coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टेनिस भवन अलपत्र

गलत ठाउँमा बनाइयो: संघ

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशालाभित्र टेनिसको पूर्वाधार बनाउन दुई करोड ५७ लाख रूपैयाँ खर्च ग-यो । भवन, हार्ड कोर्ट र क्ले कोर्ट बनाउन परिषद्ले त्यति रकम खर्च गरेको हो । पूर्वाधार बनाउन परिषद्ले जिल्ला संघसँग समन्वय नै नगरी टेन्डर आह्वान गरी ठेकेदार कम्पनीलाई जिम्मा लगाएको थियो । ठेकेदार कम्पनी आर एन्ड सी बिल्डर्सले परिषद्ले दिएको नक्साअनुसार धमाधम पूर्वाधार तयार पा-यो । भवन, हार्ड कोर्ट र क्ले कोर्ट बनाई तारजाली लगाइदियो ।

तर, भवन प्रयोगविहीन छ भने क्ले कोर्ट पानी जमेर लेउयुक्त छ । संरक्षण र संवद्र्धनको जिम्मेवारी र दायित्व परिषद्ले न त खेलकुद निकायलाई दिएको छ न टेनिस संघलाई नै । पूर्वाधार थपिनु राम्रो हो । तर गलत ठाउँमा बनाइएकोले प्रयोगविहीन बनेको ठम्याई टेनिस संघ कास्कीको छ । समन्वय गरेर बनाइएको भए उपयुक्त ठाउँमा बनाइन्थ्यो । नयाँ भवन बनाउन टेनिस संघसँग प्रारम्भिक छलफल नै भएन । छलफल नभई परिषद्ले हचुवाका भरमा भवन बनाएको टेनिसमा आबद्धहरू बताउँछन् । ‘टेनिसको पूर्वाधार बनाउँदा संघसँग समन्वय नै नगरी बनाइयो,’ कास्की जिल्ला टेनिस संघका कोषाध्यक्ष लोकबहादुर गुरुङले भने, ‘समन्वय गरेको भए बनाइएको भवन अहिले अलपत्र पर्ने थिएन ।’  

नयाँ बनाइएको भवन ६ वटा कोर्टभन्दा दक्षिणमा छ । संघको आफ्नै अफिसियल भवन छ । यसले गर्दा नयाँ बनाइएको भवन संघले उपयोग गरिसकेको छैन । भवन उपयोग गर्नुअघि नै मर्मतसम्भार गर्नुपर्ने देखिएको छ ।  

भवनमा चेन्जिङ रुम, शौचालय, फिडब्याक रुम र प्यारापिट बनाइएको छ । संघले प्यारापिटसहितको चेन्जिङ रुम कोर्टहरूको पूर्वतर्फ बनाउन उपयुक्त थियो । गुरुङका अनुसार पूर्वतर्फ प्यारापिटसहित चेन्जिङ रुम र शौचालय बनाउन सकिन्थ्यो । भवनसँगै हार्ड कोर्ट र क्ले कोर्ट पनि बनाइएको छ । क्ले कोर्टमा पानी जमेर लेउ पलाएको छ । हार्ड कोर्ट मात्रै उपयोग हुँदै आएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पनि टेनिसको पूर्वाधार बनिसकेको विषयमा यकिन जानकारी परिषद्बाट नआएको बताएको छ । संरक्षण र संवद्र्धन एवं उपयोगका लागि निर्देशन नहँुदा भवन कात्तिकयता अलपत्रै छ । 

प्रकाशित: २३ आश्विन २०७७ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App