८ वैशाख २०८१ शनिबार
खेल

पारा ओलम्पिक: पदकका लागि तत्काल प्रशिक्षण आवश्यक

कोरोना भाइरस महामारीबाट थलिएको नेपाली खेलकुद जेठ अन्तिम साताबाट केही चलायमान हुने संकेत गरेको थियो । ब्याडमिन्टन र करातेलगायत केही संघले स्वास्थ्य मापदण्ड पालना गर्दै अभ्यास पनि सुरु गरेका थिए । घरेलु मैदानमा हुने विश्वकप छनोट चरणका लागि अन्तिम तयारीमा जुटेको थियो। उपत्यकामा कोराना संक्रमितको संख्या वृद्धि भएसँगै यी सबै गतिविधि अहिले शून्य छन्।  

यता कोरोना कहरकै कारण टोकियो ओलम्पिक २०२० एक वर्षका लागि सरेको थियो भने पारा ओलम्पिक पनि एक वर्ष पछि धकेलिएको थियो। अन्य खेलका खेलाडीले घरमै अभ्यास गरे पनि पारा तेक्वान्दो खेलाडीका लागि घरमै हुने अभ्यास त्यति सहज थिएन।  

लकडाउनअघि पारा तेक्वान्दो खेलाडी पलिस्था गोवर्धन, रञ्जना धामी, सिर्जना घिसिङ र लोकराज शाही लेबनानको बेरुतमा हुने एसियाली च्याम्पियनसिप र चीनमा आयोजना हुने पारा ओलम्पिक छनोटमा सहभागी हुने तयारीमा थिए। उनीहरू सातदोबाटोस्थित तेक्वान्दो संघको भवनमा नियमित अभ्यासका लागि जान्थे। तर लकडाउनपछि शून्य बनेको खेलकुद गतिविधिका कारण उनीहरूको तयारी पनि प्रभावित बनेको छ।  

‘लकडाउनअघि नियमित अभ्यास थियो र मनोबल पनि उच्च थियो,’ के–४४ विधाअन्तर्गत  ५८ केजीमाथि तौलसमूहमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने तयारीमा जुटेकी पलिस्थाले भनिन्, ‘जोरबिजोर प्रणालीमा यातायात सञ्चालनमा आएपछि भने अभ्यासका लागि कोटेश्वर डोजाङ जान थालेकी छु। अहिले  दिउँसो ३ देखि साँझ ५ बजेसम्म  त्यहाँ नवीन गुरु र सक्षम गुरुले प्रशिक्षण गराउनुहुन्छ। लकडाउनका कारण तयारी प्रभावित बनेको थियो। मलाई स्टामिना घट्ने र लय गुमाउँछु कि भन्ने निकै डर लागेको थियो। तर मैले घरमै सामान्य अभ्यासलाई निरन्तरता दिएँ। यसबीच अनलाइनमार्फत पनि कक्षा सञ्चालन भए। हामीलाई गुरु र सिनियर दाइदिदीहरूले अनलाइनमार्फत पनि कहिलेकाहीं प्रशिक्षण गराउनुहुन्थ्यो। यसले पनि मनोबल बढायो। अब अभ्यासमा फर्किएका छौं। आशा छ,  स्वाभाविक लय कायमै रहनेछ र एसियन च्याम्पियनसिप र पारा ओलम्पिक छनोटमा उत्कृष्ट प्रदर्शनका साथ आफ्नो मिहिनेत प्रमाणित गर्नेछु।’

पारा खेलाडीहरू सातदोबाटोस्थित तेक्वान्दो संघको भवनमा नियमित अभ्यासका लागि जान्थे। तर लकडाउनपछि शून्य बनेको खेलकुद गतिविधिका कारण उनीहरूको तयारी पनि प्रभावित बनेको छ।

त्यस्तै के–४४ विधाअन्तर्गत ४९ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेकी रञ्जना पनि अहिले घरमै अभ्यास गरिरहेकी छिन्। अन्य खेलाडी अभ्यासका लागि कोटेश्वर डोजाङमा जान थाले पनि यातायात समस्याका कारण रञ्जनाले भने अहिले घरमै सामान्य अभ्यास गरिरहेकी छिन्।  

‘कविराज नेगी गुरुले सातदोबाटो तेक्वान्दो हलमा नियमित अभ्यास गराइरहनुभएको थियो। यसबीच कोरोना महामारीका कारण हाम्रो प्रशिक्षण चैतदेखि रोकिएको छ,’ रञ्जनाले भनिन्, ‘घरमै सामान्य अभ्यास गरे पनि स्वाभाविक लयमा फर्कन धेरै समय लाग्नेछ। तर पनि एसियन च्याम्पियनसिप र पारा ओलम्पिक छनोटका लागि कडा मिहिनेत गर्नेछु। हाम्रो मनोबल घटेको छैन।’

‘खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नै अहिलेसम्म अभ्यासमा लगाएको रोक खोलेको छैन,’ प्रशिक्षक नेगीले भने, ‘लकडाउनअगाडि सातोबाटोमा हुने प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई तेक्वान्दो संघ र पारा तेक्वान्दो कमिटीलै दैनिक प्रशिक्षण भत्ता दिने गरेकोमा अहिले त्यो पनि रोकिएको छ। हामीले लेबनानमा हुने एसियन ओपन च्याम्पियनसिप र त्यसपछि चीनमा आयोजना हुने  पारा ओलम्पिक छनोट चरणको तयारी गरेका थियांै। अहिले ती सबै योजना रोकिएका छन्। हामीले पारा ओलम्पिकका लागि जापानमै क्लोज क्याम्प राख्ने पनि व्यवस्था मिलाइसकेका थियाैं।’

‘२०२१ मा हुने पारा ओलम्पिकका लागि तत्काल प्रशिक्षण सुरु गर्नुपर्छ। किनभने खेलाडीलाई स्पिड र स्टामिना चाहियो,’ नेगीले थपे, ‘सबैभन्दा महत्वपूर्ण पक्ष भनेको पारा खेलाडीलाई ब्यालेन्स चाहियो। त्यसका लागि खेलाडीले घरमै सामान्य अभ्यास गरिरहेका छन्। विश्व -याङकिङमा पलिस्था ९ र रञ्जना १३औं स्थानमा थिए। हामीले उनीहरूबाट धेरै ठूलो आशा राखेका छाैं। सिर्जना नयाँ खेलाडी भएकाले लेबनानमा उनको क्लासिफिकेसन गर्ने हाम्रो योजना थियो। लोकराजले पनि के ४४ विधाअन्तर्गत प्रतिस्पर्धा गर्नेछन्। उनीबाट पनि संघले ठूलो आशा राखेको छ। हामी अब स्वास्थ्य मापदण्ड पालना गर्दै छिट्टै प्रशिक्षण सुरु गर्ने योजनामा छौं। हामी पारा ओलम्पिकमा सहभागिता मात्र भन्दा पनि पदक ल्याउनेमा आशावादी छौं।’

प्रकाशित: १ आश्विन २०७७ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App