८ वैशाख २०८१ शनिबार
खेल

चेल्सीको रक्षापंक्तिमा अझै समस्या

(एएफपी)– टमी अब्राहमले अन्तिम मिनेटमा गरेको गोलमा वेस्ट ब्रोमसँग हारको संकट टारेको चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले खेलाडीले त्यस खेलबाट ठूलो पाठ सिक्नुपर्ने बताए।  

सिजनको पहिलो खेलमा ब्राइटनमाथि जितका साथ सुखद सुरुआत गरेको चेल्सी दोस्रो खेलमा लिगविजेता लिभरपुलसँग पराजित भएको थियो। वेस्ट ब्रोमसँग पहिलो हाफमा ३–० ले पछि परेको चेल्सीले दोस्रो हाफमा गरेको पुनरागमनमा खेल ३–३ को बराबरीमा टुंग्याउँदै लिगमा लगातार दोस्रो हारको संकट टारेको हो ।

वेस्ट ब्रोमले पहिलो हाफमा कालुम रोबिनसनको दुई तथा काइले बार्टलीको एक गोलमा ३–० को अग्रता लिएको थियो। चेल्सीबाट डेब्यु गरेका कप्तान थियागो सिल्भाका लागि डेब्यु खेल सुखद बन्न सकेन। सिल्भाले रक्षापंक्तिमा गरेको गम्भीर गल्तीमा रबिन्सनले वेस्ट ब्रोमका लागि दोस्रो गोल गरेका थिए। तर मासन माउन्टले दोस्रो हाफको सुरुआतलगत्तै चेल्सीका लागि पहिलो गोल गरेका थिए भने कालुम हडसन–ओडियोले टोलीलाई ३–२ को अवस्थामा पु¥याएका थिए। अब्राहमले अन्तिम मिनेटमा गरेको गोलमा चेल्सी एक अंक खोस्न सफल भएको थियो।  

लिभरपुललाई नतिजा सुम्पिएको चेल्सी वेस्ट ब्रोमविरुद्ध जित हात पार्दै विजयको लयमा फर्कन चाहन्थ्यो। चेल्सीको अग्रपंत्तिमा रहेको समस्या समाधान भएको संकेत गरे पनि रक्षापंक्तिमा भने अझै सुधार आवश्यक रहेको लाम्पार्डले स्विकारे।

‘आज हामीले खेलमा गरेको गल्तीलाई लुकाउनु हुँदैन। यी गल्तीले टोलीले अझै सुधार गर्नुपर्ने प्रमाणित गरेको छ,’ लाम्पार्डले भने, ‘प्रश्न के पनि रहन्छ भने दोस्रो हाफको जस्तो खेल हामीले पहिलो हाफमा किन देखाउन सकेनौं त ? हामीले स्वाभाविक लय गुमाएकै हौं। आफ्नै गल्तीमा २ अंक गुमाउन पुग्यौं। टोलीमा जितको मानसिकता देखिएन। आजको खेलबाट हामीले ठूलो पाठ सिक्नुपर्छ।’

ब्राइटन र लिभरपुलविरुद्धको खेलमा गल्ती गरेको भन्दै लाम्पार्डले नियमित गोलकिपर किपा अरिजाबागलाको स्थानमा वेल्फेर्डो काबालेरोलाई स्थान दिए पनि चेल्सीले जितको स्वाद भने चाख्न सकेन। चेल्सीले यस सिजन खेलाडी अनुबन्धनमा २ सय ५४ मिलियन पाउन्ड खर्चंदै आफूलाई उपाधि दाबेदारका रूपमा उभ्याउने दाबी गरेको थियो। तर पछिल्ला खेलहरूको नतिजा हेर्दा चेल्सी धेरै पक्षमा अन्य टोलीभन्दा पछि रहेको संकेत गरेको छ।

‘म आजको खेलमा टोलीले गरेको प्रदर्शनको सबै पक्षको आलोचना गर्न चाहन्नँ। आज हामी रणनीतिक रूपमा पनि चुक्यौं। खेलमा स्पष्ट गल्ती देखिए,’ लाम्पार्डले भने, ‘आशा छ आगामी खेलमा टोलीले सुधार गर्नेछ।’  

प्रिमियर लिगअन्तर्गत शनिबार भएको अर्को खेलमा ड्यानी इग्सको निर्णायक गोलमा साउथह्याम्पटनले बर्नलीमाथि १–० को जित हात पारेको छ। लिगको तेस्रो खेलमा साउथह्याम्पटनको यो पहिलो जित हो।

प्रकाशित: १२ आश्विन २०७७ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App