८ वैशाख २०८१ शनिबार
खेल

चार खेलाडीलाई उपचार खर्च

चार खेलका राष्ट्रिय खेलाडी र राष्ट्रिय पूर्वखेलाडीलाई आइतबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ।  राष्ट्रिय खेलाडी कल्याणकारी कोषले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित एक कार्यक्रमबीच एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार खेलाडीलाई कुल ४ लाख रुपैयाँ उपचार खर्च प्रदान गरेको हो। एथलेटिक्सका राष्ट्रिय पूर्वखेलाडी रविनकुमार राईको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको थियो। राईको गत साउन १९ मा क्यान्सरबाट निधन भएको थियो। उनकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई उक्त रकम हस्तान्तरण गरिएको थियो। स्वर्गीय राईकै आठ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन्। सो रोगबाट उनको दुवै आँखाको ज्योतिन गुमेको छ।

त्यस्तै बास्केटबलकी सविता खड्कालाई एक लाख २५ हजार, जुडोका पूर्वखेलाडी पृथ्वी आलोकलाई एक लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको थियो। तीनैको घुँडामा समस्या छ। मनीषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझेका छन्। राखेपका सदस्यसचिव एवम् कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरूलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे। सो अवसरमा राखेपका सदस्य सुभास श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतको उपस्थिति थियो।

कल्याणकारी कोष २०६८ सालमा समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठले जनाएका छन्। कोषमा जम्मा गरिएको रकमको ब्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिँदै आएको छ। २०७२ सालको महाभूकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेलपत्रकार गरी १२ परिवारलाई समान १–१ का दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो। भूकम्पकै कारण अन्य क्षति बेहोरोका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग दिइएको थियो। त्यसबाहेक समस्यामा परेका खेलाडीलाई पनि विभिन्न समयमा कोषले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १९ आश्विन २०७७ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App