६ वैशाख २०८१ बिहीबार
खेल

माउरिन्होको टोली निराश

डोमिनिक कल्भर्ट–लेविनको गोलप्रेरित एभर्टनले सन् २०१२ पछि पहिलो पटक टोटेनह्याममाथि १–० को  जित हात पारेसँगै प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्नो टोली इङ्लिस प्रिमियर लिगको शीर्ष ६ का लागि प्रतिस्पर्धा गर्न सक्षम भएको बताएका छन्।

एन्सेलोट्टीले नयाँ सिजनका लागि टोली पुनर्निर्माण गर्र्र्ने उद्देश्यका साथ ह्यामेस रोड्रिग्वेज, एब्दौले डाउकोर र एलानलाई टोलीमा भित्र्याएका थिए। गत सिजन १२औं स्थानमा बस्दै सिजनको अन्त्य गरेको एभर्टनले निकै सुधारिएको प्रदर्शन गर्दै युरोपेली प्रतियोगिता खेल्न सक्षम भएको स्पष्ट संकेत दिएको थियो।  

‘हामीले हामी प्रतिस्पर्धा गर्न सक्षम छौं भन्ने देखाएका छौं, जुन निकै महत्वपूर्ण सन्देश हो। हामीसँग प्रतिस्पर्धा गर्ने दृढ इच्छाशक्ति छ र यो मनोबल सिजनको अन्त्यसम्म कायम हुन आवश्यक छ,’ एन्सेलोट्टीले भने, ‘मैले खेलअघि पनि भनेको थिएँ,हामी युरोपियन प्रतियोगिताका लागि प्रतिस्पर्धा गर्दछांै भनेर। पहिलो खेल राम्रो भयो, हामीले दोस्रो खेल खेल्न बाँकी छ अनि तेस्रो खेल पनि, त्यसैले हामीले अब केही समय धैर्य गर्नुपर्छ तर टोलीको मनोबल बढेको छ। हामीले खेलमा केन्द्रित हुन आवश्यक छ।’

गत सिजनको मध्यबाट मात्र जोजे माउरिन्होले टोलीको प्रशिक्षण सम्हालेका थिए। माउरिन्होले  टोटेनह्याममा पूर्णकालका लागि प्रशिक्षण सम्हालेको यो पहिलो सिजन हो। यस सिजन शीर्ष ४ मा फर्कने लक्ष्य लिएको माउरिन्होको टोली पहिलो खेलमा निराश भएको हो।

‘मलाई मेरो टोलीको खेल मन परेन,’ माउरिन्होले भने, ‘एक गोलले पछि परेपछि हामीले स्वाभाविक प्रदर्शन गर्न सकेनौं। शारीरिक रूपमा पनि हामीले राम्रो खेल्न सकेनांै। खेलमा फर्कनुपर्छ र अंक बटुल्नुपर्छ भन्ने भाव खेलाडीमा देखिएन। हामी धेरै पक्षमा पछि प-यौं।’

माउरिन्होले आफ्ना केही खेलाडीमा कोरोना पुष्टि भएकाले प्रि–सिजन प्रभावित बनेको बताए पनि खेलाडीको नाम भने खुलाउन चाहेनन्।  

तीन जना नयाँ मिडफिल्डर मैदान उतारेको एभर्टन खेलमा निकै हाबी बने पनि खेलकै उत्कृष्ट अवसरमध्येको एक काउन्टर अट्याकमा भने एन्सेलोट्टीको टोली चुकेको थियो।

एभर्टनका गोलकिपर जोर्डन पिंकफोर्डले पहिलो हाफमा डिले अली र माट डाहर्टीको प्रहार विफल पार्र्र्दै टोलीको संकट टारेका थिए। ५५औं मिनेटमा लुकास डिग्नेको फ्रिकिकमा डोमिनिकले हेडमार्फत जाली चुमाउँदा एभर्टनले अग्रता लिएको थियो।

गत सिजन जुलाईमा एभर्टन टोटेनह्यामको घरेलु मैदानमा १–० ले निराश भएको थियो। पछिल्लो १६ भेटमा एभर्टनले टोटेनह्याममाथि जित हात पारेको यो नै पहिलो खेल हो।  

प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको अर्को खेलमा जेमी भार्डेको दुई पेनाल्टी गोलप्रेरित लेस्टर सिटीले वेस्ट ब्रोममाथि ३–० को सहज जित हात पा-यो। लेस्टरका लागि टिमोथे कास्टाग्नेले थप एक गोल गरेका थिए।

प्रकाशित: ३० भाद्र २०७७ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App