६ वैशाख २०८१ बिहीबार
खेल

‘कोभिड रहे पनि ओलम्पिक हुन्छ’

(एएफपी)– टुर डे फ्रान्सले हात पारिरहेको सफलता औंल्याउँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का प्रमुख थोमस बाचले बिहीबार विश्वमा महामारीको रूपमा फैलिएको कोभिड १९ विरुद्धको भ्याक्सिन तयार नभए पनि अर्को वर्ष टोकियो ओलम्पिक आयोजना हुने दाबी गरेका छन्।

डिसेम्बरबाट चीनको उहानबाट सुरु भएको कोभिड १९ महामारीका कारण २०२० का लागि तय भएको टोकियो ओलम्पिक एक वर्षपछि धकेलिएको थियो। तर अहिले पनि कोभिडको जोखिम हटेको छैन,त्यसैले एक वर्षपछि धकेलिएको टोकियो ओलम्पिकका बारेमा अझै दुबिधा कायम रहँदा बाचको यस्तो भनाइ बाहिरिएको हो। उनले टोकियो ओलम्पिकको आयोजक कमिटीसँगको छलफलका क्रममा यस्तो बताएका हुन्।

‘खेलकुद गतिविधि क्रमिक रूपमा सुचारु भइरहेका छन्। यसैबीच केही ठूला प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न भइसकेका छन्। जापानमा समेत विभिन्न लिग सञ्चालन भइरहेका छन्,’ बाचले भर्चुअल मिटिङमा टोकियो आयोजक कमिटीलाई सम्बोधन गर्दै भने, ‘धेरै कठिन मानिएका टुर डे फ्रान्ससहित अन्य केही प्रतियोगिता जारी छन् र यी प्रतियोगिताको सफल आयोजनाले कोभिड १९ विरुद्धको भ्याक्सिन नबने पनि स्वास्थ्य मापदण्ड पालना गर्दै प्रतियोगिता आयोजना गर्न सकिन्छ भन्ने प्रमाणित गरिसकेका छन्।’

तर अहिले विभिन्न राष्ट्र कोभिड १९ विरुद्धको भ्याक्सिन बनाउन र त्यसको पशिक्षणमा तीव्रताका साथ जुटेका छन्। हालसम्म विश्वभर कोभिड १९ महामारीका कारण ९ लाख ७० हजार जनाको ज्यान गइसकेको छ भने ३ करोड २० लाख कोभिड १९ संक्रमित भएका छन्।

आइओसीले २०२१ जुलाई २३ का लागि टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको थियो।

बाचले पहिलेको जस्तो टोकियो ओम्पिक आयोजना गर्न अहिले आफूहरूमा दबाब नरहेको र यो अब निर्धारित मितिमै आयोजना हुनेमा निश्चिन्त रहन आग्रह गरे।

‘हामी अहिलेबाटै तयारीमा जुटिसकेका छौं , उचित समयमा उचित निर्णय लिइनेछ,’ उनले भने, ‘हामी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्छौं भन्नेमा विश्वस्त छौं। यस पटकको ओलम्पिक विगतका संस्करणभन्दा भिन्न हुनेछ र यसले इतिहास रच्नेछ। यसका लागि सबै पक्षको साथ आवश्यक छ।’

प्रकाशित: ९ आश्विन २०७७ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App