coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

थिमलाई पहिलो ग्रान्ड स्लाम

दुई सेटले पछि परेको स्थितिमा ऐतिहासिक पुनरागमन गर्दै अस्ट्रियाका डोमिनिक थिमले आइतबार युएस ओपनको उपाधि उचाल्दै करियरको पहिलो ग्रान्ड स्लाम जित्न सफल भएका छन्।

आर्थर एस स्टेडियममा भएको फाइनलमा जर्मनका एलेक्जान्डर भेरेभसँग पाँच सेटको संघर्षपूर्ण जित निकाल्दै थिमले करियरको पहिलो ग्रान्ड स्लाम उचालेका हुन्। पाँचौं वरीयताका भेरेभले विश्व नम्बर तीन थिमलाई पहिलो दुई सेटमा ६–२ र ६–४ ले हराएपछि उपाधिनजिक देखिएका थिए। तर, थिमले ६–४, ६–३ र ७–६ (८–६) ले  ऐतिहासिक पुनरागमन गर्दै एलेक्जान्डरको लक्ष्य पूरा हुन दिएनन्।  

युएस ओपनको फाइनल इतिहासमा पहिलो पटक दुई सेट गुमाएर पनि उपाधि जित्ने थिम पहिलो खेलाडी बने। थिमले चार घन्टा दुई मिनेटको संघर्षपश्चात् उपाधि सुरक्षि गराएका थिए। युएस ओपनको फाइनलमा पहिलो पटक टाई ब्रेकमार्पmत नतिजा आएको थियो। ‘आज दुई जना नै उपाधि विजेता भए हुने थियोजस्तो महसुस भयो। किनकी हामी दुवै जना उपाधिका हकदार नै थियौं,’थिमले प्रतिद्वन्द्वीको प्रदर्शनप्रति तारिफ गर्दै भने।  

यता, तीन पटक ग्रान्ड स्लामको फाइनलमा पुगेर पनि चुकेका थिमले यस पटक भने सफलता प्राप्त गरेका छन्। यसै वर्षको सुरुआतमा भएको अस्ट्रेलियन ओपनमा पनि उनी फाइनलमा पुगेर उपाधि विमुख भएका थिए। सन् २०१८ र २०१९ को फ्रेन्च ओपनको फाइनलमा पनि थिमले पराजय भोगेका थिए। सन् २०१४ मा मरिन सिलिचले युएस ओपनको उपाधि उचालेपछि उनी ग्रान्ड स्लामको नयाँ च्याम्पियन भए। ‘मैले जीवनमा लामो समयदेखि सोचेको एउटा लक्ष्य आज पूरा गरेको छु,’थिमले भनेका छन्।  

भेरेभले पहिलो सेटमा निकै प्रभावशाली प्रदर्शन गर्दा ३० मिनेटमै सेटमा अग्रता लिएका थिए। थिमले लगातार खराब सर्भिस गरेपछि भेरेभले त्यसको फाइदा लिए। दोस्रो सेटमा ५–१ अग्रता बनाउनुको बाबजुत भेरेभले तीन म्याच पोइन्ट गुमाए पनि अग्रता २–० ले अगाडि बढाएका थिए। यद्यपि, त्यसपछिका सेटमा लय निरन्तरता दिन नसकेपछि थिमले पुनरागमन गर्दै उपाधि खोस्न सफल भए। थिमले उपाधिसँगै तीन मिलियन डलरको चेक प्राप्त गरेका थिए। यता,उपाधि विमुख भएपछि मन्तव्य दिने क्रममा भेरेभका आँखा रसाएका थिए।  

‘आजको खेल निकै प्रतिस्पर्धात्मक थियो,’भेरेभले भने, ‘उनले पनि अझ केही गल्ती गरेको भए मैले उपाधि उचाल्ने सक्थेँ। यो नै मेरो अन्तिम अवसर होइन, एकदिन ग्रान्ड स्लाम च्याम्पियन बन्नेछु।’ कोरोना महामारीका कारण यस सिजन धेरै स्टार खेलाडीबिना नै ग्रान्ड स्लाम सम्पन भयो। यस सिजन स्विस लिजेन्ड रोजर्स फेडेरर र डिफेन्डिङ राफाइल नाडालको सहभागिता थिएन भने अन्तिम १६ को प्रतिस्पर्धाबाट विश्व नम्बर एक नोभाक जोकोभिच पनि डिसक्वालिफायड भएका थिए। 

प्रकाशित: ३० भाद्र २०७७ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App