coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रोहित शर्मा भन्छन्, पोन्टिङको कला सिकें

(एएफपी)– इन्डियन प्रिमियर लिग (आइपिएल) मा सबैभन्दा सफल कप्तानमध्ये एक मुम्बई इन्डियन्सका रोहित शर्माले सहकर्मीलाई कसरी प्रयोग गर्ने र बलियो बनाउने भन्ने कला अस्ट्रेलियाका महान् क्रिकेटर रिकी पोन्टिङबाट सिकेको बताएका छन्।  

सन् २०१३ को सिजनमा पोन्टिङको उत्तराधिकारी नियुक्त भएपछि भारतीय ओपनर रोहितले मुम्बईलाई चार आइपिएल उपाधि दिलाएका छन्। ‘मैले प्रतिस्पर्धाका लागि १० खेलाडी मात्र उतार्ने हो। अन्य खेलाडी बेन्चमै सीमित हुन्छन् र उनीहरूसँग पनि दैनिक कुराकानी गर्छु। बेन्चमा भएकालाई पनि आफू महत्वपूर्ण खेलाडी भएको अनुभूति गर्ने वातावरण सिर्जना गराउने प्रयास गर्छु,’ विराट कोहलीको अनुपस्थितिमा भारतीय टोलीका कप्तानसमेत रहेका रोहितले भने, ‘ती सबै पक्ष रिकी पोन्टिङबाटै सिकेको हुँ।’ पोन्टिङ हाल दिल्ली क्यापिटल्सका प्रशिक्षक छन्।  

छैटौं संस्करणको मध्यसिजनमा पोन्टिङले मुम्बईको कप्तानी छाडेपछि रोहितले जिम्मेवारी पाएका थिए। रोहितको कप्तानीमा मुम्बईलाई पहिलो उपाधि दिलाउन पोन्टिङले नै महत्वपूर्ण योगदान दिएका थिए। ३३ वर्षे रोहितले ओपनिङ ब्याटिङमा राम्रो रन बटुल्दा मुम्बईले सन् २०१५, २०१७ र सन् २०१९ को आइपिएल उपाधि जितेको थियो। गत वर्ष मुम्बई तीन पटकको च्याम्पियन चेन्नई सुपर किङ्सलाई हराउँदै आइपिएलमा सर्वाधिक सफल फ्रेन्चाइज टोली बनेको थियो। २ सय २४ एकदिवसीय, ३२ टेस्ट र अन्तर्राष्ट्रिय १ सय ८ ट्वान्टी–२० खेलेका रोहितले युवा स्टारलाई स्वतन्त्र प्रदर्शन गर्ने अवसर दिँदा मुम्बईले सफलता प्राप्त गरेको थियो।  

मोर्गानद्वारा गिलको प्रशंसा

इङ्ल्यान्डका इयान मोर्गानले आफ्नो टोली कोलकाता नाइट राइडर्सले शनिबार इन्डियन प्रिमियर लिगमा जित निकाल्दा महत्वपूर्ण योगदान दिएका युवा ब्याट्सम्यान शुुबमन गिलको प्रशंसा गरेका छन्। गिल र मोर्गानले चौथो विकेटका लागि ९२ रनको साझेदारी गरेपछि कोलकाताले सनराइजर्स हैदराबादले प्रस्तुत गरेको १ सय ४३ रनको मध्यम लक्ष्य दुई ओभर बाँकी छँदा पूरा गर्दै ७ विकेटको जित निकालेको थियो।  

गिलले ६२ बलमा सर्वाधिक ७० रनको योगदान गर्दा मोर्गानले २९ बलमा ४२ रनको अविजित इनिङ खेलेका थिए। मोर्गानले चौका प्रहार गर्दै कोलकातालाई यस सिजनको दुई खेलमा पहिलो सफलता दिलाएका थिए। डेविड वार्नरको टोली हैदराबादले मध्यम लक्ष्य प्रस्तुत गरे पनि कोलकाताले त्यति राम्रो सुरुआत गर्न सकेको थिएन। तर, युवा ओपनर गिलले एक छेउबाट इनिङ सम्हाल्दै कोलकातालाई सिजनको पहिलो सफलता दिलाउन महत्वपूर्ण योगदान दिएका थिए। २१ वर्षे गिल खेलका म्यान अफ दी म्याचसमेत घोषित भएका थिए।  

‘उनले (गिल) महान् नै खेलेचाहिँ भन्दिनँ, तर उनको खेल हेर्दा निकै आनन्द आउने किसिमको थियो,’ इङ्ल्यान्डको सीमित ओभरका कप्तान मोर्गानले भने, ‘ब्याटिङको स्विङ राम्रो, निकै शान्त शैली र हेर्दा सानदार नै थियो। उनी राम्रा युवा खेलाडी हुन्। उनी सिक्नका लागि भोका छन् र उनीसँगै फेरि एकपटक ब्याटिङ गर्न आतुर छु।’ कोलकाताका सबैभन्दा महँगा बलर प्याट कमिन्सले सुधारिएको बलिङ गर्दा चार ओभरमा एक विकेट निकाल्दै १९ रन मात्र खर्चिए। उनकै किफायती बलिङप्रेरित कोलकाताले हैदराबादलाई १ सय ४२ रनमा रोक्न सफल भएको थियो।

सन् २०२० को सिजनकै सबैभन्दा महँगा विदेशी खेलाडी (२.१७ मिलियन डलर) कोलकाताका कमिन्स मुम्बईविरुद्ध भने सबैभन्दा महँगा बलर साबित भएका थिए।  हैदराबादविरुद्ध भने कमिन्सले किफायती बलिङका साथै विकेट पनि लिए। उनले जोनी बेयस्र्टाेलाई ५ रनमा पवेलियन फर्काउँदै हैदराबादलाई पहिलो झड्का दिए। पावर प्लेभित्र नै कमिन्सले तीन ओभर बलिङ फ्याँक्दा हेैदराबाद ४.७५ रनरेटमा ब्याटिङ गर्न बाध्य भएको थियो। ‘प्याट कमिन्सले टेस्ट म्याचजस्तै लाइन र लेन्थमा बलिङ गरे,’ वार्नरले प्रस्ट्याएका थिए। सन् २०१६ को च्याम्पियन हैदराबादका लागि वार्नरले ३६ रन बनाउँदा मनीष पाण्डेले सर्वाधिक ५१ रन बनाएका थिए।

प्रकाशित: १२ आश्विन २०७७ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App