८ वैशाख २०८१ शनिबार
खेल

चेल्सीको निराशा यथावत्

(एजेन्सी)– स्टाम्फोर्ड ब्रिजमा फ्रांक लाम्पार्डको डेब्यु सिजन सन्तोषजनक रह्यो। क्लब सम्हालेको पहिलो सिजनै लाम्पार्डले टोलीलाई इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा राख्दै अर्को सिजनको च्याम्पियन्स लिगको टिकट पक्का गर्नुका साथै टोलीलाई एफए कपको फाइनलसम्म डो¥याए, जहाँ चेल्सी आर्सनलसँग निराश भएको थियो।

तर यस सिजन त्यो तालिका बदलिएको छ। नयाँ सिजन खेलाडी भिœयाउन २ सय मिलियन पाउन्ड खर्चिएको चेल्सीले प्रिमियर लिगका साथै अन्य प्रतियोगितामा आफूलाई उपाधि दाबेदारको रूपमा प्रस्तुत गर्ने संकेत गरेको थियो। तर ब्राइटनविरुद्ध जितका साथ सिजनको सरुआत गरेको चेल्सीले त्यसपछि प्रिमियर लिगमा २ खेलमा सुखद नतिजा ल्याउन सकेन। लिभरपुलसँग घरेलु मैदानमा निराश चेल्सी तेस्रो खेलमा वेस्ट ब्रोमसँग बराबरीमा रोकिएको थियो। चेल्सीको निराशाजनक नतिजाले इङ्लिस लिग कपमा समेत निरन्तरता पाएको छ।  

मासोन माउन्ट अन्तिम पेनाल्टीमा गोल गर्न चुक्दा चेल्सी टोटेनह्यामसँग निराश हँुदै इङ्लिस लिग कपको अन्तिम १६ बाटै बाहिरिएको छ। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो। माउन्टभन्दा अघि दुवै टोलीका गरी ९ खेलाडीका पेनाल्टी प्रहार गोलमा परिणत भएका थिए। चेल्सीका तर्फबाट माउन्टले गरेको पाँचांै पेनाल्टी प्रहार बाहिरिएको थियो।

पहिलो हाफमा दबाब बनाएको चेल्सीले टिमो वेर्नेरको गोलबाट अग्रता लिएको थियो। तर खेल सकिन अन्तिम ७ मिनेट बाँकी रहदा इरिक लामेलाले गोल गर्दा टोटेनह्याम खेलमा फर्किएको थियो। निर्धारित समयको खेल १–१ को बराबरीमा रोकिएपछि सीधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जहाँ माउन्ट मात्र पेनाल्टी सदुपयोग गर्न असफल भए।

गोलकिपरको समस्या झेलिरहेका लाम्पार्डले रेनिसबाट भित्रिएका गोलकिपर मेन्डीलाई पनि टोटेनह्यामविरुद्धको खेलबाट डेब्यु गराएका थिए। मेन्डीले लामेला र रेग्युलोनको प्रहार विफल पारेका थिए। ‘पहिलो हाफमा हामीले खेल नियन्त्रणमा लिएका थियांै,’ लाम्पार्डले भने, ‘मैले बारम्बार एउटै कुरा भन्दै आएको छु। हाम्रो टोली नराम्रो छैन। टोलीले लय समाउन मात्र नसकेको हो। पहिलो हाफमा गरेको प्रदर्शनले हाम्रो टोली कस्तो छ भन्ने झल्को दिन्छ। सोही प्रदर्शनले निर्धारित ९० मिनेट नै निरन्तरता पाउन आवश्यक छ।’

यता टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले भने खेलघि नै आफूहरूले विभिन्न प्रतियोगिता गरी ८ दिनको अन्तरमा लगातार ४ खेल खेल्न पर्ने भएकाले युरोपा लिगलाई प्राथमिकतामा राखेको बताएका थिए।

आइतबार प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको टोटेनह्यामले मंगलबार लिग कपमा चेल्सीको सामना गरेको हो। टोलीले बिहीबार युरोपा लिगमा माकाबी हैफा र आइतबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ। माउरिन्होले आफ्नो पूर्वक्लबविरुद्ध टोलीले गरेको प्रदर्शनले खुसी  भएको बताए।

प्रकाशित: १५ आश्विन २०७७ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App