५ वैशाख २०८१ बुधबार
खेल

बहसमा समान तलब

अमेरिकी महिला विश्वकप विजेता टोलीकी सदस्य मेघन रापिनाले गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व विजेता टोलीको सम्मानमा ह्वाइट हाउसमा आयोजना गरेको विशेष कार्यक्रममा नजाने उद्घोषण गरिन्। उनको माग थियो पुरुष फुटबल टोलीका खेलाडीले पाउने तलब तथा सेवासुविधा महिला खेलाडीले पनि समान रूपमा पाउनुपर्छ।

विश्वभर नै महिला र फुटबल लिगमा दिइने पुरस्कारमा ठूलो अन्तर हुने गर्दछ। खेलाडीहरूमा पनि बार्सिलोनाका लियोनल मेसी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले खाने तलब एक महिला खेलाडीले पाउनेभन्दा सय गुणा बढी हुने गर्दछ। विश्वविजेता समेत रहेको अमेरिकी महिला फुटबल टोलीले गत वर्ष मार्चमा आफ्नो फेडेरेसनले असमान सेवासुविधा दिएको भन्दै मुद्दा दायरसमेत गरेको थियो। यस मुद्दालाई यसै वर्ष मेमा एक न्यायाधीशले खारेज गरिदिएका थिए। तर, अमेरिकी महिला फुटबल टोलीले पुनः अपिल ग¥यो ।   ब्राजिल फुटबल फेडेरेसनले महिला टोली र उसका प्रशिक्षक पिया सन्धेजसँग छलफल गरेपछि सेम्टेम्बर ३ मा महिला खेलाडीले पनि पुरुष खेलाडीसरह तलब सुविधा पाउने घोषणा ग¥यो। आगामी वर्ष टोकियोमा हुने ओलम्पिक र महिला विश्वकप फुटबलमा ब्राजिलका महिला फुटबल खेलाडीले पुरुषसरह सुविधा पाउनेछन्।

यसअघि इङ्ल्यान्ड अस्ट्रेलिया, नर्वे र न्युजिल्यान्डले महिलालाई पुरुष फुटबलरसरह सेवासुविधा दिने निर्णय गरिसकेका छन्। यससँगै विश्व फुटबलमा पुरुष तथा महिला खेलाडीले समान तलब सुविधा पाउनुपर्ने बहस पुनः सुरु भएको थियो।  

एन्फाको समान तलब सुविधा दिने गृहकार्य स्वागतयोग्य भएको बताउँदै राष्ट्रिय महिला टोली तथा एपिएफकी स्ट्राइकर सावित्रा भण्डारीले यसले ठोस रूप लिएको हेर्न चाहेको बताइन्।

नेपाली फुटबलमा पनि पुरुष खेलाडीको तुलनामा महिला खेलाडीले पाउने तलबमा धेरै भिन्नता छ। नेपालमा पुरुष फुटबल प्रतियोगिताको तुलनामा महिला फुटबल प्रतियोगिता समेत कम हुने गरेको छ। पुरुष फुटबल टोलीले ए, बी र सी डिभिजन लिगदेखि जिल्लामा आयोजना हुने विभिन्न गोल्डकपमा सहभागिता जनाउँदा महिला फुटबल एन्फाले वर्षमा एक पटक आयोजना गर्ने प्रदेश र विभागीय टोली सम्मिलित लिग र विभागीय टोलीले आयोजना गर्ने एक–दुईवटा नकआउट प्रतियोगितामा सीमित छ।  

राष्ट्रिय टोलीमा समेत कम तलब सुविधा पाउने गरेका महिला खेलाडीले व्यावसायिक रूपमा समेत सन्तोषजनक आम्दानी गर्न पाएका छैनन्। विश्वका विभिन्न राष्ट्रमा पुरुष तथा महिला फुटबल टोलीका खेलाडीले समान तलब सुविधा पाउने निर्णय भएलगत्तै नेपाली फुटबलमा पनि समान तलब सुविधाको बहस सुरु भएको छ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष तथा महिला खेलाडीलाई समान तलब सुविधा दिनेबारे गृहकार्य भइरहेको जनाएको छ। अहिले पुरुष फुटबल टोलीका खेलाडीले मासिक १५ हजार र महिला फुटबल टोलीका खेलाडीले मासिक ७ हजार तलब पाउँदै आएका छन्।  

‘हामी अहिले पुरुष र महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई समान तलब सुविधा दिनेबारे अन्तिम गृहकार्यमा जुटेका छौं,’ एन्फा प्रवक्ता किरण राईले भने, ‘यसबारे आगामी सचिवालय बैठकमा छलफल हुनेछ। यो प्रस्तावमा सबै सदस्य सकारात्मक हुनुहुन्छ। सचिवालयको निर्णयपछि यो प्रस्ताव यही आर्थिक वर्षबाट लागू हुनेछ।’

एन्फाले समान तलब सुविधा दिने गृहकार्य स्वागतयोग्य भएको बताउँदै राष्ट्रिय महिला टोली तथा एपिएफकी स्ट्राइकर सावित्रा भण्डारीले यसले ठोस रूप लिएको हेर्न चाहेको बताइन्।

‘विश्वभर नै पुरुष र महिला फुटबल खेलाडीले समान तलब सुविधा पाउनुपर्ने भन्दै बहस सुरु भएको छ,’ विश्व फुटबलका केही राष्ट्रले समान सुविधा दिने घोषणा गरिसकेका छन्,’ भण्डारीले भनिन्, ‘नेपालमा पनि यो बहस सुरु भएको छ। यसले हामी महिला खेलाडीमा आशा जगाएको छ। आशा छ, छिट्टै यो निर्णय कार्यान्वयनमा जानेछ। ’

‘पुरुष होस् वा महिला फुटबल टोली, दुवैले राष्ट्रका लागि नै खेल्ने हो। पुरुष वा महिला जुनसुकै टोलीले सफलता हात पार्दा राष्ट्रको शिर उचो हुन्छ,’ भण्डारीले भनिन्, ‘अनि भिन्नताचाहिँ किन? मिहिनेत त दुवै टोलीले समान गरेका हुन्छन्। त्यसैले तलब सुविधा समान भएमा हामीलाई अझ धेरै सफलता हात पार्न हौसता बढ्नेछ। यहाँ  राष्ट्रिय खेलाडीले पाउने तलब सुविधा पुरुषको तुलनामा आधा छ। विभागीय टोलीका खेलाडीले त विभागबाट तलब पाउँछन्। उनीहरूको जीविकोपार्जन होला। जिल्ला तथा प्रदेशबाट आउने महिला खेलाडीले यो सुविधा पाउँदैनन्। यसले भएका खेलाडीको पनि मनोबल घटाउँछ भने नयाँ खेलाडी विरलै आउँछन्। त्यसैले महिला खेलाडीको सहज जीविकोपार्जन र मनोबल बढाउनका लागि एन्फाको यो गृहकार्य स्वागतयोग्य छ।’

प्रकाशित: ४ आश्विन २०७७ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App