coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

क्रिकेटर ललित खतरामुक्त

सडक दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँहाते तीव्र गतिका बलर ललितसिंह भण्डारीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। उनको स्वास्थ्य अवस्था खतरा बाहिर रहे पनि थप उपचारका लागि सोमबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो।  

आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। अचेत अवस्थामा भण्डारीलाई धनगढीको निसर्ग अस्पताल हुँदै आइतबार राति नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। ललितका फुपाजु रामसिंह खत्रीका अनुसार उनी खतराबाहिर रहेको र होस खुलेको छ। दुर्घटनामा परी ललितको दायाँ हात, खुट्टा र छातीमा चोट लागेको थियो। यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले ललितको थप उपचार ग्राण्डी अस्पतालमा भइरहेको जनाएको छ।  

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्यानको फेसबुक पेजमार्फत विज्ञप्ति जारी गर्दै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ललितलाई सोमबार नै काठमाडौं लगेर ग्रान्डी अस्पतालबाट थप उपचार गरिरहेको बताएका छन्। क्यानले ललितको अवस्था सुधारोन्मुख रहेको समेत जनाएको छ। क्यानका अध्यक्ष चन्दले ललितको टाउकोमा कुनै चोट नरहेको अस्पातलबाट जानकारी आएको बताएका छन्। ‘हात, खुट्टा र पेटमा चोट छ। उनी अहिले खतरामुक्त रहेको अस्पतालबाट जानकारी पाएको छु। कलेजोमा पनि चोट देखिएपछि उनलाई काठमाडौं लगिएको हो,’ चन्दले भने।

नेपाली फ्रेन्चाइज लिग र घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका बायाँहाते तीव्र गतिका बलर ललित पछिल्लो समय चोटकै कारण राष्ट्रिय टोलीबाहिर थिए। ललित घरेलु क्रिकेट नेपाल पुलिसबाट खेल्ने गर्छन्। ललितले सन् २०१७ मा आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीयमा डेब्यु गर्दै दुई विकेट लिएका थिए। तर, चोटका कारण उनी टोलीमा नियमित स्थान बनाउन संघर्ष गर्दै आएका छन्।

प्रकाशित: ३० भाद्र २०७७ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App