६ वैशाख २०८१ बिहीबार
खेल

चेल्सीको लगानीअनुसार प्रदर्शन

ब्राइटनमाथि सोमबार ३–१ को जितका साथ इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेसँगै चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले आफूहरूले नयाँ सिजनका लागि खर्चेको २ सय ५७ मिलियन डलरको लगानीले फलदायी हुने संकेत गरेका छन् ।  

चेल्सी प्रशिक्षक लाम्पार्डले आफूहरूले खेलाडी भित्र्याउन गरेको खर्चको अन्य क्लबका केही प्रशिक्षकले विरोध गरे पनि त्यसले कुनै अर्थ नराख्ने बताए । टोलीले लगानीअनुसारको प्रदर्शन गरेको लाम्पार्डको भनाइ छ । बुन्डेसलिगा क्लब आरबी लिपजिकबाट ५३ मिलियन पाउन्डमा स्टाम्फोर्ड ब्रिज भित्रिएका टिमो वर्नरले चेल्सीका लागि पेनाल्टी जितेका थिए । जुन पेनाल्टीलाई जर्जिन्होले सदुपयोग गर्दै चेल्सीलाई खेलमा अघि बढाएका थिए । बायर लेभरकुसनबाट ७० मिलियन पाउन्डमा भित्रिएका काई हाभर्ट्जले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । तर लाम्पार्डले भने यी युवा जर्मन स्ट्राइकर उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छन् । ‘जुन प्रकारले टिमोले पेनाल्टी जिते, त्यसले पनि उनको टोलीमा महत्व दर्साउँछ । मलाई उनको प्रदर्शन मन प-यो,’ लाम्पार्डले भने, काईले भने राम्रो खेले । पहिलो खेलमा उनीहरूले गरेको प्रदर्शनपछि म यो भन्न सक्छु कि दुवै खेलाडी क्लबका लागि सफलताको पर्याय बन्नेछन् ।  

ब्राइटनका लियन्द्रो ट्रोसार्डले बराबरी गोल फर्काउँदा चेल्सीका गोलकिपर किपा अरिजाबालगाले पुनः एक पटक गल्ती दोहो-याए । तर रिसे जेम्स र क्रुट जौमको बल गोलमा परिणत भएपछि लाम्पार्डको टोलीले स्पष्ट ३ अंक पक्का गरेको थियो ।

‘सिजनको पहिलो खेलमै प्रशिक्षकले राखेका सबै अपेक्षा पूरा हुँदैनन् । यो कठिन छ । तर टोलीमा खेलप्रतिको लगाव भने देखियो,’ खेलाडी सरुवा बजारमा अन्य क्लबको तुलनामा उल्लेख्य खर्च गरेका लाम्पार्डले भने, ‘टोलीले अनुशासित भएर खेल्यो ।अन्तर्राष्ट्रिय विश्रामपछि हामीले एकै टोलीमा बसेर प्रशिक्षण गरेको मात्र ४ दिन भयो । यसअघि पनि टोलीका धेरै खेलाडी क्वारेन्टिनमा बसेका थिए भने केही खेलाडी भर्खरै मात्र टोलीमा अनुबन्धित भएका थिए ।

चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले आफूहरूले नयाँ सिजनका लागि खर्चेको २ सय ५७ मिलियन डलरको लगानीले फलदायी हुने संकेत गरेका छन् ।  

‘हामीले गत सिजन ब्राइटनको घरेलु मैदान दी अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा अंक गुमाएका थियाैं,’ लाम्पार्डले थपे, ‘म पहिलो दिनको नतिजाले धेरै उत्साही छैन तर मैले सोचेभन्दा टोलीले धेरै राम्रो प्रदर्शन भने ग-यो ।’ यसै सिजन आयाक्सबाट भित्रिएका हाकिम जेइच र लेस्टर सिटीबाट भित्रिएका बेन चिलवेल भने चोटका कारण टोलीबाहिर थिए । अभ्यासमा सहभागी भए पनि थियागो सिल्भा पनि टोलीमा स्थान बनाउन सकेनन् ।  

२३औं मिनेटमा जर्जिन्होले पेनाल्टीको सदुपयोग गर्दै चेल्सीलाई खेलमा अगाडि बढाएका थिए । ५४औं मिनेटमा ट्रोसार्डले चेल्सीका गोलकिपर अरिजाबालगाको गल्तीको फाइदा उठाउँदै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । तर त्यसको २ मिनेटपछि नै जेम्सले चेल्सीलाई पुनः खेलमा अघि बढाएका थिए । ६६औं मिनेटमा जौमाले गोल गर्दै चेल्सीको सहज जित पक्का गरेका थिए ।

प्रकाशित: ३१ भाद्र २०७७ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App