coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हारपछि धोनीको आलोचना

राजस्थान रोयल्सलाई नतिजा सुम्पिएको खेलमा निकै सुस्त गतिमा खेलेको भन्दै चेन्नई सुपर किङ्सका कप्तान महेन्द्रसिंह धोनीको आलोचना भएको छ। संयुक्त अरब इमिरेट्सको शारजहाँमा मंगलबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थानले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान धोनीले आफूभन्दा अघि ब्याटिङका लागि इङ्ल्यान्डका अलराउन्डर साम करन र आइपिएलमा डेब्यु गरिरहेको रुतुराज गायकवार्डलाई पठाएका थिए। 

१४औं ओभरका लागि ब्याटिङमा आएका विकेटकिपर ब्याट्सम्यान धोनीले आफ्नो सुरुआती १३ बलमा मात्र १० रन प्रहार गरेका थिए। जबकि अर्का ब्याट्सम्यान फाप डु प्लेसिस ७२ रनमा खेलिरहेका थिए। भारतका पूर्वकप्तान धोनीले गत महिना मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए। यद्यपि धोनीले अन्तिम ओभरमा भने लगातार ३ छक्का प्रहार गरेका थिए, जहाँ चेन्नईले राजस्थानलाई १६ रनको नतिजा सुम्पिएको थियो।

‘यसलाई कप्तानी इनिङ भन्न सुहाउँदैन किनभने तपार्इं २ सय १७ रनको विशाल लक्ष्य पछ्याउँदै हुनुहुन्छ र कप्तान सातांै नम्बरमा मात्र ब्याटिङका लागि आउँछन्। खेल त्यहींबाट सकिएको थियो। फाप डु प्लेलिस आज चेन्नईका लागि एक्लो योद्धा रहे,’ भारतका पूर्वओपनर गौतम गम्भीरले भने, ‘अन्तिम ओभरमा उनले लगातार ३ छक्का प्रहार गरे, तर ती रन टोलीको जितका लागि पर्याप्त भएन। त्यसैले ती रन टोलीको जितका लागि भन्दा पनि उनको व्यक्तिगत रन रह्यो।’ चेन्नईले शनिबार उद्घाटन खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै आइपिएलमा सुखद सुरुआत गरेको थियो। करनले ६ बलमा १८ रन प्रहार गरे।

धोनीलाई विश्वकै उत्कृष्ट फिनिसरका रूपमा लिइन्छ। धोनीले लामो समय मैदानबाहिर रहेकाले आफूले साताैं नम्बरमा ब्याटिङ गरेको बताएका छन्।

‘मैले लामो समयदेखि ब्याटिङ गरेको थिइनँ। युएई आएपछि १४ दिन क्वारेन्टिनमा बस्नुप-यो। त्यस कारण मेरो तयारी पनि पुगेन,’ अविजित २९ रन प्रहार गरेका धोनीले खेलपछि भने, ‘नयाँ प्रयोग पनि गर्न खोजिएको हो। सामका लागि अवसर पनि भयो। नयाँ प्रयोग गरे पनि सोचेअनुरूपको नतिजा आएन।आशा छ अर्र्काे खेलमा सुखद नतिजा आउनेछ।’ ‘एमएस उत्कृष्ट फिनिसर हुन् र सधैं रहँदै आएका छन्,’ चेन्नईका प्रशिक्षक स्टेफन फ्लेमिङले भने।

‘धोनीले आगामी खेलका लागि खेलअघि अभ्यास गर्नुपर्छ खेलदौरान होइन,’ चेन्नईका एक आक्रोशित समर्थकले ट्विट गरेका छन्। गत वर्ष एकदिवसीय खेलमा पनि सुस्त खेलेको भन्दै ३९ वर्षे धोनीको ब्याटिङको आलोचना भएको थियो।

प्रकाशित: ८ आश्विन २०७७ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App