coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्मिथले खेल्ने अझै अनिश्चित

अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याङ्गरले महत्वपूर्ण ब्याट्सम्यान स्टिभ स्मिथ टाउकोको चोटबाट रिकभर भए पनि उनी इङ्ल्यान्डसँगको निर्णायक एकदिवसीय खेलमा खेल्ने निश्चित नभएको बताएका छन् ।  

नेट प्रशिक्षणका क्रममा बलले टाउकोमा लागेपछि घाइते भएका स्मिथले पहिलो दुई खेलसमेत गुमाएका थिए । तर पछिल्ला दिनमा उनी फिट देखिएको र खेल्न सक्ने अवस्थामा रहेको आकलन गरिए पनि मंगलबार प्रशिक्षक ल्याङ्गरले स्मिथको सम्भावना अनिश्चित भएको प्रस्ट्याएका हुन् । घरेलु टोली इङ्ल्यान्ड र अस्ट्रेलियाबीच बुधबार ओल्ड ट्राफोर्डमा तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत निर्णायक खेल खेलिँदै छ । ‘उनी पनि सही लयमा फर्किरहेका छन् र हामीलाई विश्वास छ, उनी बुधबार खेल्नेछन्,’ ल्याङ्गरले भने । स्मिथले पनि आफ्नो गति सोमबारबाट केही बढाएको ल्याङ्गरको भनाइ छ । ‘उनले सोमबार रनिङ गरिरहेका छन् र त्यसमा पनि राम्रै गति थियो । प्रोटोकल अपनाउँदै उनले निकै मिहिनेत गरेका छन् । उनले आफूले गर्न सक्ने सबै काम गरिरहेका छन्,’ ल्याङ्गरले भनेका छन् । इङ्ल्यान्डले आइतबार दोस्रो एकदिवसीय खेलमा २४ रनको जित निकाल्दै तीन खेलको शृंखला बराबरी गरेको थियो । अस्ट्रेलियाले २ सय ३२ रनको मध्यम लक्ष्य पछ्याउँदा खराब ब्याटिङ सामना गरेपछि इङ्ल्यान्डले शृंखलामा फर्किने अवसर पाएको थियो ।

अस्ट्रेलियाका ओपनर डेविड वार्नर पनि खराब फर्मबाट गुज्रिरहेका छन् । दुवै एकदिवसीय खेलमा उनी समान ६ रन बनाएर आउट हुँदा अस्ट्रेलियाले खराब सुरुआत सामना गरेको थियो । त्यसअघि इङ्ल्यान्डसँगकै दोस्रो ट्वान्टी–२० खेलमा भने उनी खाता नखोल्दै पवेलियन फर्किएका थिए । गत चार खेलमा उनी इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरकै सिकार भएका छन् । आर्चरसँगको कुल १० भेटमा वार्नरले सात पटक उनलाई विकेट सुम्पिएका छन् । ‘यो निकै उत्कृष्ट प्रतिस्पर्धा हो,’ ल्याङ्गरले भने, ‘डेभी (डेविड) सुपरस्टार हुन् । उनी सधैँ टोलीका लागि अविश्वसनीय रूपमा महत्वपूर्ण हिस्सा हुन् । बुधबारको खेलका लागि उनले राम्रो प्रदर्शन गर्नेछन् ।’ 

प्रकाशित: ३१ भाद्र २०७७ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App