८ वैशाख २०८१ शनिबार
खेल

प्रशिक्षणका लागि रंगशाला खुल्ने प्रतीक्षामा खेलाडी

पोखरा रंगशालाभित्र हक्कीको प्रशिक्षण गर्न सरसफाई गर्दै खेलाडीहरु । तस्बिर फाईल : नागरिक

कोरोनाको सन्त्रासले छोएको पनि ७ महिना बित्यो। खेलकुद सुरु हुन सकेको छैन। सबै क्षेत्र खुल्दै गएपनि खेलकुदप्रति ध्यान सरकारले दिएको छैन। सात महिनामासम्म खेलाडी पूर्ण रुपमै घरमै बस्नुपरेको छ।  

खेलाडीको लागि फिजिकिल फिटनेस अनिवार्य हुन्छ। तर फिटनेसको लागि रंगशाला भित्र प्रवेश गर्न पाइएको छैन। राष्ट्रिय खेलकुद परिषदले खेलकुद खुलाउन विषयमा कुनै निर्णय गरेको छैन। आधिकारिक सूचना नहुँदा जिल्ला खेलकुद विकास समिति कास्कीले रंगशाला प्रवेशद्वार खुलाउन सकेको छैन।  

‘खेलकुद बन्द छ। प्रशिक्षण गर्न पाएका छैनौं’ गण्डकी प्रदेश हक्की टोलीकी सदस्य मनिता रानामगरले भनिन्–‘फिटनेस मात्रै गर्दै आएका छौं।’ उनका अनुसार फिटनेसको लागि अमरसिंह चौरमा गएर फिटनेस टे«निङ गर्दै आइएको छ। समूहमा प्रशिक्षण तथा फिटनेस सम्भव समेत छैन। समूहमा खेल्न र प्रशिक्षण गर्न सरकारले नै प्रतिबन्ध लगाएको छ। यसले गर्दा थोरै साथीहरुसँग फिटनेस गर्दै आएको उनी सुनाउँछिन्। हक्कीको लागि छुट्टै मैदान छैन। रंगशालाभित्र प्रशिक्षणस्थल नभएपनि सानो क्षेत्रमा जेनतेन प्रशिक्षण गर्दै आएका छन्। त्यही प्रशिक्षणबाटै पोखरामै आयोजित राष्ट्रिय महिला हक्की प्रतियोगितामा सहभागिता जनाएका थिए।  

रंगशालाकै नखुलाउँदा केही खेलका खेलाडी भने व्यक्तिगत रुपमा प्रशिक्षण गर्दै आएका छन्। प्रशिक्षण केवल फिटनेसको लागि मात्रै गर्दै आएका छ। ‘समूहमा प्रशिक्षण हुदैन। केवल फिटनेसको लागि आफैं प्रशिक्षण गर्नुपर्छ’ क्योकुशिन कान कराँतेका प्रशिक्षक सुवास खड्काले भने–‘खेलकुद पूर्ण रुपमा नखुलाउँदा प्रशिक्षण गर्न र गराउन पाइएको छैन।’ रंगशाला भन्दा बाहिर रहेर गरिएको फिटनेस उल्लेख्य नहुने उनको भनाई थियो। मार्शल आटर्सको प्रशिक्षण समूह गर्नुपर्ने हुदाँ समस्या भएको उनले सुनाए।  

समूहमा खेलिने खेल सबैजसो ठप्पै छन्। कोभिड–१९ कै कारण शारीरिक सुगठनका प्रतियोगिता समेत रोकिन पुगे। मिष्टर पोखरा आयोजना गर्ने वार्षिक योजना कोभिडले निमिट्यान्न बनायो। ‘तत्कालै जिमहल खुलेपनि प्रतियोगिता गर्ने सम्भावना तत्कालै देखिदैन’ कास्की बडिविल्डिङ  एण्ड फिटनेस एशोसियसनका अध्यक्ष राजुकुमार थापाले भने–‘कम्तीमा पनि चार÷पाँच महिनाको समय लाग्छ। यो वर्ष प्रतियोगिताको सम्भावना कमै छ।’  

कास्की जिल्ला खेलकुद विकास समितिले पनि राखेपबाट आधिकारिक सूचना नहुदाँ रंगशाला सबैको लागि खुलाउन नसकिएको जनाएको छ। ‘परिषदबाट रंगशाला खुलाउने विषयमा आधिकारिक सूचना आएको छैन–जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘एकाध खेलाडी रंगशालाभित्र प्रवेश गरेर प्रशिक्षण गर्नुभएको होला तथा आधिकारिक रुपमा सूचना छैन।’ उनका अनुसार रंगशाला भित्र प्रशिक्षण भएको छैन।

प्रकाशित: १३ आश्विन २०७७ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App