टिम च्याम्पियन बन्यो। ११ स्पर्धा समावेश दुईदिने प्रतियोगितामा मूलपानीले समान ४÷४ स्वर्ण, रजत र तीन कांस्य जित्यो। स्युचाटार तीन स्वर्ण र एक रजतसाथ दोस्रो भयो। तेस्रो स्थानको बुटवलले एक स्वर्ण, एक रजत र दुई कांस्य हात पा¥यो। बाँकी १–१ स्वर्ण नेपाल प्रहरी र कोटेश्वरले आफ्नो पोल्टामा पारे। प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

सहभागीमध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्डसहित नगद ५ हजार रूपैयाँबाट पुरस्कृत गरिनेछ। खेलाडीको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियो युट्युबमा राखिनेछ भने सर्वाधिक हेरिएको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को पुरस्कार प्रदान गरिनेछ। यसको नतिजा भने अक्टोबर २० तारिखमा सर्वाजनिक गरिनेछ।

प्रकाशित: २८ आश्विन २०७७ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App