७ वैशाख २०८१ शुक्रबार
खेल

आइपिएलको उद्घाटन सामान्य

(एएफपी)– निर्धारित मितिबाट धेरै पछि सञ्चालन हुन लागेको इन्डियन प्रिमियर लिग (आइपिएल) शनिबारदेखि सामान्य तवरबाट सुरु हुँदै छ। प्राय जसो मार्चमा हुने आइपिएल कोरोना भाइरसको महामारी पैmलिएपछि सञ्चालन हुन सकेन।

लामो समयसम्म हुन नसकेको यस सिजनको आइपिएल भारतबाट सारेर संयुक्त अरब इमिरेट्स (युएई)मा हुँदै छ। सहभागी आठ फ्रेन्चाइज टोली स्वास्थ्य सुरक्षाको सबै प्रक्रिया पूरा गर्दै युएईसम्म पुगेका थिए। डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनले चेन्नई सुपर किङ्ससँग शनिबार अबुधाबीमा चुनौती प्रस्तुत गर्दा यस सिजनको आइपिएल सुरु हुनेछ। विश्व क्रिकेटकै ठूलो लिग गाला ओपनिङ हुनेछैन र सामान्य तवरबाट उद्घाटन हुने बताइएको छ। दुबई र सारजहाका तीन भेन्युमा बन्द रंगशालाबीच खेलहरू सञ्चालन हुनेछन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का अध्यक्ष सौरभ गांगुलीले १३औं संस्करणको यस सिजनमा टिभीका दर्शक अत्यधिक हुने अपेक्षा गरेका छन्।

‘ब्रोडकास्टरले पनि यस पटक आइपिएलमा अत्यधिक भ्युअर रेट बढ्ने अपेक्षा गरेका छन्, दर्शक मैदानमा जान पाउँदैनन् भने पक्कै पनि टिभीमा दर्शक बढ्नेछन्,’ गांगुलीले भने, ‘त्यसलाई पनि सकारात्मक रूपमा लिनुपर्छ।’ ५३ दिनको प्रतियोेगिता नोभेम्बर १० मा सकिँदै छ,’ गांगुलीले  यसबीच दर्शक मैदानमा फर्किने सम्भावना पनि रहेको विश्वास व्यक्त गरेका छन्। ‘कोभिड र संक्रमणको भयले पनि दर्शक उपस्थित गराउन नसकिएको हो। तर निकट भविष्यमा ३० प्रतिशत दर्शक सामाजिक दूरी कायम गरेर राख्न पनि सकिन्छ,’ भारतीय क्रिकेटका पूर्वकप्तानसमेत रहेका गांगुलीले भने, ‘सबै दर्शकको टेस्ट गरेर मात्र मैदानमा राखिने योजना पनि छ। तर यसका लागि समय लाग्छ।’

यस पटक आइपिएलको मैदानमा सहभागिता निकै न्यून रहँदा चियरलिडर्स पनि हुने छैनन्। खेलाडीहरू पनि आआफ्ना होटलबाट बिसिसिआईको स्वास्थ्य सुरक्षा प्रोटोकल (मापदण्ड) अपनाएर मैदानसम्म पुग्नेछन्।

राजस्थान रोयल्सका ब्याट्सम्यान रोबिन उथप्पाले पनि लामो समयदेखि खेलकुदका प्रतियोगिता सर्नु र स्थगित भइरहेको अवस्थामा आइपिएल फर्कनुले क्रिकेटप्रेमीलाई निकै खुसी बनाउने बताएका छन्। ‘यस पटक सिजन विशेष नै हुनेछ। मानवहरू सुरक्षित रहन यस समय निकै संघर्ष पनि गरिरहेका छन्,’ उथप्पाले भने, ‘यो समय पूर्वानुमान गर्न सक्ने अवस्था होइन। हामी सबै चाहन्छौं राम्रो तवरबाट प्रतियोगिता सञ्चालन होस्। मानिसहरू पुरानै अवस्थामा फर्किने वश्वास छ।’ यस पटक आइपिएलको मैदानमा सहभागिता निकै न्यून रहँदा चियरलिडर्स पनि हुने छैनन्। खेलाडीहरू पनि आआफ्ना होटलबाट बिसिसिआईको स्वास्थ्य सुरक्षा प्रोटोकल (मापदण्ड) अपनाएर मैदानसम्म पुग्नेछन्।

यस सिजन सञ्चालन गर्न खेलाडी र अफिसियल गरेर २० हजारभन्दा बढीको कोरोना परीक्षण गरेर मात्र सहभागी प्रक्रिया अगाडि बढाइएको थियो। प्रतियोगिता सुरु हुनुभन्दा धेरै अगाडि नै चेन्नईका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि हुँदा सुरेश रैना पनि व्यक्तिगत कारण देखाउँदै यस सिजनबाट बाहिर छन्। सन् २००८ देखि सुरु भएको आइपिएलले विश्वभर लोकप्रियता बढाए पनि भ्रष्टाचार र म्याच फिक्सिङका घटनाहरू पनि बाहिर आउने गरेका छन्। सन् २०१३ मा चेन्नई र राजस्थान रोयल्स म्याच फिक्सिङमा मुछिएपछि दुई सिजनको प्रतिबन्धसमेत लागेको थियो।  

यस सिजन विदेशी कोटाबाट अस्ट्रेलियाका प्याट कमिन्सलाई सर्वाधिक महँगो मूल्य २.१७ मिलियन डलरमा कोलकाता नाइट राइडर्सले आफ्नो बनाएको छ। आइपिएलका सफल कप्तान महेन्द्रसिंह धोनी चेन्नईलाई अर्को उपाधि दिलाउने दाउमा हुनेछन् भने स्टार ब्याट्सम्यान विराट कोहली रोयल्स च्यालेन्जर्स बैङ्लोरलाई पहिलो उपाधि दिलाउने लक्ष्यमा छन्। गत महिना मात्र अन्तर्राष्ट्रिय करियरबाट संन्यास लिएका धोनीलाई प्रतियोगिताको ठूलो आकर्षणका रूपमा हेरिएको छ।

प्रकाशित: २ आश्विन २०७७ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App