८ वैशाख २०८१ शनिबार
खेल

बेललाई फर्काउने प्रयासमा टोटेनह्याम

इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्याम हट्सपरले स्ट्राइकर ग्यारेथ बेललाई रियाल मड्रिडबाट फर्काउने प्रयास गरेको छ।  

वेल्सका स्ट्राइकर बेलका एजेन्ट जोनाथन बर्नेटले बुधबार बेल टोटेनह्यामसँग सहमतिनजिक पुगेको बताएसँगै उनी पूर्वक्लब फर्किने चर्चा चुलिएको हो। रियालका प्रशिक्षक जिनेदिन जिदानले बेललाई लगातार बाहिर राखिरहेका छन्। बेलका एजेन्टले पनि यसै महिनादेखि उनी प्रिमियर लिग फर्किने प्रक्रिया खुला भएको खुलासा गरेका छन्। यद्यपि, म्यानचेस्टर युनाइटडले पनि बेललाई किन्ने प्रयास थालेको छ। बेलसँगै बोरुसिया डर्टमन्डका जाडोन सान्चोलाई टिममा समावेश गर्दै युनाइटेड आफ्नो टोलीलाई थप बलियो बनाउने लक्ष्यमा छ।

टोटेनह्याम बेलसँग सम्झौतानजिक पुगेको बताइएको छ। बेल सन् २०१३ मा विश्व कीर्तिमानी रकम ८५ मिलियन पाउन्डमा टोटेनह्यामबाट रियाल पुगेका थिए। ‘उनी टोटेनह्यामसँग आबद्ध हुने प्रक्रियानजिक पुगेका छन्। तर प्रक्रिया पूरा भएको भने छैन,’ बर्नेटले भने,‘साथै सम्झौता निकै कठिनपूर्ण पनि छ। सुरुआतमा बेलले दुई वर्षका लागि वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरी रियालसँग सम्झौता गरेका थिए। रियालले स्थायी रूपमा टोटेनह्याम पठाउने लक्ष्य राखेको छ, तर प्रिमियर लिग क्लबले उनको पारिश्रमिक र बोनसलगायतबाट कठिन हुने  देखिरहेको छ।  

टोटेनह्याम बेलसँग सम्झौतानजिक पुगेको बताइएको छ। बेल सन् २०१३ मा विश्व कीर्तिमानी रकम ८५ मिलियन पाउन्डमा टोटेनह्यामबाट रियाल पुगेका थिए।

त्यसैले टोटेनह्यामले ३१ वर्षे बेललाई लोनमा क्लबमा आबद्ध गराउने प्रयास पनि थालेको छ, जसमा रियालले उनको तलबमा केही प्रतिशत बेहोर्ने सहमति पनि बन्न सक्नेछ। ‘केही समस्या छैन। दुवै क्लबले छलफल जारी राखेका छन्,’ बर्नेटले भनेका छन्। बेलले रियाललाई चार पटक च्याम्पियन्स लिग उपाधि दिलाउन मद्दत गरेका छन् भने स्पेनमा रहँदा दुई ला लिगाको सफलता पनि आफ्नो नाममा राखेका छन्। तर, पछिल्ला वर्ष जिदानसँग खराब सम्बन्धका कारणले उनले कमै अवसर पाउने गरेका छन्।

कोरोना भाइरसको महामारीपश्चात् गत सिजन फर्किंदा बेलले एक खेलमा मात्र अवसर पाएका थिए। गत वर्ष पनि बेल चाइनिज सुपर लिग क्लबसँग आबद्धतानजिक पुगेका थिए, तर रियालले नै त्यो प्रक्रिया रोकिदिएको बेलले आरोप लगाएका थिए। साउथह्याम्पटनबाट युवाअवस्थामै टोटेनह्याम पुगेपछि धेरै सफलता पाएका कारण पनि बेल र टोटेनह्यामबीच राम्रो भावनात्मक सम्बन्ध छ। टोटेनह्यमममा चार वर्ष बिताएका प्रशिक्षक ह्यारी रेडनापले पनि बेललाई फर्काउन सके उनले केही जादु देखाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १ आश्विन २०७७ ००:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App