१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘बेलले सम्मान पाएनन्’

स्पेनिस ला लिगा च्याम्पियन रियाल मड्रिडका समर्थकले गारेथ बेलप्रति गरेको व्यवहार अपमानजक भएको उनका एजेन्टले आरोप लगाएका छन्।

३१ वर्षे बेल हालै रियालबाट मात्र एक सिजन लोनमा आफ्नो पूर्वक्लब टोटेनह्याम फर्किएका थिए। उनी सन् २०१३ मा विश्वकै महंगो खेलाडीका रूपमा टोटेनह्यामबाट रियालमा अनुबन्धित भएका थिए।  

सन् २०२२ सम्म रियालमा सम्झौता बाँकी रहेका बेलले क्लबमा ७ वर्षको बसाइमा ४ पटक च्याम्पियन्स लिग र २ पटक ला लिगाको उपाधि जितेका थिए। यस क्रममा उनले ला लिगामा १ सय १७ खेलमा ८० गोल गरेका थिए।  

तर प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्धमा आएको चिसोपनाले भने बेलले कमै मात्र अवसर पाउँदै आएका थिए। साथै समर्थकले पनि उनको चर्को आलोचना गरेका थिए।

बेलका एजेन्ट जोनाथन बार्नेटले रियालमा बेलले पाउनुपर्ने सम्मान नपाएको आरोप लगाए।

‘क्लबका लागि बेलले धेरै योगदान दिए पनि क्लब समर्थकबाट उनले पाउनुपर्ने माया भने पाएनन्,’ बार्र्नेटले भने, ‘यो गलत हो। सात वर्षको क्लब बसाइमा बेलले टोलीका लागि महŒवपूर्ण योगदान गरे पनि सधैं अपमानित भइरहे। कसको उक्साहटमा यो भयो मलाई थाहा छ तर म यो मुद्दालाई धेरै लम्ब्याउन चाहन्नँ।’  

बार्नेटले बेल एक सिजनका लागि लोनमा टोटेनह्याम फर्किए पनि उनी थप केही सिजन टोटेनह्याममै बस्ने विश्वास व्यक्त गरे।  

‘आशा छ, बेल पुनः रियाल फर्किने छैनन्,’ उनले भने, ‘बेलले टोटेनह्याममै सफलता चुम्नेछन्।’

प्रकाशित: ७ आश्विन २०७७ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App