१६ चैत्र २०८० शुक्रबार
खेल

सेरेना बाहिरिन्

सर्वाधिक २४औं ग्रान्ड स्लामको कीर्तिमानी बराबरी गर्ने योजनामा रहेकी अमेरिकी स्टार सेरेना विलियम्स चोटका कारण बुधबार फ्रेन्च ओपनबाट बाहिरिएकी छन्।  

सन् १९९८ देखि टेनिसको टुर गर्न थालेकी सेरेना ३९ वर्ष भइसकेकी छिन्, तर पनि उनका पिता रिचार्ड विलियम्स अभैm पनि सेरेनाले विश्व टेनिसको राम्रो प्रतिद्वन्द्वी हुने विश्वास व्यक्त गरेका छन्। सन् २०१७ मा गर्भवती रहँदा अस्ट्रेलियन जित्दै करियरको २३औं ग्रान्ड स्लाम उचालेकी सेरेना त्यसयता थप ग्रान्ड स्लाम जित्न असफल हुँदै आएकी छन्। एक ग्रान्ड स्लाम जित्दै मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक २४औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्य बनाएकी सेरेना चोटका कारण फ्रेन्च ओपनबाट पनि बाहिरिएकी छन्। कुर्कुच्चामा चोट लागेपछि उनी फ्रेन्च ओपन सुरु भएको चौथो दिन  बाहिरिएकी हुन्।

‘अझ पनि म राम्रै खेल्न सक्नेछु, केही राम्रो कुराको नजिक छु। त्यो मेरो मस्तिष्कमा छ,’ सेरेनाले भनिन्। फ्रेन्च ओपनबाट बाहिरिएसँगै सन् २००६ पछि सेरेना यस वर्ष कुनै पनि ग्रान्ड स्लामको फाइनलमा पुग्न असफल भइन्। छोरी ओलम्पियाको जन्मपछि सन् २०१८ को विम्बल्डन र सन् २०१९ को युएस ओपन फाइनलमा पुगेकी सेरेना दुवैमा उपाधि उचाल्न असफल भएकी थिइन्। यस वर्षको सुरुआतमा भएको अस्ट्रेलियन ओपनमा पनि चीनकी खेलाडी वाङ कियाङसँग पराजित हुँदै तेस्रो चरणबाटै बाहिरिएकी थिइन्। उनी सात पटक च्याम्पियन बनेको विम्बल्डन पनि कोरोनाका कारण यस वर्ष रद्द भएको थियो।

सेरेनाले विश्व उत्कृष्ट ६ खेलाडी सहभागी नभएको यस वर्षको युएस ओपनको सेमिफाइनलसम्मको यात्रा तय गरे पनि त्यसलाई सदुपयोग गर्न सकिनन्। फ्रेन्च ओपनबाट पनि बाहिरिएपछि यस वर्ष कीर्तिमानी ग्रान्ड स्लाम बराबरी गर्ने सेरेनाको लक्ष्य पूरा नहुने भएको छ।

प्रकाशित: १५ आश्विन २०७७ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App